यसकारण म डा.केसीको आन्दोलन विरोधी

दिनेश दाहाल/  मैले लेखेको शिर्षकबाट नै प्रष्ट हुन्छ कि डा.गोविन्द केसीले गर्न लाग्नु भएको आन्दोलनको म विरोधी हुँ । तर, म सरकारको मन्त्री, कर्मचारी वा कुनै पनि पार्टीको कार्यकर्ता भएकाले मैले विरोध गर्न खोजेको भने होइन, यो पनि म प्रष्ट पार्न चाहान्छु । मैले आम नागरिकका तर्फबाट आन्दोलनको औचित्य केलाउँदा फाईदा भन्दा बढी बेफाईदा भेटेको हुँदा डा.केसीले गर्ने आन्दोलनको म विरोधी बनेको हुँ ।

 डा.केसीले पटकपटक भन्दै आउनु भएको छ कि माग पुरा नभएकाले पुन: आमरण अनशन बस्छु । मेडिकल क्षेत्रमा माफियातन्त्र हावी भएको पक्का हो । मेडिकल क्षेत्रमा नीति नियम फितलो भएको र भएका ऐन नियम पनि कार्यन्वयन नभएको त्यो पनि सत्य हो । भएको नीति नियमलाई पनि मिचेर करोडौं आर्थिक लाभका आधारमा स्वीकृती, सम्बन्धन लिनेदिने कार्य भएको घाम जतिकै छर्लङग भइसकेको छ । सरकारका मन्त्री र कर्मचारी भ्रष्टाचारमा लिप्त छन् । डा. केसीले भनेका सबै कुरा साँचो हुन्, त्यसमा मेरो कुनै दुइमत छैन । जुन परिवर्तनका लागि उहाँले माग राख्दै आउनु भएको छ त्यो पनि पुरा नभएको अबश्य हो । मेडिकल क्षेत्रमा उहाँको जुन परिवर्तन ल्याउने सोच र योजना छ त्यो झन स्वागत योग्य छ । अब प्रश्न उठ्छ कि यति धेरै कुरामा सहमत भएर पनि किन म डा.केसीले गर्ने आन्दोलनको विरोधी ? प्रश्न जाग्नु स्वभाविक हो । अब म यहाँ तपाईको जिज्ञासा र खुल्दुलीलाई मेटाउन प्रयास गर्नेछु ।

प्रथम त: अस्पताल भनेको आम नागरिकका लागि सेवा दिने थलो हो । अस्पताल र डाक्टरलाई अहिले पनि हाम्रो समाजमा मन्दिर र भगवान समान मान्छन् । त्यसैले अस्पताल आन्दोलन गर्ने उपयुक्त स्थान वा कुनै थलो होइन । दोस्रो कुरा अस्पतालको सेवा बन्द गरेर गरिने कुनै पनि प्रकारको आन्दोलनलाई मुलुकको प्रचलित कानूनले नै गैरकानुनी मान्छ । यदि त्यसो गरिए आन्दोलन भनेर नथाक्ने डा.केसीकै लागि घातक सावित हुनेछ, त्यो विगतको अनुभवले देखाइसकेको छ । डा.केसीलाई पनि ज्ञात हुनु पर्ने हो कि उहाँको आमरण अनशन आन्दोलन भएका ताका उपचार नपाएर धेरैले मृत्युबरण गरे र त्यो उहाँको कारण भएको हो भन्ने आरोपसहित समाचार बिभिन्न अनलाइन र पत्रपत्रिकामा प्रकाशित भइसकेको छ । मुलुकले डा.केसीलाई उच्च बौद्धिकबर्गका रुपमा चिन्ने गरेको छ । मलाई लाग्छ, डा. केसी जस्तो आदर्श र उदारणीय ब्यक्तित्वमा बहुलट्टीपन, एकोहोरो, सुझबुझ कम, विवेकहिन अनि नकारात्मक सोच हावी नहुनु पर्ने हो । उहाँले त धेरै कोणबाट अध्ययन गरेपछि मात्र दृष्टिकोण बनाउनु पर्ने हो । समाजमा भएको एउटा क्षेत्रको बेतिथि सुधार गर्ने नाममा कुनै पनि सर्वसधारणको ज्यान र स्वास्थ्यमाथि खेलबाड गर्ने किसिमबाट आन्दोलन डा.केसीले गर्न मिल्छ कि मिल्दैन ? आन्दोलन गर्ने नाममा आमनागरिकले पाउने स्वास्थ्य उपचार र सेवाबाट उनीहरुको अधिकार बन्चित गर्न मिल्छ ? यो प्रश्नको उत्तर डा.केसीले सर्वसाधारणलाई दिनु जरुरी छ । यदि अस्पतालको सेवा बन्द गराई पुन: आन्दोलन गर्ने हो भने त्यो सामाजिक अपराध हो । सोही अनुसार डा.केसी पनि सजाँयको भागिदार हुनु पर्छ । उक्त कदम असंबैधानिक पनि हो । कानून अनुसार डा.केसीलाई पनि राज्य र आम नागरिकले उनको कदमलाई ठेगान लगाउनु पर्छ । अस्पताल जस्तो सेवा दिने पवित्रस्थलमा सेवा बन्द गराई गरिने कुनै पनि प्रकारका आन्दोलनले उहाँलाई बल पुग्दैन, बरु जनाधार खस्किदै जाने यर्थाथ मनन गर्न जरुरी छ । लाखौं आम नागरिकले अस्पताल र चिकित्सकमाथि विश्वास र भरोसा गरेका हुन्छन, त्यसलाई टुट्न नदिने हो भने पनि अब गर्ने आन्दोलनको स्वरुप परिवर्तन हुन जरुरी मैले ठानेको छु ।

डा.केसीलाई यस्तो छ मेरो सुझाव : चिकित्सा पेशामा हस्ती मानिएका, अग्रज, उदारणीय तथा समाजले उच्च बौद्धिकबर्गका रुपमा चिनिने डा.केसीको नाम कसैका लागि पनि नौलो छैन । त्यो उचाईमा रहेका ब्यक्तित्वले परिवर्तन खोज्दा कुन सोच र विचारबाट आन्दोलनको प्रारुप वा स्वरुप बनाउनु पर्छ ? बहश हुन जरुरी छ । जसले उहाँकै उचाईलाई यथास्थानमा कायम राख्न मद्दत पुग्ने मेरो बुझाई छ । पहिलो त आन्दोलन वा आमरण अनशनको विकल्प खोज्न जरुरी देख्छु । आफैलाई कष्ट दिएर दबाद सृजना गर्ने काम एक प्रकारको अपराध सरह नै हो । दोस्रो कुरा यदि आन्दोलन ‘आमरण अनशन’ नै हो भने कहाँ र कसरी गर्दा उहाँलाई मात्र होइन, बाटो हिड्ने बटुवासम्मलाई फाईदा पुग्छ भन्नेबारे पटकपटक सोच्न म आग्रह गर्छु । यदि साँच्चिनै आमजनताको हितका लागि आमरण अनशन बस्न लागिएको हो, मेडिकल क्षेत्रमा सुधार गर्न चाहेकै हो भने त्यो आन्दोलनको स्वरुप उहाँको पेशा र उचाई भन्दा पनि माथिको हुनुपर्छ भन्ने मलाई लाग्छ । जुन अभियानबाट बौद्धिकता, रचनात्मक, सकारात्मक, निर्माणात्मक र समाधानतर्फ उन्मुख भएको तरंग मुलुक र समाजलाई छर्न सकियोस् । त्यसैले डा.केसीको आन्दोलनको स्वरुप गरिब, निमुखा, निम्न आय हुने बर्ग तथा आमजनतालाई अस्पताल पुगेर उपचार लिनबाट बन्चित गर्ने खालको हुनु हुन्न भन्ने हो ।

सेवा बन्द गरिए के हुन सक्छ ?: यदि शिक्षण अस्पतालको सेवा बन्द गरेर आन्दोलन गरिएको खण्डमा उल्लेखित सर्वसाधारण नागरिक राजधानीका पाँचतारे होटल बराबरका अस्पतालमा धाउनु पर्ने बाध्यता एकातिर हुन्छ भने त्यसको ठूलो मुल्य उनीहरुले चुकाउनु पर्नेछ । उपचारकै क्रममा महंगीका कारण विरामी र उसको परिवारले घर, खेत, बारी घुमाउनु पर्ने अबस्था आउन सक्छ । अस्पतालको सेवा सुविधा बन्द हुँदा समयमा नै उपचार हुन नसकी ज्यानै गुमाउनु पर्ने अबस्था आउन सक्छ । निजि अस्पतालमा उपचारका क्रममा घरबहारविहिन भएका परिवारका सदस्यको विचल्ली मात्र हुन्न, समाजमा आर्थिक र सामाजिक अपराध समेत बढ्न सक्ने संभावना त्यतिकै छ । जसको केही पनि छैन, उ बाँच्नका लागि आपराधिक गतिबिधिमा धकेलिन सक्छ । डा.केसी के तपाईले यो कोणबाट आन्दोलनको विश्लेषण गर्नु भएको छ ? विरामी र आमनागरिकको मन जित्न सफल एक मात्र जिवित शिक्षण अस्पताललाई आन्दोलनका नाममा अस्तब्यस्त पारिँदा नयाँ पुस्ताले समेत चिकित्सा पेशालाई हेर्ने दृष्टिकोणमा परिवर्तन आउनु सक्छ । जसको दुरगामी असर मुलुकको विकासमा पर्नेछ । त्यसैले एक क्षेत्रको बेतिथि हटाउन र अधिकार प्राप्तिका नाममा अन्यको अधिकार खोसिने खालको आन्दोलन लोकतन्त्रमा कदापी सुहाँउदैन र स्वीकार्य पनि हुन्न । यदि त्यस्तो आन्दोलन डा.केसीले पुन: गर्न लागेका हुन भने उनी जस्ता ब्यक्तिलाई उच्च बौद्धिकबर्ग र सचेत नागरिक मान्नु भुल सिवाय केही हुने छैन । मेडिकल क्षेत्रको आमुल परिवर्तन यदि मुलुककै लागि हो र शिक्षण अस्पतालको सेवा बन्द नगराई सरकारलाई दबाब हुन्न भन्ने लाग्छ भने तपाईको बौद्धिकतामा छियाछिया भइसकेको छ ।

अस्पतालको विकल्पमा अस्पताल: यदि तपाई त्यही ठाउँबाट आन्दोलनको विकल्प र विधि देख्नु हुन्न भने पहिला अस्पतालको विकल्पमा सर्वसाधारणका लागि अस्पताल नै ब्यबस्था गर्नु जरुरी छ । अस्पतालको विकल्पमा अस्पताल भन्नुको तात्पर्य यहाँ शिक्षण अस्पतालको सेवा ठप्प हुँदा पनि विरामीले उपचार गर्न पाउने सुविधा पाउनु पर्छ भन्न खोजिएको हो । त्यो कुराको ग्यारेन्टी हुन्छ भने शिक्षण अस्पताल ठप्प हुँदा पनि जयजयकार चाहिँ डा.केसी तपाईकै हुन्छ । जुन तपाई र तपाईको टोलीले अस्पतालकै परिसरमा टेन्ट राखेर अध्याधुनिक सुविधा सम्पन्न उपचार सेवा सर्वसाधारणलाई दिएर गर्न सक्छन । त्यसको कसरी ब्यवस्थापन गर्ने ? कति खर्च लाग्छ ? कति दिनसम्म निशुल्क उपचार दिने ? विरामीको चाप कसरी ब्यबस्थापन गर्ने ? त्यो मेरो बहशको कुरा होइन तर त्यो गर्न असम्भव नभएको भने होइन । ताकी उपचार गराउन अस्पताल आएका कुनै पनि नागरिकको ज्यान अकालमा जान नपाओस् । यदि त्यति गर्न सक्नु हुन्न भने पनि डाक्टर साबलाई अर्को पनि यहाँ विकल्प प्रस्तुत गर्ने मैले जमर्को गरेको छु । तपाईले आमरण अनशन बस्ने स्थान वा थलो परिवर्तन गर्नु नै उत्तम विकल्प अर्को हुन सक्छ । मुलुकको एक मात्र प्रशासनिक केन्द्र ‘सिंहदरबारको मुख्य ढोका, प्रधानमन्त्री निवासको मुख्य ढोका, संविधानसभा भवनको पश्चिम ढोका र स्वास्थ्य मन्त्रालय परिसर आमरण अनशन बस्ने उत्तम विकल्प अर्थात स्थान वा थलो बन्न सक्छ । जहाँ आमरण अनशन बस्दा कसैको पनि अकालमा मृत्यु हुने छैन भने कसैको अधिकार खोसिने संभावना त्यतिकै न्युन छ । त्यो भन्दा पनि डा.केसीको मागमाथि सबैको ध्यान केन्द्रित गर्न उल्लेखित ती स्थान सबैभन्दा उत्तम बिकल्प बन्न सक्छन् । साथै कसैले पनि उहाँमाथि आक्षेप वा आरोप लगाउने ठाउँ बाँकी रहने छैन । उल्लेखित उपयुक्त स्थानमा आमरण अनशन गरिएको खण्डमा तपाई र आमजनतालाई के फाईदा हुन्छ ? त्यसबारे पनि म प्रष्ट पार्न चाहान्छु । उल्लेखित स्थानमा आमरण अनशन बस्दा सबैको ध्यान केन्द्रित गर्न सजिलो हुन सक्छ । मडियालाई बोलाई राख्नु पर्दैन, सञ्चारमाध्यामले तपाईलाई खोजीखोजी तपाई भएको ठाउँमा आएर समाचार संकलन र प्रसारण गर्नेछन् । तपाई ती स्थानमध्ये कुनै पनि एक ठाउँमा बस्दा आम नागरिकको मौलिक अधिकार हनन हुन्न भने उपचार गर्न नपाएर कसैले अकालमा मृत्युबरण गर्नु पर्ने छैन । अस्पतालको नियमित सेवा निम्न आय तथा गरिब जनताका लागि फलदायी हुने हुँदा उपचार गर्न घर, खेत बेच्नु पर्ने बाध्यता नआउँला । आमजनताले सहज उपचार पाएको खण्डमा समाजमा हुन सक्ने संभावित आर्थिक र समाजिक अपराध नहुने विश्वास गर्न सकिन्छ । यदि तपाईको मागका लागि अस्पतालको सेवा बन्द गरिए वा आन्दोलनका कारण अस्पताललाई अस्तब्यस्त पारिए कसलाई फाईदा पुग्छ ? उत्तर सहजै आउन सक्छ कि त्यसको प्रत्यक्ष फाईदा अबश्य पनि राजधानीमा च्याउ उम्रेसरी उम्रिएका निजि अस्पताललाई । के जनताले तपाईलाई कतै निजि अस्पतालका लगानीकर्तालाई उकास्न त शिक्षण अस्पताललाई अस्तब्यस्त बनाउन सल्लाह दिएका त छैनन ? कतै उनीहरुबाट पो तपाई परिचालित भएको त होइन ? भन्ने प्रश्न अब तपाईमाथि आम नागरिकले तेर्साउन पाउने कि नपाउने ? त्यसैले उत्तम विकल्पमाथि उत्तम विकल्प खोज्नु तपाईको लागि मात्र राम्रो नभई समग्र राष्ट्रका लागि फाईदाजनक सावित हुन सक्छ । नत्र फेरि मारमा पर्ने तिनै आमनागरिक हुनेछन् भने डाक्टर र अस्पतालमाथि जुन जनविश्वास छ, त्यो विस्तार घट्दै जाने संभावना त्यतिकै छ । त्यसैले तपाई जस्तो बौद्धिक ब्यक्तित्वले बौद्धिक अन्य विकल्पको सोच बनाउनु पर्ला जस्तो मलाई लाग्छ । मलाई लाग्छ, तपाईको बौद्धिकता, ज्ञान र अनुभवको अगाडि कोही टिक्न सक्दैन्, यदि तपाईले बुँदागत रुपमा सुधारका उत्तम विकल्प अगाडि सारेको खण्डमा । तपाई हामी मिलेर किन खुला बहश नचलाउने ? किन उत्तम बिकल्पलाई सञ्चार माध्याममार्फत सार्बजनिक नगर्ने ? समाधानका विषयमा सम्बन्धित निकायका ब्यक्तिलाई बोलाएर किन खुला बहश र छलफल नचलाउने ? भ्रष्ट, माफियालाई प्रमाणसहित जनतामाझ किन न नङग्याउने ? यसका अतिरिक्त अन्य विकल्प खोजि गर्न किन तपाई, हाम्रै स्वतन्त्र विज्ञ टोली नबनाउने ? भ्रष्टाचार गर्ने ब्यक्ति र कानून मिच्नेहरुका लागि प्रमाणसहित किन कानूनी उपचार नखोज्ने ? अब पनि यदि तपाई यि विकल्पमाथि गहन छलफल नगरी शिक्षण अस्पतालकै परिसरमा आमरण अनशन बसेर सेवा वन्द गराउने, अस्तब्यस्त पार्ने वा सरकारलाई घुँडा टेकाउने योजना बुन्दै हुनु हुन्छ भने हो, म तपाई र तपाईले गर्ने हरेक आन्दोलनको विरोधी हुँ । यदि सर्बसाधारणको पहुँच भएको शिक्षण अस्पतालको सेवा पुन: बन्द गराउने सोच पाल्नु भएको छ भने त्यो तपाईको बौद्धिकता र क्षमतामाथि नै प्रश्नचिन्ह उठाउन म तयार छु । तपाईको विवेकहिन, अदुरदर्शी, सुझबुझ विनाको आन्दोलनका कारण पुन: यदि अस्पतालको सेवा ठप्प हुँदा कसैको ज्यान गयो भने तपाईलाई ज्यान मुद्दा दायर गर्न मैले कानूनको साहरा लिनेछु । किनकी म सचेत नेपाली हुँ । यदि कसैले आमनागरिकको अधिकारलाई बन्चित गराउने कुनै पनि गविबिधि वा आन्दोलन गर्छ भने हो, म त्यसप्रकारको कुनै पनि आन्दोलनको विरोधी हुँ । जयहोस् । (सेतोपाटीले प्रकाशित गरी फेरि पछि हटाएको लेख जस्ताको तस्तै )

Share on Twitter Share on Facebook