परिषद्का सदस्य सचिव फाल्न मन्त्री केसीको षड्यन्त्र

काठमाडौं । महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयकी मन्त्री निलम केसी (खड्का) ले समाज कल्याण ऐन विपरित आफै अवैध बैठक बोलाई परिषद्का सदस्य सचिव रविन्द्रकुमारलाई हटाउने षड्यन्त्र रचेकी छन् । परिषद्की अध्यक्ष समेत रहेकी मन्त्री केसीले २४ गते राती बैठक डाँकेर अवैध बैठकमार्फत सदस्य सचिव रविन्द्रकुमारलाई स्पष्टीकरण सोध्ने निर्णय गराएकी छिन् । अहिलेसम्म विवादमा नपरेका सदस्य सचिव रविन्द्रकुमारलाई भने बैठकमा बोलाइएको थिएन् । बैठकको समय ५.१५ बजे तोकिएको भएता पनि ७ बजेपछि मात्र बसेको थियो ।

समाज कल्याण ऐनले परिषद्मा कुनै पनि प्रकारको बैठक बोलाउने अधिकार परिषद्की अध्यक्ष तथा मन्त्री केसीलाई दिएको छैन । ऐनमा समाज कल्याण परिषद्को अध्यक्षसँग स्वीकृति लिई सदस्य सचिवले बैठक बोलाउने प्रावधान छ । समाज कल्याण ऐनको दफा ८ को १ मा परिषद्को अध्यक्ष (मन्त्री) ले तोकेको मिति, समय र स्थानमा कम्तीमा बर्षको दुई पटक बैठक बोलाउनु पर्ने उल्लेख छ । सोही दफाको ५ मा परिषद्को निर्णय सदस्य सचिवद्धारा प्रमाणित गर्ने प्रावधान छ । तर मन्त्री केसीले समाज कल्याण ऐनको कुन धारा, दफा टेकेर उक्त ढोके बैठक डाँकिन ? भन्दै परिषद्का कर्मचारीहरु आश्चर्यमा परेका छन् । त्यसैगरी, समाज कल्याण नियमावलीको नियम ७ को १ बमोजिम सदस्य सचिवको काम, कर्तब्य र अधिकारभित्र अध्यक्षको स्वीकृत लिई परिषद् र समितिको बैठक बोलाउन सकिने प्रावधान छ । तर मन्त्री केसीले त्यसो नगरी विभिन्न मन्त्रालयका प्रतिनिधिहरुको उपस्थितिमा राती ७ बजे अवैध तरिकाबाट मन्त्रालयमा बैठक बोलाई सदस्य सचिवलाई स्पष्टीकरण सोध्ने निर्णय गरेकी छन् । उक्त बैठकमा अर्थ, गृह, स्वास्थ्य, शिक्षा र महिला मन्त्रालयका प्रतिनिधि र समाज कल्याण परिषद्मा मन्त्रीको निगाहमा नियुक्त भएका बोर्ड सदस्यहरुको उपस्थिति थियो । आफू अनुकूल सदस्यहरुलाई बोलाई मन्त्री केसीले बदनियतपूर्वक तरिकाबाट सदस्य सचिवलाई हटाउने षड्यन्त्र गरेको भन्दै समाज कल्याण परिषद्मा कार्यरत कर्मचारीहरुले आक्रोश पोखेका छन् ।

स्रोतका अनुसार समाज कल्याण परिषद्मा रहेका अन्य सदस्यहरुलाई बैठक बारे कुनै सूचना दिइएको थिएन् । समाज कल्याणमा कार्यरत कर्मचारीहरुका अनुसार जुन सूचनाको हक सम्वन्धित स्थापित ऐन विपरित डाँकिएको गैरकानुनी बैठक हो । साथै सदस्य सचिव रविन्द्रकुमारलाई हटाएर आफू अनुकुल काम गर्ने राजनीतिक कार्यकर्ता परिषद्मा नियुक्त गर्न मन्त्री केसीले चलखेल गरिरहेकी छन् । मोटो रकम तिर्न सक्ने राजनीतिक कार्यकर्ता तयार भएपछि मात्र मन्त्री केसीले सदस्य सचिव हटाउने षड्यन्त्र गरेकी हुन् । गत २४ गते ७ बजे राती मन्त्रालयमा बसेको बैठक र स्पष्टिकरण सोध्ने गरिएको निर्णय सम्वन्धमा जानकारी लिन परिषद्का सदस्य सचिव रबिन्द्रकुमारसँग सम्पर्क गर्दा उनले भने–‘२४ गते राती बैठक बसेको सम्वन्धमा मलाई कुनै जानकारी छैन । समाज कल्याण परिषद्को मान्यूट त मैसँग छ, बैठक कसरी बस्यो ? कुन प्रयोजनका लागि बस्यो ? म अचम्मित भएको छु ।’ मन्त्री निलम केसीले समाज कल्याण परिषद्को स्थापित मुल्य र मान्यता विपरित मन्त्रालयको लेटरप्याट दुरुपयोग गर्दै आफै बैठक डाँकेपछि उनी र सदस्य सचिवबीच दुरी बढेको स्पष्ट भएको छ । उक्त बैठकमा उनले परिषद्मा नियुक्त गरेका सदस्यहरु मध्ये निलमणि बराल, राकेश हमाल र लक्ष्मी कोइरालको पनि मन्त्रालयको बैठकमा उपस्थिति थिए भने उनले आफ्नो पार्टी निकटका ७ जना सदस्य परिषद्मा नियुक्त गरेकी छन् ।

Share on Twitter Share on Facebook