आईजीपी अर्यालसँग ‘ईगो’ साँध्दै गृहमन्त्री

काठमाडौं । नेपाल प्रहरीको बढुवा, सरुवा र मालदार ठाउँमा पठाउँदा कुनै सुनवाई नगर्ने तथा गृहमन्त्रीलाई नटर्ने प्रवृत्ति आईजीपी उपेन्द्रकान्त अर्यालले देखाएपछि गृहमन्त्री बामदेब गौतम पुरै प्रहरी संगठनमाथि खनिएका छन् । अर्यालसँग रकमको मोलमोलाई नमिल्ने तथा आईजीपी अर्यालले एकलौटी गरेकै कारण ‘ईगो’ साँध्न थालेका गृहमन्त्री गौतम पछिल्लो समय पक्राउ पूर्जी सशस्त्र प्रहरीले जारी गर्न पाउने अधिकार दिन तल्लिन देखिएपछि उनको षड्यन्त्र बाहिर आएको हो ।

यो षड्यन्त्रमा सशस्त्र प्रहरी बलका आईजीपी कोषराज वन्त गौतमका सारथी बनेका छन् । प्रहरीले स्थापना कालदेखि नै पाएको अधिकार कटौती गर्न गृहमन्त्री गौतम लागेपछि आईजीपी अर्यालको भने होसहवास गुमेको छ । यतिखेर, अर्याल कहिले राजनीतिक भेटमा ब्यस्त हुन्छन त, कहिले कुनै पनि हालतमा उक्त अधिकार दिन नहुने भन्दै पुरै संगठनका हाकिमहरु बोकेर व्रिफिङ गर्न गृहमन्त्रालय धाउन ब्यस्त छन् । ‘नेपाल प्रहरीको डीआईजीबाट एआईजी बढुवा प्रकरणमा होस या अन्य तल्लो दर्जाको सरुवा वा बढुवामा नै किन नहोस ? आईजीपी अर्यालले मनपरी गर्न नछाडेपछि आजित बनेका गृहमन्त्री गौतमले प्रहरीको अधिकार कटौती गरी बदला लिने सोच बनाएका हुन् ।’–गृह स्रोतले बतायो । त्यसपछि नेपाल प्रहरीले पाएको अधिकार सशस्त्र प्रहरीलाई दिन लागिएको नाटकमञ्चन गरी अर्याललाई ठेगान लगाउन गृहमन्त्री तल्लिन भएका हुन् । नेपाल प्रहरीले निभाउँदै आएको भूमिका सशस्त्रलाई दिएको खण्डमा क्षेत्राधिकारको विषयले दुई संगठनबीच चरम द्धन्द्ध बढ्ने तथा छानविन प्रक्रियामा मात्र नभई न्यायिक प्रणालीमा समेत प्रभावकारीता नआउने हुँदा सेवाग्राही थप मारमा पर्ने निश्चित छ । अर्कोथरि भने प्रहरीलाई एकाधिकार ‘पावर’ दिएको हुँदा मनपरी बढेकाले नियन्त्रण गर्न अन्य सुरक्षा निकायलाई पनि अधिकार दिँदा प्रतिस्पर्धा बढ्ने भएकाले काममा चुस्तदुरुस्त हुने विश्वास दिलाउँदै गृहमन्त्री गौतमलाई लविङ गर्न ब्यस्त छ । सशस्त्र प्रहरी बलका आईजीपी वन्तले पछिल्लो समयमा मर्यादा नाघेर पक्राउ पुर्जीको अधिकार हात पार्न लबिङमा जुट्नुमा पनि गृहमन्त्रीको ग्रिन सिग्नल रहेको थियो ।
यतिखेर नेपाल प्रहरी र सशस्त्र प्रहरीका आईजीपीद्धय आ–आफ्नो पक्षमा समाचार लेखाउन सञ्चारमाध्यामलाई दुरुपयोग गर्न सक्रिय छन् । आफूले कार्यरत सञ्चारमाध्यामले कुनैको पक्षमा समाचार लेख्दा जायज हुने र अर्कोले विरोधमा लेख्दा नाजायज हुने खालको विकृत्ति सञ्चारकर्मीमा देखिएको छ । सही र गलतको अर्थ नबुझी कलम चलाउने प्रवृत्ति पत्रकारीतामा दिनप्रतिदिन बढीरहेको छ । उता सशस्त्र प्रहरी नियमावलीमा संशोधन भई सशस्त्र प्रहरीले पक्राउ पुर्जी जारी गरे सरकारवादी मुद्दामा सरकारी पक्ष बलियो हुने भन्दै तर्क पेश गरेर प्रहरीको अधिकार खोस्न सशस्त्र प्रहरीका प्रमुख वन्त लागेका छन् । जुन कुनै पनि दृष्टिकोणबाट कानूनी, जायज र बैज्ञानिक नभएको सुरक्षावीद्हरुको तर्क छ । यद्यपी आईजीपी अर्यालसँग ‘ईगो’ साध्न गृहमन्त्री गौतमले सशस्त्र प्रहरीका प्रमुख वन्तलाई ‘ईन्टरटेन्ट’ गरेको स्रोत बताउँछ । गृहकै एक उच्च अधिकारी भन्छन्–‘एउटा सुरक्षा निकायले पाएको अधिकार अर्कोलाई दिँदा क्षेत्राधिकार विवादले सेवाग्राही थप मारमा पर्ने हुँदा सशस्त्रको लविङमा कुनै बैज्ञानिकपन र दम छैन ।’

Share on Twitter Share on Facebook