करोडौंको सार्बजनिक जग्गा हडप्नेलाई अख्तियारको संरक्षण

कमल पौडेल ‘अथक’ /
कास्की । ३० करोडको लागतमा निर्माण भएको रुपाकोट रिर्सोटका सञ्चालक पुष्पराज अधिकारीले एक सय रोपनी भन्दा बढी सार्बजनिक जग्गा र बन मिचेर पर्खाल लगाएपछि उनीविरुद्ध उजुरी परेको छ । दुई सय रोपनी जग्गामा निर्माण गरिएको रुपाकोट रिर्सोटको पर्खालभित्र परेको भनिएको करिब एक सय रोपनी जग्गा र बन लाम्पाटा सामुदायिक बन उपभोक्ता समितिले संरक्षण गरिरहेको थियो । समितिले संरक्षण गरिरहेको जग्गा र बन मिचेर जर्बजस्ती रिर्सोटका सञ्चालक पुष्पराजले पर्खाल लगाएपछि उनीविरुद्ध जिल्ला बन कार्यालय कास्कीमा उजुरी परेको हो ।

उपभोक्ता समितिले संरक्षण गरेको सामुदायिक बनको जग्गा फिर्ता गर्न पटकपटक ताकेता र पहल गरिएता पनि रिर्सोटका सञ्चालक पुष्पराजले अटेरी गरिरहेका छन् । सार्बजनिक जग्गा र बन अतिक्रमण गरी रिर्सोट निर्माण गर्ने पुष्पराजलाई यतिखेर नेपालमा केही गर्न फर्केको नभई सार्बजनिक जग्गा हडप्न आएको स्थानियले आरोप लगाएका छन् । पर्यटन ब्यबसायमा ईंटा थप्ने नाममा सार्बजनिक जग्गा र बन यसरी नै सबैले अतिक्रमण गरे आगामी दिनमा सार्बजनिक जग्गा नै नभेटिने चिन्ता उपभोक्तालाई परेको छ । लाम्पाटा सामुदायिक बन उपभोक्ता समितिकी अध्यक्ष सिता अधिकारीले जिल्ला बन कार्यालयले मिचेको जग्गा र बन फिर्ता गर्न पहल गरेको खण्डमा सम्पूर्ण जग्गा र बन फिर्ता हुने बताइन् । उनले भनिन्,‘हामीले मिचिएको जग्गाको विवरणसहित उजुरी गरेका छौं । जिल्ला बन कार्यालयले उजुरीमाथि उचित छानविन गरी कारबाही गर्नेमा आशावादी छौं ।’
स्थानियले सय रोपनी भन्दा बढी जग्गा मिचेको आरोप लगाईरहेका बेला उपभोक्ता समितिले बन कार्यालयमा दर्ता गरेको उजुरीमा भने २७ रोपनी जग्गा मात्र अतिक्रमण भएको उल्लेख छ । तर, रिर्सोटका सञ्चालक पुष्पराजले भने उक्त जग्गा आफ्नो नितान्त ब्यक्तिगत भएको र सार्बजनिक जग्गा नमिचेको दाबी गरे । स्रोतका अनुसार बेल्जियममा २० बर्षदेखि रेष्टुरेन्ट ब्यबसाय गरिरहेका गैरआवसीय नेपाली (एनआरएन) पुष्पराजले जग्गा नमिचेको दाबी गरेतापनि पटकपटक स्थानिय, राजनीतिक दलका प्रतिनिधि र उनीबीच जग्गा फिर्ताको लागि बैठक हुँदै आएको छ  । राजनीतिक दलका प्रतिनिधिलाई पुष्पराजले आर्थिक लाभको आधारमा आफ्नो पक्षमा उभ्याएका कारण विरोध मत्थर हुँदै आएको स्रोत बताउँछ । यद्यपी सार्वजनिक जग्गा मिचेर रिर्सोटको कम्पाउन्ड निर्माण गरेको भन्दै स्थानियले विगत लामो समयदेखि विरोध जनाउँदै आएका छन् । मिचिएको जग्गा फिर्ता गर्ने सम्बन्धमा पटकपटक राजनीतिक भेला र बार्ता भएका छन् । तर, बार्तामा बस्ने प्रायजसोलाई रिर्सोटका मालिक पुष्पराजले खरिद गर्ने गरेको स्थानियको आरोप छ ।
२१ औं शताब्दीका धनाड्य प्रकृतिसँग साक्षात्कार गर्न रुचाउने बताउँदै पुष्पराजले रिर्सोट निर्माण गर्ने बाहाना नेपालमा खोजेका थिए । सोही अनुसार उनले रुपाकोट रिर्सोट निर्माण पनि गरे । तर, रुपाकोट रिर्सोटको निर्माणसँगै सार्बजनिक जग्गा मिचेर रिर्सोटको कम्पाउन्ड लगाएको विषयले पुष्पराज विवादमा तानिएका हुन् ।  उनले जग्गाको विषयमा कुनै पनि राजनीतिक दल, स्थानिय र सामुदायिक बन उपभोक्ता समितिलाई समेत थाहै नदिई रिर्सोटको पर्खाल लगाएपछि यो विवाद गाउँदेखि जिल्ला बन कार्यालयसम्म पुगेको हो । जिल्ला बन कार्यालयले सार्बजनिक जग्गा मिचिएको सम्बन्धमा पुष्पराजलाई तत्काल बन ऐन अन्तर्गत कारबाही नगरिए अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी गरिने उपभोक्ता समितिले जनाएको छ । रिर्सोटले २७ रोपनी सार्बजनिक जग्गा पर्खालभित्र पारी कम्पाउन्ड लगाएको उजुरी जिल्ला बन कार्यालय कास्कीमा परेको जिल्ला बन अधिकृत प्रभात सापकोटाले बताए । उनले रिर्सोटका सञ्चालक पुष्पराजमाथि बन ऐन अन्तर्गत कारबाही गरिने पनि बताए । स्थानियबासीले पटकपटक पर्खालभित्र घुसेको जग्गा छाड्न दबाब दिएता पनि रिर्सोटका सञ्चालकले अटेर गरिरहेको समेत उनको दाबी थियो । त्यसैगरी, कास्की जिल्ला प्रशासन कार्यालयका प्रमुख कृष्णबहादुर राउतले सार्बजनिक जग्गा र बन अतिक्रमण गरी रिर्सोट निर्माण गरिएको बारे अनभिज्ञता प्रकट गरे ।राउत जिल्ला भूमि ब्यबस्थापन समितिका अध्यक्ष समेत हुन् ।
अर्कोतिर, रिर्सोटका सञ्चालक पुष्पराजले सार्बजनिक जग्गा अतिक्रमण गरी पर्खाल लगाएको कुरा कास्कीका गुण्डा र भिआईपी डनहरुले पत्तो पाएसँगै उनीसँग पैसा असुल्न अभियान नै चलाए । त्यसैक्रममा गुण्डाहरुका नाईके धनबहादुर छन्त्याल उर्फ लक्ष्मणले भनिनेले मागे जति रकम नदिएपछि पुष्पराजलाई पिटेका थिए । यतिखेर असुलीका नाईके छन्त्याललाई प्रहरीले राजधानीबाट पक्राउ गरी कास्की ल्याएको छ । छन्त्याल पोखराका डन विक्रम लामासँग आवद्ध थिए । लागूऔषधसहित  पक्राउ परेका लामाको जेल चलानसँगै छन्त्यालले कास्कीमा एकछत्र असुली गर्दै आएका थिए । उनीसँग एक थान कटुवा पेस्तोल र त्यसमा लाग्ने दुई राउण्ड गोली बरामद भएको भन्दै प्रहरीले उनीमाथि हातहतियार तथा खेरखजना ऐन अन्तर्गत कारबाही प्रक्रिया अगाडि बढाएको छ । यसअघि पनि अबैध हातहतियारसहित पक्राउ परेका छन्त्याललाई प्रहरीले पक्राउ गर्दा उनी ८ महिना जेल चलान भएका थिए ।
केही महिना पहिले मात्र सञ्चालनमा आएको रिर्सोटको उद्घाटन एनआरएन अध्यक्ष शेष घले र बेल्जियम नागरिक रुढी बेकनले सयुक्त रुपमा गरेका थिए । रिर्सोटका सञ्चालक पुष्पराजले १५ बर्ष अगाडि रिर्सोट निर्माणका लागि रुपाकोटको डाँडामा जग्गा खरिद गरेका थिए । रिर्सोट सञ्चालनमा आएपछि १५ बर्ष अघि देखेको सपना पुरा भएको उनले बताएका थिए । दुई दशकपछि जन्मस्थल पोखरा फर्किएका पुष्पराजले गाउँमा पर्यटन प्रवद्धनको बहानामा करोडौं मुल्य पर्ने सार्बजनिक जग्गा अतिक्रमण गरेपछि उनीविरुद्ध स्थानिय आक्रोशित बनेका हुन् । अख्तियारको पोखरास्थित कार्यालयमा मौखिक उजुरी गरेता पनि उनीमाथि कुनै कारवाही भएको छैन । कारबाही नभएपछि अख्तियारको केन्द्रिय कार्यालयमा उजुरी दिने तयारीमा बन उपभोक्ता समिति रहेको छ ।  
यस्तो छ रिर्सोट: चार तारे रुपाकोट रिर्सोटमा ४२ कोठा रहेका छन् । पोखरा उपत्यकासहित अन्नपूर्ण, माछापुच्छ्रे लगायतका हिमाल एवं लेखनाथका प्राय सबै ताल देखिने मनोरमस्थल रुपाकोट रिर्सोटबाट देखिन्छ । पोखरा विमानस्थलबाट २२ किलोमिटर पूर्वमा रहेको रिर्सोट रुपाकोटको डाँडामा छ । रिर्सोट २१२५ मिटरको उचाईमा रहेको छ । विशुद्ध ब्यबसायीक प्रयोजनका लागि निर्माण भएको उक्त रिर्सोटमा सामान्य नेपालीले एक रात विताउन करिब ३० हजार खर्चिनु पर्छ । रिर्सोटमा ४५ जना भन्दा बढीले रोजगारी पाएका छन् भने रिर्सोट प्रकृति, लक्जरी र हेरिटेजको फ्यूजन गरेर निर्माण भएको दाबी गरिएको छ । सन् २०१२ मा निर्माण थालिएको यो रिसोर्टको २ सय रोपनी जग्गाको  कम्पाउन्ड छ । रिसोर्टका आठ वटा भवन छन् भने जहाँ ८४ जना ग्राहक एक रातमा बस्न सक्ने क्षमता  छ । मुख्य भवन, पार्किङ, स्वीमिङ पुल, गार्डेन र दुई वटा हेलिप्याड समेत सञ्चालनमा छन् । पैसावाल र प्राकृतिक सुन्दरताका पारखीहरुलाई लक्षित गरेर निर्माण गरिएको रिर्सोटका सञ्चालक पुष्पराज भने सार्बजनिक जग्गा अतिक्रमण गरेर रातारात अर्बपति हुने लोभमा समेत फसेका छन् ।

Share on Twitter Share on Facebook