महामन्त्री सिटौंला र गगनबीच चुनाबी तालमेल बन्दै

काठमाडौं । स्वच्छ र पारदर्शी नेतृत्वका लागि ‘सयौ हात’ अभियानमार्फत नेपाली काँग्रेसको १३ औं महाघिवेशनमा ‘गो फण्ड मी’ नामक वेवसाइटबाट सहयोगको याचना गरिरहेका उपसभापति रामचन्द्र पौडेललाई अहिलेसम्म २६ जनाले २ हजार ३ पाउण्ड डलर सहयोग गरिसकेका छन् । आफूलाई सु–शासन र पारदर्शीको मसिया मान्ने पौडेलले आफू भ्रष्टाचारी नभएकै कारण यसअघिको संविधानसभामा काँग्रेसले बहुमत हासिल गरेको जस्तो कुप्रचार गरिरहेका छन् । पटक–पटक पदमा रहँदा आफ्नो कार्यकर्ता मनाउन र आफ्ना कोही बनाउन नसकेका पौडेल आगामी महाधिवेशनका लागि सबैभन्दा कमजोर प्रतिस्पर्धीका रुपमा देखिएका छन् ।

यस कारण पौडेल कमजोर उम्मेदवार:

  • पौडेलले अहिलेसम्म भ्रष्टाचार नगरेको भएतापनि मुलुक र जनताको मन जित्ने कुनै पनि काम गर्न नसकेका कारण उनलाई बलियो दाबेदार मान्न नसकिएको काँग्रेसजनको भनाई छ । त्यतिमात्र नभई ‘गो फण्ड मी’ नामक वेवसाइटमार्फत चुनाबी खर्चको याचना गरेका कारण पनि उनको आर्थिक हैसियत छैन् । र, नेपालमा आर्थिक हैसियत नभएका ब्यक्तिले चुनाब हारेको मात्र विगत छ । 
  • आफू अनन्तकालसम्म सत्तामा बसेर पनि कार्यकर्ता रिझाउन र आफ्नो मान्छे बनाउन नसक्नु नै पौडेलको सबैभन्दा ठूलो कमजोरी हो ।
  •  कार्यवाहक सभापति पौडेलले सुशील कोइरालाको निधन हुने वित्तिकै जुन कुर्सी मोह देखाए, त्यसले पनि उनलाई कमजोर पात्रका रुपमा सावित गरेको छ भने उनको कुर्सी मोह छताछुल्ल भएको छ । कोइरालाको निधन अगावै उनले सभापतिमा उम्मेदवार हुने सार्वजनिक घोषणा गरेपनि निधनसँगै बदलिएको पछिल्लो समिकरणका कारण उनी निकै कमजोर सावित भएका हुन् । पौडेललाई कोइरालाले अन्तिम समयमा आफूलाई सघाउने जुन विश्वास थियो, त्यसको अवसान भइसकेको छ । 
  •  लामो राजनीतिक इतिहास, तुलनात्मक स्वच्छ छविका पौडेल राजनीतिक अडान राख्न नसक्ने र संगठनमा पनि कमजोर मानिन्छन् । सानो घेरामा रमाउने स्वभाव भएका कारण पौडेल आफ्नै गृह जिल्लामा समेत सर्वसम्मत हुने क्षमता राख्दैनन् ।
  • पौडेलले सभामुख र पटक–पटक मन्त्री र उपप्रधानमन्त्री भएर महत्वपूर्ण जिम्मेवारी लिए । तर, उक्त जिम्मेवारीमा रहँदा पौडेलले कुनै विशेष छाप काँग्रेसजन र जनतामा छाड्न सकेनन् । कुनै पनि दलको बहुमत नरहेको र संविधान कार्यान्वयन गर्न लचक बनेर सहमति, सहकार्य र एकताका साथ अगाडि बढ्नु पर्ने चुनौतीका बीच पौडेल उपयोगी हुन नसक्ने राजनीतिक विश्लेषकहरुले गर्न थालेका छन् । 

उता सभापतिका अर्का आकांक्षी प्रकाशमान सिंह भने तुलनात्मक रुपमा उपसभापति पौडेल भन्दा बलिया देखिन्छन् । नेतृत्वका लागि हुनुपर्ने विशेष गुण र क्षमता नभएका सिंह गणेशमान सिंहको छोरा भएकै कारण मात्र अहिलेको हैसियतमा पुगेका हुन् । कांग्रेस विभाजित हुँदा देउवाको प्रजातान्त्रिक कांग्रेसमा गएका सिंह अवसरका लागि मात्रै संस्थापन पक्षमा आएका थिए । सिंह संस्थापन पक्षमा आउँदा उनको पछि लागेर कोही पनि नआउनुले पनि सिंहको हैसियत प्रष्ट हुन्छ ।
संस्थापनको नेतृत्व लिने मोडमा सिटौंला:
सभापतिका अर्का आकांक्षी कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौला भने कुनै राजनीतिक विरासतमा अगाडि बढेका पात्र होइनन् । एमाओवादीलाई शान्ति प्रक्रियामा ल्याउन, संविधानसभा निर्वाचन गराउन र गणतन्त्र घोषणा गराउन सिटौंलाले गिरिजाप्रसाद कोइरालाको सारथी भएर सफल भूमिका निर्वाह गरेका थिए । लोकतन्त्र वहालीपछिको संवेदनशील संक्रमणकालीन अवस्थामा गृहमन्त्री रहँदा माओवादी र दरबारको सन्तुल कायम राखी मुलुकलाई द्वन्द्वमा जानबाट रोक्ने सिटौला आफ्नै योग्यता र क्षमताले अगाडि बढेका पात्र हुन् । १२ बुँदे दिल्ली समझदारीदेखि हालसम्म हरेक राजनीतिक घटनाक्रममा सिटौलाको निर्णायक भूमिका रहँदै आएको छ । संविधान जारी गर्ने बेलामा पनि बाह्य हस्तक्षेपलाई चुनौती दिंदै तत्कालिन पार्टी सभापति तथा प्रधानमन्त्री सुशील कोइरालालाई भरपर्दो साथ समर्थन दिने सिटौंला नै थिए । सिटौंलाको योग्यता र क्षमता थाहा पाएर नै गिरिजाप्रसाद र सुशीलले महत्वपूर्ण भूमिका दिएका थिए । आफूले पाएका हरेक जिम्मेवारी सिटौंलाले कुशलतापूर्वक निर्वाह गर्दै आए । विचारमा प्रष्ट, व्यवहारमा स्वच्छ, मृर्दुभाषी सिटौंला संस्थापन पक्षको वैचारिक नेतृत्व लामो समयदेखि आफैले गर्दै आएकाले १३ औं महाधिवेशनमा नेतृत्व दावी गर्ने घोषणा नगरिसके पनि छिट्टै गर्ने मुडमा छन् । अन्य राजनीतिक दलमा समेत सिटौंला समन्वयकारी, विश्वाशिलो र तर्कपूर्ण मानिन्छन् । सोही कारण पनि विगत १० वर्षयता सिटौला सहभागी नभएको सर्वदलीय बैठक सायदै भएका होला । राजनीतिक सहमतिका दस्तावेज लिपिबद्ध गर्ने विषयमा पनि सिटौंलाकै कला प्रयोग हुँदै आएको छ । संस्थापन पक्षबाट पौडेललाई उम्मेदवारी बनाउने संभावना कम देखिनु र महामन्त्रीको समेत पार्टीमा बलियो पकड नहुँदा आगामी निर्वाचनमा पार्टीका युवा पुस्ताले महामन्त्री सिटौंलालाई नै सहयोग र समर्थन गर्ने रणनीति बुन्न थालेका छन् ।
नेतृ सुजाता कोइराला पनि सभापतिमा आकांक्षी हुन् । नेतृ सुजातालाई वंश राजनीतिको उत्तराधिकारीका रुपमा आमकांग्रेस कार्यकर्ताले हेरेका छैनन् । तर उनको आर्थिक हैसियतका कारण बलियो पकड रहेका कारण संस्थापन पक्षबाट जसले टिकट पाएपनि नेतृ सुजतासँग सजक रहनु पर्ने देखिन्छ । त्यसो त, उनले पनि प्रकाशमान सिंहले झै मनोनीत उपसभापति वा महामन्त्री पद सुरक्षित गर्नका लागि मात्रै सभापतिको दावी गरिरहेको बुझिएको छ । कोइराला परिवार भित्रकै शेखर र सशांक समेत महामन्त्री सिटौंलाको लाइनमा उभिने संभावना बढेको छ । महाधिवेशनको नजिकिँदो मितिसँगै कांग्रेस नेतृत्व कसले लेला भन्ने तीव्र बहस र कौतुहलता जागेको छ । उता देउवा पक्षबाट शेरबहादुर देउवा बाहेक अन्य नेताले नेतृत्व दावी गरेका छैनन् । त्यसैले देउवा गुटको एउटै मात्र नेतृत्वको बलियो दाबेदार उनीमात्र हुन् । अन्तत: पूर्व प्रधानमन्त्री तथा प्रभावशाली नेता शेरबहादुर देउवा र महामन्त्री सिटौंलाबीच सभापतिका लागि प्रतिस्पर्धा हुने संभावना बढेको छ । देउवा पक्षबाट महामन्त्रीमा अर्जुननरसिंह केसीलाई महामन्त्रीमा उठाउने चर्चासँगै देउवा गुटमा चरम असन्तुष्टि छाएको छ । स्रोतका अनुसार महामन्त्रीका लागि बलिया उम्मेदवार नेता विमलेन्द्र निधि र पूर्णबहादुर खड्का देउवाको केसीलाई महामन्त्रीमा उठाउने प्रस्तावले भित्रभित्रै आक्रोशित बनेका छन् । केसीलाई महामन्त्रीमा उठाइएको खण्डमा खड्का संस्थापन पक्षमा भित्रने चर्चा चुलिएको छ ।
संस्थापनभित्रैबाट नयाँ गुटको जन्म:
कुनै पनि पदमा एक पटक भन्दा बढी नबसेका नेपाली काँग्रेसका महामन्त्री सिटौंला आगामी महाधिवेशनमा युवा नेताहरुको नेतृत्व गर्ने सोचमा छन् । युवा नेताहरुसँग तीब्र छलफल र भेटघाटमा रहेका सिटौंलालाई संस्थापनमा रहेका युवा नेताहरुले साथ दिएका खण्डमा उनलाई सभापति बन्नबाट कसैले रोक्न सक्दैन । सिटौंलाले नेतृत्व गर्ने गुट नै संस्थापनको आधाकारिक गुट हुने विश्वास लिइएको छ । सिटौंला यतिखेर जिल्ला भ्रमण र आफ्नो मान्छे उम्मेदवार बनाउनु भन्दा पनि महाधिवेशन प्रतिनिधि, जिल्ला सभापतिलगायतलाई नियमित फोन सम्पर्क गरेर बधाई दिन र सम्पर्क बढाउनमा ब्यस्त छन् । सिटौंलाको रणनीति नयाँ पुस्ताको नेतृत्व गर्दै संस्थापनबाट पार्टी सभापति बन्नु रहेको छ । सिटौंलाको गुटलाई नेपाली काँग्रेसका चर्चित युवा नेता गगनकुमार थापा, गुरुराज घिमिरे, प्रदिप पौडेल, धनराज गुरुङ, कल्याण गुरुङलगायतले साथ दिने संभावना बढेको छ । संभवत: युवा पुस्ता नेताहरुको सिटौंलासँग सहमति र सहकार्य भएको खण्डमा रामशरण महत पनि अटाउने छन् । चर्चिच युवा नेता थापाले पनि युवाको नेतृत्व गर्दै आगामी महाधिवेशनमा महामन्त्रीमा आफ्नो उम्मेदवारी दिने घोषणा गरिसकेका कारण सिटौंला र गगनको तालमेल हुने संभावना अधिक छ । थापाको महामन्त्रीमा उम्मेदवारी दिने घोषणासँगै प्रभावशाली नेता देउवा र काँग्रेसको संस्थापन पक्षबाट महामन्त्रीमा उम्मेदवारी दिन्छु भन्नेको मुटु हल्लीसकेको छ । किनकी थापा काँग्रेसमा युवा पुस्ताको ढुकढुकी हुन् भने महामन्त्रीका लागि युवाको तर्फबाट बलियो प्रतिस्पर्धी पनि । यसअघिको महाधिवेशनमा थापाले सर्वाधिक लोकप्रिय मत पाएर केन्द्रीय सदस्यमा विजयी भएका थिए । जनप्रहार साप्ताहिकबाट

Share on Twitter Share on Facebook