‘नेपाली सेना राज्यलाई भार मात्र’

काठमाडौं । नेपाली सेनाले मुलुकको रक्षा गर्न नसकेको भन्दै इतिहासमै पहिलोपटक सीमाविज्ञहरुले नेपाली सेनाको खुलेर आलोचना गरेका छन् । उनीहरुले मुलुकको रक्षा गर्न नसक्ने सेनाको विघटन हुनुपर्ने धारणा राखेपछि सेनाभित्र समेत हलचल भएको छ । गौरवमय विरताको इतिहास बोकेको नेपाली सेनाले मुलुकको रक्षा नगर्दा कालापानी, सुस्ता, लिपुलेक जस्ता बहुचर्चित नेपालीभूमि भारतीय सेनाको कब्जामा पुगेको सीमाविज्ञहरुको संकेत छ । विज्ञहरुले चीन र भारतले लिपुलेकलाई दुई देशको व्यापारिक नाका बनाउन गरेको सम्झौतामाथि नेपाली सेनाले भूमिका खेल्न नसकेको बताउँदै विघटन गर्नु पर्ने धारणा ब्यक्त गरेका हुन् ।

विज्ञहरुले बोल्दै लामो समयदेखि नेपालको सीमाहरु मिचिदै आएको र राष्ट्रियमाथि पटकपटक हस्तक्षेप हुँदा समेत नेपाली सेनाले कुनै पनि खालको भूमिका नखेलेको उनीहरुले आरोप छ । राजधानीमा आयोजित एक कार्यक्रममा चर्चित सीमाविज्ञ बुद्धि नारायण श्रेष्ठ, फणिन्द्र नेपाल, हिरण्यलाल श्रेष्ठ, धर्मेन्द्र बास्तोला, प्रेमबहादुर खातीलगायतका वक्ताले आफ्नो धारणा राखेका थिए । विशाल नेपालका अभियन्ता तथा सीमाविज्ञ फणिन्द्र नेपालले चीन र भारतले लिपुलेकलाई आफ्नो ब्यापारिक नाका बनाउन गरेको निर्णयमा नेपाली सेना मौन बस्नुलाई आश्चर्य प्रकट गरे । नेपालले भने–‘भारत र चीनले जर्वजस्ती नेपालीभूमिलाई त्रिदेशीय विन्दु भन्दै नेपालको सहमति र सहभागिता विना नै गरेको सम्झौता अवैध हो । लिपुलेक कुनै त्रिदेशीय वन्दु नभएको र यसलाई नेपालले कुनै पनि हालतमा मान्यता दिन हुन्न ।’ भारतको सीमा जोगाउन नेपालीहरु गोर्खाली सेना बनेर कारगिल र कास्मिरमा ज्यान फालेर लडिरहेका छन् तर भारत चाहिँ नेपालको भूमि अतिक्रमण गर्न उद्यत रहेको कुरा कदापी सह्य नहुने विशाल नेपालका अभियन्ता नेपालले बताए । उनले अब नेपाल सरकारले गोर्खा भर्ती केन्द्रहरु समेत सबै बन्द गर्नुपर्ने माग राखे । भारतले नेपालको दार्चुलाको उत्तरी भूगोलको धेरै भाग राखेर आफ्नो नक्सा बनाएकोप्रति समेत सरकार र सेना सजक नभएको दावी गरे । लिपुलेक वरिपरिका कुटी, नाभी, गुन्जीलगायतका सबै नेपाली भूभागलाई भारतले आफ्नो नक्सामा राखेको छ । जबकी भारतले भन्दै आएको त्रिदेशीय विन्दु लिपुलेक ५४ किलोमिटर उता लिम्पियाधुरामा पर्छ । विशाल नेपालका अभियन्ता नेपालले अब सम्पूर्ण नेपालीले महाकाली मात्र नभई सतलजको आवाज उठाउनु पर्ने, कालापानी मात्र नभई नालापानी, मेची मात्र नभई टिस्टासम्मको नेपालीभूमि माथिको अतिक्रमण बारे आवाज उठाउनु पर्ने बताए । कुनै पनि मुलुकको सीमा विना संविधानको निर्धारण कसरी हुन्छ ? नेपालको सिमाना संविधानमा नै स्पष्ट उल्लेख हुनु पर्ने उनको माग थियो ।
के–के बोले सीमाविज्ञले ?
नेकपा माओवादीका स्थायी समिति सदस्य धर्मेन्द्र बास्तोलाले भारत आफ्नो सेना कालापानीबाट हटाउनुको सट्टा अहिले चीनसँग मिलेर नेपालको थप भूमि हडप्न सक्रिय भएको बताए । तर उसको मनसाय देशभक्त नेपालीले पुरा हुन नदिने समेत जिकिर गरे । नेपालका मामिलामा चर्चित सीमाविज्ञ बुद्धिनारायण श्रेष्ठले लिपुलेक नेपालको हो भन्ने प्रशस्त प्रमाणहरु रहेको थाहा हुँदाहुँदै नेपालका नेताहरुले जे पायो त्यही बोल्दै हिँडेकोप्रति आक्रोश पोखे । लिम्पियाधुरा बाहेक अन्य कुनै पनि ठाउँलाई त्रिदेशीय विन्दु भन्न नमिल्ने श्रेष्ठको धाराणा थियो । ‘यदि कसैले जनआवज सन्दैन भने लडाई लडेर भएपनि नेपालीभूमि फिर्ता ल्याउनु पर्छ । नत्र नेपाली सेनालाई सीमानाको रक्षा गर्ने अधिकार दिनुपर्छ ।’–अर्का सीमाविद् हिरण्यलाल श्रेष्ठ भने, ‘कांग्रेस नेता शेरबहादुर देउवाले लिपुलेकलाई त्रिदेशीय विन्दु कुन आधारमा बोले ? त्रिदेशीय विन्दु लिपुलेक नभई विशुद्ध नेपाली भूभाग हो ।’ सीमाविद् चेतेन्द्रजंग हिमालीले नेपालको भविष्य जोखिम र संवेदनशील रहेको यस दु:खत घडीमा राष्ट्रवादी शक्ति एक हुनुको विकल्प नभएको बताए । साथै खसान राष्ट्रिय संघर्ष समितिका सहअध्यक्ष प्रेमबहादुर खातिले कालापानीबाट भारतीय सेना नहटाए विर गोर्खाली कुमाउ गडवालसम्म पुग्न बाध्य हुने चेतावनी दिए । साथै भारतमा गोर्खाली सेनाका रुपमा कार्यरत सम्पूर्ण नेपालीलाई समेत परेको बखत भारतको विरुद्धमा उभिन आब्हान गरे ।
के गर्दै छ नेपाली सेना ?
झण्डै एक लाखको हाराहारीमा रहेको नेपाली सेनाको इतिहास विशाल नेपालको जति छ, त्यति नै लामो र विशाल छ । नेपाली सेनाका संस्थापक हुन्–आधुनिक नेपालका निर्माता पृथ्वीनारायण शाह । तिनै आधुनिक नेपालका निर्मातालाई नेपाली मात्र होइन, नेपाली सेनाले समेत विर्सिएको छ । गणतन्त्रका नाममा भारतीय डिजाईनमा सञ्चालित लेण्डुप दोर्जेहरुले राष्ट्रिय एकता दिवश नै मनाउन छाडेका छन् । त्यसमा नेपाली सेनाले आपत्ति समेत नजनाएर लाचरी प्रस्तुत गरेको छ । नेपाली सेना राजनीतिको चरम घेरावन्दीमा फस्दै गएको छ । जसका कारण मुलुकलाई दुरगामी प्रभाव पार्ने संवेदनशिल र महत्वपूर्ण विषयमा समेत नेपाली सेनाले अडान राख्न छाडेको छ । नेपाली राजतीतिकज्ञले बाटो बिराउँदा समेत सजक गराउनु पर्ने नेपाली सेना आफ्नो कर्तव्यबाट विमुख बन्दै गएको अवश्य पनि हो । भारतीय लालनपोषणमा हुर्किएका नेपालका नेता भनाउँदा लेण्डुप दोर्जेहरुका कारण सदियौंदेखि स्वतन्त्र मुलुक नेपालको राष्ट्रिय एकता दिवस नै कुन तिथिमितिमा मनाउने हो ? नेपाली जनतालाई अहिलेसम्म अतोपतो छैन । दुई सय बर्ष पुरानो इतिहास बोकेको नेपाली सेना र नेपालको इतिहास धुलोमा मेटिन लाग्दा समेत सेना रमिते सिवाय केही बन्न सकेको छैन । यतिखेर आमनेपालीले आफ्नो काम कर्तव्य नै भूलेको महसुस गर्न थालेका छन् । हिजोआज नेपाली सेना मुलुकको रक्षा गर्न भन्दा पनि व्यापार–व्यवसायतिर आकर्षित भएको छ । के नेपाली सेनाको काम ठेकेदारी गर्ने हो ? कि मुलुकलाई जोगाउने हो ? नयाँ संविधानमा नेपाली सेनाको भूमिका स्पष्ट रुपमा उल्लेख हुनुपर्ने आवाज उठ्न थालेको छ । नेपाल जस्तो मुलुकका लागि नत्र झण्डै एक लाखको संख्यामा रहेको नेपाली सेना राज्यलाई भार सिवाय केही हुन सक्दैन । नेपाली सेनाको प्रमुख काम नै मुलुकको रक्षा गर्ने हो । त्यसैगरी, सीमा सुरक्षाको लागि गठन भएको सशस्त्र प्रहरी बल समेत कमाउ धन्दामा लागेको छ । दिनदाहाडै मुलुकको सीमास्तम्भ हराएका छन्, सारिएका छन् । तर रक्षा गर्न बसेको सशस्त्र प्रहरी मुलुकभित्र नै अन्य मुलुकका सुरक्षाकर्मी छिरेर कुटपिट गर्दा समेत मुकदर्शक बनेर बस्छ । त्यस्ता प्रहरी र नेपाली सेनाको कुनै महत्व नभएको आम नेपालीले समेत महसुुस गर्न थालेका छन् ।

Share on Twitter Share on Facebook