डन बब्लुको कनेक्सन टिबडेवालदेखि घैटेसम्म

काठमाडौं । जमीम साह हत्या काण्डमा संलग्न रहेका पूर्व डीएसपी जगदीश चन्दलाई महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखा टेकुको टोलीले पक्राउ गरेपछि प्रहरीको चौतर्फी प्रशंसा भयो । सञ्चारउद्यमी जमीम साहको राजधानीस्थित लाजिम्पाटमा २०६६ माघ २४ गते गोली हानी हत्या भएको थियो । प्रहरी उच्च अधिकारीसँग डीएसपी चन्दको उठबस रहेका कारण लामो समयदेखि उनलाई पक्राउ गर्न प्रहरीले सकेको थिएन । कहिले दिल्ली, लखनउ त कहिले राजधानीमै उनी लुकेर बस्दै आएका थिए । चन्द राष्ट्रिय अनुसन्धान विभागका बहालवाला एक एआईजीका नाताले ज्वाई पर्छन् । अण्डरवल्डका कुख्यात डन बब्लुश्री वास्तबको योजना मुताविक सञ्चारउद्यमी साहको हत्या भएको बताएपनि उनलाई नेपाल प्रहरीले अहिलेसम्म रेडकर्नर नोटिस जारी गरेको छैन ।

जमीम हत्यामा सहयोग गरेको अभियोगमा कारागारमा रहेका नेपाल प्रहरीकै सई प्रकाश क्षेत्री बब्बुसँगको फोन सम्पर्ककै आधारमा २०६६ माघ २९ गतेनै पक्राउ परेका थिए । तर, डीएसपी चन्दलाई भने पक्राउ गरिएको थिएन भने प्रहरीकै मिलेमतोमा भगाइएको थियो । जमीम हत्याको योजनासहित नेपालमा आएको भारतीय अण्डरवल्डका डन बब्लुश्रीका मुख्य सहयोगी बब्बुलाई सेल्टरको व्यवस्था गर्ने, उच्च प्रहरी अधिकारीहरु भेटाउने काम डीएसपी चन्दले नै गरेको प्रहरी अनुसन्धानबाट खुलेको थियो । भारतीय अपराधी बब्लुश्री वास्तबले ‘अधुरा ख्याव’ नामक पुस्तकमा मधेसी नेताहरुको धोती फुस्कीने गरि पोल खोली दिए । उक्त पुस्तकमा नेपालमा कुन–कुन नेता, प्रहरी, सञ्चारकर्मी, उद्योगी तथा ब्यबसायी बब्लुका सहयोगी हुन भन्ने कुरा खुलस्त पारिएको छ । तैपनि बब्लुको ‘अधुरा ख्याव’ नामक पुस्तकमा नाम अटाउन नसकेका दर्जनौं भ्रष्ट प्रहरी, नेता, तस्कर, गुण्डा र अबैध धन्दाका दर्जनौं खलपात्र नेपालमै उनका सहयोगी छन् । नेपालको अधिकांश हाईप्रोफाइल मर्डरमा भारतीय अपराधी बब्लुको हात भएको प्रहरी अनुसन्धानबाट पटकपटक खुलसा हुने गरेको छ । यद्यपी भारतीय जेल जीवन विताइरहेका भारतीय अपराधी बब्लुलाई रोक्ने र कारबाही गर्ने उपाय नेपाल प्रहरीले अहिलेसम्म भेट्टाएको छैन । 

बब्लुका अर्का नेपाल एजेन्ट हुन्–भारतीय नागरिक प्रकाश टिबडेवाल । जसलाई आमनेपाली सञ्चारमाध्यामले एलसी काण्डका नायकका रुपमा चिन्ने गरेका छन् । एलसी काण्डको करिब १२ करोड घोटला रकम तिर्न नसकेपछि जेल सजाँय भुक्तान गरी उनी एक बर्ष पहिले जेलबाट मुक्त भएका हुन् । तत्काल एलसी काण्डपछि फरार भएका टिबडेवाल पुन:नेपाल फर्केर दरबारमार्गस्थित याक एण्ड यतिको बाहिर निस्किनै ढोकाको बायाँतिर सिजल डान्स रेष्टुरेन्ट चलाउने गर्थे । त्यसैबेला उनी बब्लुलाई नेपालको सूचना दिने खास मान्छेका रुपमा गनिन्थे । दरबारमार्गमा डान्स रेष्टुरेन्ट चलाउने कारण नेपालका मै हुँ भन्ने साप्ताहिक र दैनिकक पत्रिकाका सम्पादक उनको हातमा हुनु अस्वभाविक थिएन । जुनसुकै सूचना सजिलै प्राप्त गर्न सक्थे । त्यसैका कारण उनी पक्राउ परेका थिएनन् । एकताका बब्लु भारतीय जेल छुटेर नेपाल आउने कुरा नेपालका डनहरुबीच फैलियो । त्यसैबेला बब्लुको नेपाल आश्रयको ब्यबस्थापन गर्ने जिम्मा टिबडेवालले लिएको र उनले दरबारमार्गमा डान्स रेष्टुरेन्ट चलाइरहेको समाचार प्रकाशित भयो । केही महिनापछि उनी पक्राउ पनि परे । दरबारमार्गमा डान्स रेष्टुरेन्ट चलाउँदै गर्दा तत्कालिन समयमा टिबडेवालले भनेका थिए–‘भारतीय जेलबाट छुटेर बब्लुश्री वास्तब नेपाल आउन चाहेको र स्थानिय सुरक्षाको जिम्मा कुमार श्रेष्ठ उर्फ ‘घैटे’ ले लिएबापत दुई लाख रुपैयाँ एड्भान्स मैले दिएको हुँ ।’
उक्त समाचार प्रकाशित भएपछि टिबडेवालले फोन गरेर धम्क्याएका थिए । एलसी काण्डमा दोषी ठहरिएका टिबडेवालसँगै आनन्द अग्रवाल पनि मुख्य दोषी हुन् । अग्रवाललाई भने अहिलेसम्म प्रहरीले खोजी र पक्राउ सूचीमा पर्न सकेका छैनन् । जबकी अदालतले मुख्य दोषी अग्रवाललाई समेत ठहराएको छ । उक्त एलसी काण्ड घोटला प्रकरण हुँदा प्रधानमन्त्री शेरबहादुर देउवा थिए । त्यतिबेला टिबडेवाल र अग्रवाललाई देउवा सरकारले नै संरक्षण दिएको आरोप लागेको थियो भन्दै मंगलबार प्रकाशित जनप्रहार साप्ताहिकले समाचार प्रकाशित गरेको छ ।

Share on Twitter Share on Facebook