किर्ते नागरिकताधारी अमेरिकी दूतावासको कर्मचारी ?

काठमाडौं । अमेरिकन दूतावासमा कार्यरत भारतीय नागरिक उमा घोष उर्फ कर्णको दुई वटा नेपाली किर्ते नागरिकता भएको रहस्य खुलेको छ । उमाले किर्ते नागरिकता लिएको र नेपाली नागरिकता किर्ते गरी लिएकै भरमा कसरी दूतावासको सुरक्षा हुन सक्छ ? भन्दै उनकैविरुद्ध दूतावासमा उजुरी परेपछि यो रहस्य बाहिर आएको थियो । त्यसपछि उमालाई दूतावासले दुई महिनासम्म निलम्बन गरेको थियो । सन् २००३ मा दूतावासको सबैभन्दा तल्लोस्तरको कर्मचारी सुरक्षा गार्डका रुपमा प्रवेश गरेकी उमालाई सुरक्षागार्ड तालिम दिने गुरुबा भने अहिले उमाकै मातहत छन् । उमा जागिर खाएको केही बर्षमा नै एकैपल्ट नबौं तहमा पुगेपछि दूतावासमा कार्यरत कर्मचारी तीनछक भएका हुन् ।

अमेरिकी दूतावासको सुरक्षा जिम्मेवारी लिएका नेपाल प्रहरी र सेनाबाट आएका राम्रा कर्मचारीलाई निकाल्दै उनलाई नबौं तहमा पुर्‍याइएपछि त्यहाँका कर्मचारीहरु नै अचम्मित भएका छन् । २०४९ सालमा काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट नक्कली बाबु रामप्रसाद शाहीको छोरी बनेर किर्ते नागरिकता लिने उमाका विरुद्ध दूतावासकै कर्मचारीले किर्ते नागरिकताविरुद्ध मुद्दा हाल्ने तयारी गरेका छन् । उनले किर्ते गरी जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट लिएको नागरिकताको नम्बर १८०३४ रहेको छ । उनी का.म.न.पा. वडा नम्बर ३ रानीबारी सुकुम्बासी टोलमा बसोबास गर्दै आएकी छन् ।
उनका बाबु भारतीय नागरिक कर्मचन्द्र घोष उनकी आमा र उनलाई नाबालक अबस्थामै छाडेर २०४० सालमा भारत गएका थिए । तर उमाले जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट २०४९ सालमा नागरिकता लिन सफल भइन् ।

उनको नाममा काठमाडौंको चपलीस्थित कित्ता नम्बर ९११ र १९०८ को ६ आना दुई पैसा जग्गा समेत रहेको छ । रामप्रसाद शाही को हुन र उनले शाहीलाई बाबु बनाएर उनको नामबाट नागरिकता किन लिइन ? सो समेत छानविन हुन जरुरी देखिएको छ । उमाले काठमाडौंबाट मात्र नागरिकता लिइनन्, बरु रुपन्देही जिल्ला प्रशासन कार्यालयबाट पनि अर्को किर्ते नागरिकता लिन सफल भएकी छन् । उनले श्रीमान राजीवको नामबाट नागरिकता लिँदा नागरिकतामा उनको थर उमा कर्ण भएको स्रोतले बतायो । उमाले चलाउँदै आएको फेसबुकमा समेत उमा कर्ण अर्थात पतिको थर उल्लेख छ । नेपालको प्रचलित कानूनविपरित उमाले काल्पनिक बाबु रामप्रसाद शाही खडा गरेर बंशजका आधारमा नागरिकता लिन सफल मात्र भएकी छैनन्, उनले पतिको नामबाट पनि नागरिकता लिएको हुँदा उनलाई नागरिकता किर्ते ऐन अन्तर्गत हदैसम्मको कारवाही गरिपाउँ भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा सोमबार उजुरी परेको छ । प्रशासनमा उजुरी का.म.न.पा. वडा नम्बर १० बस्ने अमिय रञ्जनले गरेका हुन् । सोमबार दर्ता भएको उजुरीको दर्ता नम्बर ५३३ रहेको छ । उनले छानविनका लागि महानगरीय प्रहरी परिसर काठमाडौंमा समेत उजुरी दर्ता गराएका छन् । हाल अमेरिकी दूतावासमा सेक्यूरिटी गार्डको ईन्चार्ज रहेकी उमालाई दुतावासले ७२ दिनसम्म निलम्बन गरी पछि किन पुन: बहाली गर्‍यो ? खोजीको विषय बनेको छ भन्दै जनप्रहार साप्ताहिकमा प्रकाशित भएको छ । 

Share on Twitter Share on Facebook