प्राधिकरणद्धारा विना टेण्डर करोडौंको ट्रान्सफर्मर खरिद

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी महानिर्देशक मुकेश काफ्ले र उपमहानिर्देशक आरसी पाण्डेको मिलेमतोमा करोडौं करिब ४ करोड पर्ने ट्रान्सफर्मर विना टेण्डर खरिद गरेको खुलासा भएको छ । प्राधिकरण स्रोतका अनुसार उक्त ट्रान्सफर्मर खरिद काण्डमा करिब डेढ करोड बराबर कमिशन र मिलेमतो घोटला भएको छ । दशै र तिहारबीचमा आपतकालिन अभाव ट्रान्सफर्मर ब्यवस्थापनको नाममा प्राधिकरण बोर्डबाट अवैध निर्णय गराई विना टेण्डर १ सय पचास वटा ट्रान्सफर्मर नेपाल ईकरात ईन्जिनियरिङ कम्पनी (निक) बाट खरिद गरिएको हो । उद्योग बाणिज्य महासंघका पूर्व अध्यक्ष जोशी संलग्न रहेको निक कम्पनीबाट खरिद गरिएको १ सय पचास वटा ट्रान्सफर्मरको मुल्य भने गत साल नेपाल विद्युत प्राधिकरणलाई ट्रान्सफर्मर सप्लाई गर्न ठेक्का पाएको श्रीलंकन कम्पनी एलटिएलको मुल्यलाई आधार मानिएको स्रोतले बतायो ।

५० केभि क्षमता भएको १ सय पचास वटा ट्रान्सफर्मर खरिद प्रकरणमा प्राधिकरणको सञ्चालक समितिका सदस्यहरुको समेत मिलेमतो रहेको स्रोत बताउँछ । टेण्डर विना नै ट्रान्सफर्मर खरिद गरिएको हो भने कानूनसम्वत नभएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहप्रवक्ता श्रीधर सापकोटाले बताएका छन् । सापकोटाले उक्त खरिद प्रकरणबारे आफूलाई अहिलेसम्म जानकारी वा सूचना नआएको र उजुरी वा सूचना आएको खण्डमा छानविन गरिने बताए । प्राधिकरण बोर्डका एक सदस्य भन्छन,‘ट्रान्सफर्मरको हा–हाकार ब्यवस्थापन गर्न बोर्डबाट नै निर्णय गराएर हामीले खरिद गरेका हौं । यहाँ कुनै आर्थिक चलखेल र कानून विपरित काम भएको छैन ।’
निकका सञ्चालक जोशी भने प्राधिकरणमा आफ्नो एकाधिकार कायम राख्न प्रयासरत छन् । तर, प्राधिकरणका कर्मचारी निकले सप्लाई गर्ने ट्रान्सफर्मरमा समस्या नै समस्या रहेकाले नयाँ कम्पनीको खोजीमा रहेका छन् ।

प्राधिकरणको टेण्डर हत्याउन प्राधिकरणभित्र निकले गरिरहेको षड्यन्त्र कुनै पनि कर्मचारीलाई मन परेको छैन । जोशीले केही महिना पहिले प्राधिकरणले आब्हान गरेको ‘ट्रान्सफर्मर वितरण’ टेण्डरमा समेत सहभागिता जनाएका छन् । जोशीले आफ्नो स्थानिय कम्पनी भएकाले सब्सीडरीको माग राखेर टेण्डर हत्याउने योजना बनाएका छन् । उक्त टेण्डर समेत प्राधिकरणले आर्थिक लाभ हुने कम्पनीलाई दिने तयारी गरेको छ । सोही योजना मुताविक प्राधिकरणले आफ्नो टेण्डरको नोटिस वेवसाईट बाट हटाएको छ । जबकी प्राधिकरणको वेबसाईटमा ०१३ सालमा प्रकाशित भएका विभिन्न टेण्डरको सूचना समेत राखिएको छ । प्रावधिक र आर्थिक रुपमा विश्लेषण नगरी प्राधिकरणले हचुवाको भरमा सेटिङ कम्पनीलाई टेण्डर दिने तयारी गरेपछि अन्य ब्यवसायी भने अख्तियार जाने तयारीमा छन् । यसअघि पनि करोडौं रुपैयाँ घोटला भएको आशंकामा अख्तियारले ट्रान्सफर्मर खरिद काण्डमा प्राधिकरणका ३५ जना कर्मचारीहरुलाई पक्राउ परी मुद्दा चलाएको थियो भन्दै मंगलबार प्रकाशित जनप्रहार साप्ताहिकले छापेको छ । 

Share on Twitter Share on Facebook