‘०६४ सालको चुनाव गिरिजाबाबुले हारेको,मैले होइन्’

काठमाडौं । तीन दिनअघि संविधानसभा भवनको प्रधानमन्त्री कक्ष कोठामा काँग्रेस सभासद्हरुबीच मै जातियता र आफ्नै दलको विषयमा तातो बहस चल्यो । बहसकै क्रममा काँग्रेस महामन्त्री कृष्णप्रसाद सिटौलाले भने–‘निर्वाचित दलित सभासद्ले दलित, आदीबासीले जनजाती र महिला सभासद्ले महिलाका समस्याका बारेमा मात्र बोल्नु पर्छ ।’ महामन्त्री सिटौंलाको कुरा भर्इंमा झर्न नपाउँदै सभासद् धनराज गुरुङले भने–‘यो त जातीवादी कुरा भयो । म सहमत हुन सक्दिन । म त सबै समग्र नेपालीका लागि कुरा गर्छु ।’

महामन्त्री सिटौंलाको आसय भने जातियता रहेर कुरा गर्ने थिएन । संविधानसभामा जहाँ जहाँबाट प्रतिनिधित्व गरेको हो, त्यो बर्ग वा समूहको समस्या बारे सभासद्हरुले लविङ गर्नुपर्छ । यसैबीच कोइराला परिवारका किचेन क्याविनेट सदस्य सभासद् दिलबहादुर घर्तीले सिटौलातर्फ हेर्दै भने–‘सिटौंलाजी त्यसो हो भने अब दलित सभासद्ले दलित प्रधानमन्त्रीलाई मात्रै भोट हाल्नु पर्‍यो नि ? जनजातीले जनजाती र महिलाले महिला कै लागि ।’ बहस तातिदै गयो । यसैबीचमा नेता बलबहादुर केसीले जुरुक्क उठेर ट्रयाक बाहिर गएर भने–‘हामीले त लोकप्रिय भएर पो जितेका हौं । पार्टीले गर्दा हामीले जितेको होइन् ।’ त्यसो त उनी लोकप्रिय नै छन्–पर्खालमन्त्रीका रुपमा । केसीको ताल न तुलको कुरा सुनेपछि सभासद् गुरुङले पनि फेरि प्याच्च बोले । त्यसो भए ०६४ सालको संविधानसभा चुनाव किन हारेको त ? हार्दा चाहिं पार्टीले हार्ने अनि जित्दा ब्यक्तिले जित्ने भन्ने कुरा हुन्न ।’ गुरुङले आफ्नो कुरा राख्न नपाउँदै फेरि केसी भने–‘०६४ सालको संविधानसभाको चुनाव त तत्कालिन पार्टी सभापति गिरिजाप्रसाद कोइरालाले हारेको हो, हामीले हारेका होइनौं ।’
तातो बहस छेउमै बसेर सुनिरहेकी राष्ट्रपति डा.रामबरण यादवकी भतिजी किरण यादबले पनि आफ्नो तर्क केसीलाई समर्थन गर्दै राखिन् । ‘पार्टीकै कारण चुनाव जितिदैन । जित्नको लागि त्यक्ति नै लोकप्रिय हुनुपर्छ ।’–उनले भनिन् । ‘ब्यक्तिकै कारण जित्ने भए पार्टी किन चाहियो ? यतिका बर्ष यही पार्टीमा रगत, पसिना बगाएको हुँदा त्यस्तो भन्न मिल्दैन भन्दै सभासद् गुरुङले के भनेका थिए, सभासद् सरिता प्रसार्इं रन्केर भनिन–‘पार्टीबाट टिकट लिएर सभासद् बन्ने अनि पार्टी केही होइन भन्ने ? लु पार्टी बेगर जितेर देखाऔं त ? हामी पनि हेछौं ।’ सभासद् प्रसाईं रन्केको देखेपछि एकाएक सन्नाटा छायो । प्रसाईंको कडा चुनौतीलाई कसैले जवाफ फर्काएनन् । त्यसपछि संविधानसभाको प्रधानमन्त्री कक्ष एकाएक शान्त भयो ।

Share on Twitter Share on Facebook