ब्यवसायी ‘फेभरएबल’ नीति आबश्यक छ: आनका अध्यक्ष सन्तोष श्रेष्ठ

भर्खरै सम्पन्न भएको नेपाल विज्ञापन संघको पन्ध्रौं साधारणसभाबाट तपाई अध्यक्षमा निर्वाचित हुनु भएको छ, कस्तो महसुस भइरहेको छ ?                    नेपाल विज्ञापन संघको निर्वाचित अध्यक्ष बनेपछि अझ बढी जिम्मेवारी थपिएको महसुस गरिरहेको छु । जुन विश्वास सवैले मप्रति दखाउनु भएको थियो, त्यसको लागि भएपनि मैले आफ्नो कर्तब्य पुरा गर्नुपर्छ भन्ने लागिरहेको छ ।

तपाईले आनको नेतृत्व विधिवत रुपमा लिइसकेको अबस्था छ, अब आनको भावी योजना कस्तो हुनेछ ?

आनको साधारणसभा अगाडि पनि हामीले विभिन्न एजेन्डाहरु अगाडि सारेका थियौं, अनि ल्याउने गरेका पनि छौं । कुनै पनि एजेन्डा तत्काल गरिहाल्नु पर्ने किसिमका हुन्छन् भने कुनै नीतिगत निर्णयसँगै लामो समयपछि कार्यान्वयनमा आउने खालका । त्यसैले, आगामी दिनमा कसरी अगाडि बढ्ने भन्ने विषयमा आनको नवनिर्वाचित कार्यसमितिले नै निर्धारण गर्नेछ । मैले अहिले भन्नु भन्दा पनि आनको पहिलो बैठकपछि आगामी कार्यदिशा तथा योजना तय हुनेछ । त्यसैले, निर्वाचित कार्य समितिको बैठकबाट पारित र तय गरिए बमोजिमका एजेन्डाहरु नै हाम्रा भाबी कार्य योजना हुनेछन् ।

प्रायजसो, निर्वाचन वा साधारणसभाका बेलामा मात्र विभिन्न एजेन्डा आउने गर्छ । त्यसको कार्यान्वयनपक्ष चाहि जहिले पनि किन फितलो हुन्छ ?

ठिकै हो । तर, यसपाली भने अबश्य पनि फरक हुनेछ । हाम्रो मामिलामा यसपटक त्यस्तो हुन्न जस्तो लाग्छ । किनकी, हामी सवैको साझा उम्मेदवार थियौं । र, सवैको सहयोगमा निर्वाचित भइ नेतृत्व लिइसकेको अवस्था छ । हाम्रो समूह केही गरौं भन्ने सोचमा अडिग छ । हामीले त्यसैअनुरुप सवैको सहयोग र साथ पाउने पनि निश्चित छ । हाम्रो समूह काममा विश्वास गर्छ । हाम्रो समूह एक्सन ओरिन्टेड पनि छ । त्यसकारण, केही सकारात्मक सोचका साथ केही गरौं भन्ने उदेश्यसहित हामी आएकाले यसपटक त्यस्तो नहोला ।

आनमा नेतृत्व लिनु भएको छ तर ब्यवसायीका समस्याहरु त धेरै छन् नि ?

समस्या र चुनौतीसँग जुध्न मलाई एकदमै रमाईलो लाग्छ र मान्छु पनि । समस्या र चुनौती विनाको काममा त्यति मजा पनि आउँदैन् । त्यसैले, समस्या र चुनौती छ भने मात्र सहज र असहज परिस्थितिको ज्ञात हुन्छ ।   र, समस्या र चुनौतीलाई खेल्दै सहजीकरण गर्न अर्थात मौकामा बदल्ने मेरो बानी छ । समस्या छ भने त्यहाँ समाधान पनि अबश्य भेटिन्छ । मलाई लाग्छ, नवनिर्वाचित युवा पुस्ता समूह पनि त्यही भावनाबाट प्रेरित छ । 

आनमा आवद्ध विज्ञापन ब्यवसायीका मुख्य समस्याहरु चाही के के हुन् ?

ब्यवसायीका अनगिन्ति माग र समस्याहरु रहेका छन् । तर, मैले देख्ता विज्ञापनका पाँच चक्रभित्र पर्ने समस्या नै ब्यवसायीका मुख्य समस्या हुन् । मेरो विचारमा विज्ञापनका पाँच चक्रमा विज्ञापनदाता, विज्ञापनकर्मी, उपभोक्ता, सञ्चारमाध्याम र सरकार समेटिनु पर्छ । यी पाँचवटै चक्रमा रहेका पक्षलाई विश्वासमा लिई समन्वय गरेर अगाडि बढेको खण्डमा निश्चिय पनि हामीले समस्या र चुनौतीलाई पन्छाउन कठिन हुन्न । समस्या र चुनौतीलाई तत्काल हामीले अपरचुनिटीमा बदल्न सक्छौं । समस्याको कुरा गर्दा सरकारी पक्षबाट पनि सृजना भएको हुन्छ । सरकारले विज्ञापन ब्यवसायीका लागि ल्याउनु पर्ने ‘फेभरएवल’ नीति तथा पोलिसी अहिलेसम्म ल्याउन सकेको छैन । विना अध्ययन ब्यवसायीका समस्या नबुझि ‘अभिभावकत्व’ निभाउन खोज्दा पनि बेलाबेलामा समस्या उत्पन्न हुने गरेको छ । जसका कारण दिनानुदिन अस्वच्छ प्रतिस्पर्धा ब्यापक भइरहेको छ । त्यसको निराकरण गर्न आवश्यक लविङमार्फत सवै ब्यवसायीको ‘फेभरएबल’ नीति तर्जुमा गर्न आबश्यकता छ । त्यस्तै, विज्ञापन चक्रकै महत्वपूर्ण पक्ष विज्ञापनदाता हुन् । विज्ञापनदाताले त विज्ञापनलाई खर्चका रुपमा लिएका हुन्छन् भने कतिले प्रोडक्ट प्रवद्र्धन । विज्ञापनदाताको त्यो मनस्थिति वा सोचलाई समेत हामीले परिवर्तन गर्न जरुरी छ । सवै विज्ञापनदातामा उत्पादनलाई विज्ञापन गर्नुपर्छ भन्ने चेतनाको समेत कमी छ । त्यसैले, त्यसको ब्यापक प्रचारप्रसार गर्ने र विज्ञापनबाट पनि मुनाफा कमाउन सकिन्छ भन्ने सोच विज्ञापनदातालाई बुझाउन जरुरी देख्छु । त्यसैगरी, विज्ञापनकर्मी अर्थात हामीहरुकै यस ब्यवसायमा धेरै समस्या र चुनौती छन् । त्यसलाई पनि ‘कोड अफ कन्डेक्ट’ बनाएर ‘सिस्टमाईज’ गर्न जरुरी छ । सञ्चारमाध्याम पनि मर्यादित, नियम कानून र आचारसहिंता अनुसार चल्नु पर्‍यो, जहाँ हामीले विज्ञापनदाताको सूचना सम्प्रेषण गछौं । विज्ञापनकर्मी र सञ्चारमाध्यामबीच देखा परेको खाडल पुर्न दुबैले विश्वासको बातावरण निर्माण गर्न सक्नु पर्छ । विज्ञापन चक्रको पाँचवटा पक्ष मध्ये सवैभन्दा महत्वपूर्ण पक्ष कन्जुमर अर्थात उपभोक्ता हुन् । हरेक विज्ञापनलाई कसरी बुझ्ने उनीहरुमा नै भर पर्दछ । उपभोक्तालाई बुझेर सूचना प्रचारप्रसार गर्नु साँचिकै कठिन काम हो । कुनै पनि उत्पादनलाई सहज बुझ्न सक्ने गरी विज्ञापन निर्माण र प्रकाशनले समेत विशेष महत्व राख्छ । विज्ञापनदाताका उत्पादन बुझ्ने महत्वपूर्ण साधान नै उपभोक्ता भएकाले कुनै पनि उत्पादनमा सञ्चारमाध्यामलाई समेत उनीहरुले निर्णायक भूमिका निभाउन सदुपयोग गरिरहेका हुन्छन् । विज्ञापनलाई ग्राहक वा उपभोक्ताले ब्यवसायीक रुपमा मात्र नलिई सूचनाको रुपमा ग्रहण गर्ने परिपाटी अझै बसिसकेको छैन । त्यो सोचलाई समेत हामीले बदल्नु पर्ने टड्कारो देखिएको छ । त्यसैले, विज्ञापन चक्रका पाँच वटा पक्षलाई विश्वासमा लिएर ब्यवसायी हिड्न सकेको खण्डमा मात्र सवैको भविश्य सुनिश्चित हुन्छ । त्यसपछि समस्याको समाधान पनि आफै निस्किन्छ भन्ने मलाई लाग्छ ।

विज्ञापन उद्योग अन्य  ब्यवसाय  जस्तो  प्रतिष्ठित  हुन  नसकिरहेको ब्यापक  गुनासो  सुनिन्छ  नि ?

पहिलो त, विज्ञापनकर्मी वा ब्यवसायी प्रतिष्ठित हुन आफै त्यस्तो काममा लाग्नु पर्‍यो । दोस्रो कुरा के हो भने हामी ब्यवसायी नै एक–अर्कालाई आदर र सत्कार गर्ने परम्परा बसाल्नु पर्छ, प्रतिष्ठित हुनलाई । यो कल्चर विकास नगरी हामीलाई प्रतिष्ठित ब्यवसायी भन्नु पर्‍यो भन्दैमा केही हुनेवाला छैन । त्यसैले, राम्रो कामको थालनी हामीबाट नै हुनुपर्छ भन्ने मलाई लाग्छ । अनिमात्र अन्य पक्षहरुबाट केही आश गर्न सकिन्छ । हामी आफै अस्वच्छ प्रतिस्पर्धा छाडेर ब्यवसायीक बन्न आजैबाट लाग्यौं भने अनि समाज र राष्ट्रको लागि केही योगदान दिन सक्यौं भने मात्र हामीले सम्मान पाउँछौं । प्रतिष्ठित बन्नका लागि प्रतिष्ठित कामको थालनी हुनु जरुरी छ ।

तपाईलाई त आनको असफल पूर्व महासचिव भन्ने पनि आरोप लाग्ने गरेको छ नि ?

यो कुरा मेरै लागि पनि चुनौतीको विषय बनेको छ । किनकी पूर्व आनको महासचिव र अहिले म निर्वाचित अध्यक्ष भइसकेको अबस्था छ । तर, तपाईले भने जस्तो मेरो महासचिवको कार्यकाल असफल भएको होइन र म मान्दिन पनि । यदि, म असफल भएको भए मलाई ब्यवसायी साथीभाईहरुले किन अध्यक्षमा फेरि जिताउँथे ? म महासचिव हुँदा पनि धेरै काम भएको थियो । आनमा विवाद र समूहगत गुटको असर परेको थियो । जसको मुल्य पुरै कार्यकाल हामीले चुकाउनु पर्‍यो । एउटा समूहको पुरै असहयोग र ब्यवसायीबीच नै मनमुटाव भएको बेला भएकाले जति हुनु पर्ने कामहरु थिए, सवै गर्न नसकेको भने अबश्य हो । तर, पूर्ण असफल भएको भन्ने कुरा चाही म स्वीकार गर्दिन् ।

यसको मतलब आनमा समूहगत गुटको अन्त्य भएको छ भन्न खोज्नु भएको हो ?

अहिले आनमा कुनै पनि समूहगत गुट र उपगुट केही छैन । यो निर्वाचन प्रक्रियापछि कार्याभार हस्तान्तरण गर्दाको दिनलाई समेत उदाहरण लिन सकिन्छ । आनको ईतिहासमा पहिलो पटक आनका पूर्व अध्यक्ष सवैभन्दा बढी उपस्थित हुनु र मेरा प्रत्यासी शशि दाजुले आनको सल्लाहकार बस्ने मेरो आग्रह ग्रहण गर्नुले पनि पुष्टि भइसकेको छ । आनमा कुनै पनि गुट बाँकी छैन र हामी पूर्ण रुपमा एकताबद्ध भइसकेका छौं ।

तर अहिले पनि दर्जनौं विज्ञापन ब्यवसायीहरु आनमा आवद्धता रहेका छैनन् नि त ?

हैन, प्रायजसो क्रियाशील र ब्यवसायीक विज्ञापनकर्मी आनमा आवद्ध हुनुहुन्छ ।  क्रियाशील  नभएका  छुटपुट  एजेन्सी  आनमा  आवद्ध  नभएको भएपनि  हामी  उहाँहरुलाई  समेत  आवद्ध  गराउन  पहल  थाल्नेछौं ।

अन्त्यमा ?

तपाईको सञ्चारमाध्याममार्फत मलाई निर्वाचनका क्रममा सहयोग गर्ने सम्पूर्ण पक्षहरुलाई धन्यवाद दिन चाहान्छु । आजको अवस्थामा हामी एकताबद्ध भइसकेका छौं । अवका दिनमा विज्ञापन चक्रका पाँचवटै पक्षलाई समन्वय गर्दै विश्वासको बाताबरण बनाएर अगाडि हिड्नुको विकल्प छैन । र, त्यो गरेको खण्डमा मात्र हामीले सकारात्मक परिवर्तन ल्याउन सफल हुन्छौं जस्तो मलाई लाग्छ । साथै नयाँ बर्षको पनि सवैलाई शुभकानमा! (आजको जनप्रहार साप्ताहिकबाट)

Share on Twitter Share on Facebook