नेपाली युवाको दिल्ली र काबुलको सडकमा बास

काठमाडौं । बैशाख १२ को महाभूकम्पपछि उत्पन्न अबस्थालाई मध्यनजर गरी युवाहरुलाई विदेशको मिठो सपना देखाएर मानब तस्करी गर्ने दलालहरु ठग्न तल्लिन हुन थालेका छन् । कास्की जिल्ला लेखनाथ–१ घर भएका विकास लामालगायत आधा दर्जन यूवाहरु दलालको चंगुलबाट उम्केर बल्लतल्ल नेपाल आएका छन् । भारतको दिल्लीमा सक्रिय दलाल रमेश पुनले बोलाएपछि विकासलगायत आधा दर्जन युवाहरु बैशाख २७ गते नेपालबाट दिल्लीको पटेलनगर हालिएका थिए । राजधानीमा नै सक्रिय उनको समूहका सदस्यले लामालाई बैशाख २७ गते नेपालबाट दिल्ली पटेलनगर जान भनेपछि उनीहरु त्यता गएका हुन् । त्यहाँ पुगेपछि सबै भन्दा पहिला मानब तस्करी गर्ने दलालहरुका नाईके रमेश पुनसँग विकासको भेट भयो । सुरुमै पैसा ल्याएको छ कि छैन ? भन्दै सोधे र पैसा ल्याएको छैन भनेपछि उनको समूहले बिकासलगायतलाई एक रेष्टुरेन्टमा राखेर विश्वास दिलाउन थाले ।

भावनामा बगेका विकासले पनि घरमा फोन गरेर पैसा पठाउन आग्रह गरे, त्यस्तै भयो पनि । विकासकी आमाले नेपालमै एसबीआई बैंकमा हेमाकुमारी पुनको नाममा तीन लाख रुपैयाँ डिपोजिट गरिन् । रमेश पुनको समूहले दर्जनौं युवालाई काबुलमा अलपत्र पारेको तथा सयौंलाई विभिन्न मुलुक पठाउँछु भन्दै रकम उठाएको दिल्लीस्थित दुतावासमा उजुरी परेको छ । दिल्लीको पहाडगञ्ज भन्ने ठाउँमा विकास जस्ता दर्जनौं यूवाहरु विदेश जाने पखाईमा बसिरहेका छन् । न उनीहरु विदेश जान पाएका छन्, नत आफ्नो पार्सपोर्ट र दिएको रकम नै फिर्ता । उनीहरुको समूहले नयाँ ब्यक्ति नै पिच्छे नयाँ–नयाँ होटलमा राख्ने गरेको लामाको अनुभव छ । पहिलो खाना, बस्न सबै फ्रि हुन्छ भनेका थिए । पछि होटलमा पुगेपछि होटलमा पैसा माग भयो । फ्रि भनेको होइन ? भन्दै दलाल पुनलाई फोन गर्दा तिमीले नै पैसा दिएपछि हामीले होटललाई दिने हो । अहिले तिमीले नै देऊ भने । त्यसपछि म आफैले पैसा तिरे भन्दै विकासले दु:खेसो पोखे । पुनको समूहमा सुविन भन्ने दिलबहादुर गुरुङ, हेमाकुमारी पुन, देव गौचन, ओमप्रसाद पुन, अंगत तामाङ, भरत अधिकारीलगायत रहेका छन् । उनीहरुको दिल्लीमा स्थानिय गुण्डा र प्रशासनसँग समेत राम्रो सम्बन्ध रहेको छ । उनीहरुलाई नै प्रयोग गरेर दलाल पुनको समूहले नेपालबाट विदेश जाने मिठो सपना बुनेर दिल्ली पुगेका यूवाहरु तर्साउने गरेको अधिकांश पीडितले बताए । उनीहरुको समूहले डेढ करोड भन्दा बढी रुपैयाँ युवाहरुबाट उठाईसकेको स्रोतको दावी छ । हेमा पुनको खातामा नेपालमा पैसा हाल्न लगाउने र भारतमा रमेश पुनले उनैको डेविट कार्ड प्रयोग गरेर पैसा निकाल्ने गरेका छन् । उनीहरुको ठग्ने जालो नेपालमा पनि बलियो छ । अहिलेसम्म कसैले पनि उनीहरुलाई पक्राउ गर्न सकेको छैन् । भारतस्थित नेपाली दुतावासमा उनीहरुका विरुद्ध दर्जनौं उजुरी परेता पनि दुतावासकै कर्मचारीलाई उनीहरुको समूहले थर्काउने गरेको छ । दलाल पुनको गिरोहले तुर्किस्थान, अफ्गानिस्थान, लवियाबाट ईटाली, फ्रान्ससम्म पुर्‍याउने भन्दै यूवाहरुबाट रकम उसुलीरहेको छ ।
पीडित बिकासलगायतलाई पनि यो समूहले तुर्किस्थान पठाउने भन्दै पैसा लिएको थियो । पुनको समूहका सुविन भन्नेले फ्रान्स पठाउने भन्दै महेन्द्रनगरका चार यूवालाई दिल्लीमा अलपत्र पारेका छन् । लमजुङ घर भएका २७ बर्षीय रबिन खड्का, काठमाडौंका वीरबहादुर गुरुङ पनि दिल्लीको अनेक मुकाम होटलमा अलपत्र परिरहेका छन् । अफ्गानिस्थानमा राम्रो कमाई हुने भन्दै उनीहरुले प्रतिब्यक्ति ७ लाख रुपैयाँको दरले उठाउने गरेका छन् । पासपोर्ट र रकम दिएको महिनौ वित्दा पनि उनीहरुको काबुल पुग्ने सपना साकार हुन सकेको छैन । म्याग्दी घर भएका रमेश पुनलाई भारतस्थित नेपाली दूतावासले पक्राउ गरेता पनि उनीमाथि थप कुनै अनुसन्धान भएको छैन । उनी ठगी गर्ने आफू नभई अरु नै भएको भन्दै पक्राउन सहयोग गर्ने कागज गरेर दुतावासबाट उम्केका थिए । पुनले पक्राउ गर्न सघाउँछु भनेको ब्यक्ति उनकै समूहका सुविन गुरुङ हुन् । जो उनकै साथमा २४ औं घण्टासँगै हुने गरेको पीडित बताउँछन् । अफ्गानिस्थानमा निजी सुरक्षा दस्तामा मासिक १ लाख रुपैयाँभन्दा बढी तलब हुने काम दिलाउने भनेर गाउँघरबाट थुप्रै यूवालाई दिल्लीमा अलपत्र पारिएको छ । लाहाचोक–४ हेम्जा, पोखराका ४५ वर्षीय कृष्ण (नरबहादुर) सुनार पनि हिजोआज दिल्लीका विभिन्न मुकाम र होटेलमा शरणार्थीझैं भौतारीरहेका छन् । उनीहरुको समूहले काबुल पठाएका अन्य एक दर्जनहरु पनि काबुलमा अलपत्र परेका छन् । यसरी अलपत्र पर्नेमा सुकबहादुर सुनार (धादिङ), इन्द्र गिरी (मोरङ), होमबहादुर कार्की (पर्वत), सुमेश थापा (देहरादुन) लगायत थुप्रै नेपाली रहेका छन् ।

Share on Twitter Share on Facebook