भागबण्डाको मनोविज्ञान यो महाधिवेशनबाट समाप्त पार्नुपर्छ : नेता चित्रकार

नेपाली काँग्रेसको १३ औं महाधिवेशन आउन केहिदिन मात्र बाँकी छ । मुलुकमा सबै क्षेत्र चुनाबीमय भएको छ । काँग्रेसको १३ औं महाधिवेशनमा युवाको भूमिका ५० प्रतिशत भन्दा माथि हुनु पर्ने आवाज पनि बाहिर आएको छ । काँग्रेसभित्र जुन ४० र ६० को भागवण्डा छ, त्यो तोड्नकै लागि भएपनि युवा नेतृत्व तहमा आउनुपर्ने आम महाधिवेशन प्रतिनिधिहरुको धारणा छ । महाधिवेशनको सेरोफेरोमा नेपाल विद्यार्थी संघका भूपपूर्व केन्द्रीय उपाध्यक्ष तथा पूर्व सभासद् युवा नेता रामकृष्ण चित्रकारसँग गरिएको कुराकानीका केहि अंश: 

  • नेपाली काँग्रेसको १३ औं महाधिवेशनमा युवाको प्रतिनिधित्व गर्दै तपाईले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेको कुरा के सत्य हो ? यहाँको चुनाबी एजेण्डा के–के छन् ?

विलकुलै ठिक हो । मुख्यतय: १३ औं महाधिवेशन नेपाली काँग्रेसका कार्यकर्ताको लागि मात्र होइन, सिंगो मुलुककै लागि अत्यन्त महत्वपूर्ण ईभेन्टका रुपमा आउँदैछ । आम नेपाली जनताले यो महाधिवेशनबाट के लिने ? र, मुलुकलाई दिशानिर्देश गर्न नेपाली काँग्रेसले कसरी नेतृत्वदायी भूमिका निर्भाह गर्ला ? भन्ने जुन चासो र सरोकार छ, त्यसलाई यो महाधिवेशनले चिरफार गर्नुपर्छ । खासगरी, मुलुकमा विद्यमान महाभूकम्पले निम्त्याएको र नाकाबन्दीबाट सृजित समस्यालाई छिचोल्दै मुलुकलाई दिशानिर्देश गर्न यो महाधिवेशन केन्द्रीत हुनुपर्छ जस्तो मलाई लाग्छ र आमनागरिकको चाहाना पनि यहि छ । यो महाधिवेशनमा नेतृत्व चयन मात्र होइन, नेतृत्व चयनको साथसाथै सम्बृद्ध मुलुक निर्माण गर्नका लागि निश्चित एजेण्डाहरु महाधिवेशनमा उठाउनुपर्छ । र, यहि पार्टीको एउटा कार्यकर्ता भएको नाताले यि एजेण्डालाई अगाडि बढाउन जिम्मेवारी बोध गर्दै मैले कन्द्रीय सदस्यमा उम्मेदवारी दिने निष्कर्षमा पुगेको हुँ । मुलरुपमा नेपाली काँग्रेसको सिद्धान्त, आदर्श र नेपाली काँग्रेसले लामो समयदेखि लिँदै आएको नीतिलाई कार्यान्वयनको निमित्त सशक्त आवाज उठाउने र सुधारका लागि पहल गर्नु नै मेरा मुख्य एजेण्डा हुनेछ । तर, मेरा मान्यता के छ भने एउटा केन्द्रीय सदस्यको उम्मेदवारले ब्यक्तिगत घोषणापत्र तयार गर्दैमा नेपाली काँग्रेसलाई त्यसले सञ्चालन गर्न सक्दैन् । नेपाली काँग्रेसलाई सञ्चालन गर्न सिङगो पार्टीको संस्थागत रुपमा आएको एजेण्डाले नै तय गर्ने हो । र, त्यो एजेण्डालाई सहि ढंगले कार्यान्वयन गर्न पनि हामी जस्ता युवा नेतृत्वमा हुनु जरुरी छ । युवा कार्यसमितिमा हुँदा पार्टीभित्र देखिने कमीकमजोरी विरुद्ध सशक्त रुपमा आवाज उठ्ने, नेताहरुलाई ध्यानाकर्षण गराउने र नव पुस्तालाई अगाडि बढ्न उत्प्रेरित गर्ने मुल जिम्मेवारी पुरा हुनेछ । मबाट पनि सो प्रतिबद्धता पुरा हुने विश्वास दिलाउन चाहान्छु ।

  • १३ औं महाधिवेशनमा प्रतिनिधिहरुले तपाईलाई भोट हाल्ने आधार के–के हुन् ?

मुलुत: नेपाली काँग्रेसको आफ्नै पद्धती, संस्कार र चरित्र छ । त्यहाँबाट अलिकति पर नेपाली काँग्रेसलाई अगाडि बढाउनु पर्छ भन्ने मान्यतालाई स्थापित गर्न म चाहान्छु । मुख्यरुपमा अहिले नेपाली काँग्रेस भनेको परम्परावादी सोच भएका ब्यक्तिहरुको पार्टी हो, यहाँ बुढा पुस्ताहरुको मात्र बाहुल्यता छ, काँग्रेसभित्र युवा पुस्तालाई कुनै अबसर छैन् भन्ने खालको एउटा मनोविज्ञान स्थापित भएको छ । त्यसलाई तोड्न अत्यन्त जरुरी छ । र, अनुभवी नेता र युवाहरुको साझेदार पार्टीका रुपमा नेपाली काँग्रेसलाई पुर्न:गठन गर्नुपर्छ । त्यो केबल महाधिवेशनबाट मात्र संभव छ । उर्जाशिल युवाहरुलाई नेपाली काँग्रेसभित्र स्थापित गर्न, गतिशिल बनाउन, ब्यबस्थापकीय ढंगले नेपाली काँग्रेसलाई चुस्तदुरुस्त पार्न र नेपाली काँग्रेसलाई कार्यकर्ताले मात्र होइन, नेपाली काँग्रेस पार्टी भनेको आमनेपाली जनताको पार्टी हो भन्ने कुरालाई स्थापित गराउन जरुरी छ । त्यो संकल्प पुरा गर्नका लागि मेरो केन्द्रीय सदस्यमा उम्मेदवारी हो । र, मलाई भोट दिने सबैभन्दा महत्वपूर्ण आधार पनि यहि हो ।

  • युवालाई नेतृत्व तहमा स्थापित गराउने कुरा गर्नु भयो, अब पार्टीको नेतृत्व कुन बर्गले गर्नेछ ? मैले भन्न खोजेको पार्टीको नेतृत्व १३ औं महाधिवेशनपछि युवा वर्गले या ६० उमेर कटिसकेका बृद्धाले गर्नेछन् ?

हामीले अनुभवी पुस्तालाई पाखा लगाउने कुरा सोच्न पनि सक्दैनौं । खासगरी, मैले अुनभवी नेता र उर्जाशिल युवाको समिश्रण खोजेको छु । अनुभवी पुस्ता र युवा पुस्ताको विचको साझेदारीबाट नै काँग्रेसलाई बनाउनुपर्छ । यसको अर्थ के हो भन्दा जसले नेपाली काँग्रेसका लागि पुरै जीवन आहुती दिए, त्यो पुस्तालाई १३ औं महाधिवेशनबाट पूर्णरुपमा हटाउनुपर्छ भन्न खोजेको होइन र त्यो ठिक पनि होइन् । नेपाली काँग्रेस तीनै पुस्ताको साझा पार्टी हो । तर जहाँ युवालाई स्थान दिनै हुन्न, युवा भनेका ‘ओठ निचोरेपछि दुध निस्कन्छ’ भन्ने मान्यतामा ग्रसित छ । युवा पुस्ता अनुभवी हुन्नन्, उनीहरुसँग ज्ञान, सिप, संकल्प र प्रतिबद्धता नभएको आरोप थोपरिन्छ । सबै भन्दा मुख्य कुरा के हो भने पार्टीभित्र युवापिढीँलाई राज्य सञ्चालन गर्ने विधि र ढंग नै थाहा छैन् भन्ने मानसिकता छ । यो कुरा सच्चाउन युवा पुस्ताले दबाब दिनुपर्छ । अहिलेका युवा ‘एक से एक’ सक्षम छन् । उनीहरुमा सिङगो मुलुक हाँक्ने खुवि र सामाथ्र्य छ ।

  • युवासँग सिङगो मुलुक हाँक्ने खुवि र सामाथ्र्य छ भन्दै हुनुहुन्छ । तर यसअघिको महाधिवेशनमा नेपाली काँग्रेसले नेतृत्व तहमा दश प्रतिशत पनि युवा पुस्तालाई ल्याएको छैन नि ?

मैले अघि पनि भनिसके कि अनुभवी नेता र युवा पुस्ताको साझेदारी अबको महाधिवेशनमा हुनुपर्छ । नेतृत्वले अब युवा पुस्तालाई पनि साथसाथै अगाडि बढाउनु पर्छ । युवाले मुलुकमा आमुल परिवर्तन गर्न सशक्त आवाज उठारहेका छन्, उर्जाशिल, क्षमतावान, योग्यता भएका युवा नेपाली काँग्रेसको नेतृत्व तहमा हुनुपर्छ । अब मुलुकलाई नयाँ निशानिर्देश गर्न पनि स्पष्ट दृष्टिकोण लिएर अगाडि बढिरहेका युवाको जरुरत छ । अबको नेतृत्व र कार्यसमिति दुवैको समिश्रण र साझेदारीमा हुनुपर्छ । यो संस्कृति निर्माण गरेर अगाडि बढे मात्र हाम्रो पार्टी हो भन्ने भावना विकसित हुक्छ । यो पार्टी युवाको पनि हो, बुढाको पनि हो र अनुभवीको पनि । बर्गीय हिसाबले पनि .यो सबैको पार्टी हो । किसानको, मजदुर, ब्यापारी, उद्योगपति, सञ्चारकर्मी, ईन्जिनियर, चिकित्सक सबैको हो साझा पार्टी हो भन्ने भावना विकसित गराउन अत्यन्त जरुरी छ ।
त्यसका लागि अनुभनी पुराना नेता र युवाको साझेदारी हुनुपर्छ, अबको महाधिवेशनमा । गुटगत राजनीति होइन, सबैले स्वामित्व महसुस गर्ने पार्टी बनाउन पनि सुधारको आबश्यक छ । त्यसैले, युवालाई अगाडि ल्याउन यो महाधिवेशन महत्वपूर्ण सावित हुनेछ भन्ने मलाई लाग्छ ।

  • तपाई आम नागरिकको पार्टी हो र हुनुपर्छ भनिरहनु भएको छ तर नेपाली काँग्रेस त भागवण्डाको राजनीतिमा अल्झिरहेको छ । गुट–उपगुटमा रमाउने पार्टीले के महाधिवेशनपछि तपाईले भने जस्तो परिवर्तन गर्ला त ?

मलाई लाग्छ, यो अत्यन्तै महत्वपूर्ण र गम्भिर प्रश्न हो । खासगरी गएको १२ औं महाधिवेशनलाई हामीले ‘एकता’ महाधिवेशनका रुपमा सहर्ष स्वीकार गर्‍यौं । र, त्यो महाधिवेशनलाई त्यसरी नै स्थापित गर्नुपर्छ भनेर बुलुन्द आवाज पनि उठायौं । हामीले एकता महाधिवेशन नामाकरण पनि गर्‍यौं । तर महाधिवेशन भएको करिब ५ बर्षको बीचमा पनि त्यो ब्यवहारमा लागू भएन् । १२ औंं महाधिवेशनको त्यो संकल्प, सन्देशलाई हामीले कार्यान्वयन गर्न सकेनौं । हाम्रा नेताहरु फेरि पनि ४० र ६० को भागवण्डामै लडिरहे । हामीलाई सत्प्रतिशत अर्थात सिङगो नेपाली काँग्रेसको नेता बनेको हेर्ने ईच्छा जाग्यो तर त्यस्तो नेता कोही पनि देखिएनन् र तयार पनि भएनन् । जुन यो समस्या देखिएको छ, यसलाई चिर्दै १३ औं महाधिवेशनबाट ४० र ६० भागवण्डा मुक्त गर्न भएपनि युवा पुस्ता नेतृत्व तहमा आउनुपर्छ । र, यो महाधिवेशनबाट ४० र ६० को भागवण्डा हटाई सत्प्रतिशत काँग्रेस बनाउनुपर्छ भन्ने आम कार्यकर्ताको पनि धारणा छ । कार्यकर्ताले मात्र भनिरहेका छैनन्, आज मुलुकमा परेको समस्यासँग जुध्न पनि नेपाली काँग्रेस सत्प्रतिशत हुनुपर्छ भन्ने आमनागरिकको पनि चाहाना छ । जबसम्म नेपाली काँग्रेसले राजनीतिक रुपमा, साँगठानिक रुपमा, ब्यबहारिक रुपमा आफूलाई सत्प्रतिशन बनाउन सक्दैन, तबसम्म सिङगो मुलुकले समस्याबाट पार पाउन सक्दैन् । नेपाली काँग्रेसले जुन सम्वृद्ध मुलुकको आवाज उठाइरहेको छ, त्यो पुरा गर्न वा त्यसको नेतृत्वदायी भूमिका निर्भाह गर्न पनि सत्प्रतिशत काँग्रेस हुनुपर्छ । र त्यो भूमिका पुरा गर्न काँग्रेसले सकेन भने जनताका आमसमस्या हल गर्न पनि सकिन्न । त्यसैले, ४० र ६० को भागबण्डा मनोविज्ञान यो महाधिवेशनबाट समाप्त पार्नुपर्छ । मलाई पूर्ण विश्वास छ, अहिले जुन ढंंगको धुव्रिकरण र बहस चलिरहेको छ, त्यसबाट पनि थाहा हुन्छ कि पुरातन सोच, संस्कार र विधिलाई त्यागेर नयाँ आधार तय गर्नु छ । यो परिवर्तनको संकेत हो । यो मान्यतालाई तोड्न पनि युवा पुस्ता सक्रिय हुनैपर्छ । यस्ता मान्यता यो महाधिवेशनबाट भत्काउनु पर्छ । ४० र ६० को भागवण्डाको राजनीति अन्त्य गरी सत्प्रतिशत काँग्रेस बनाउनकै लागि भएपनि हामी जस्ता युवाहरु मैदानमा उत्रनु परेको हो ।

  • तर १३ औं महाधिवेशनको पूर्वसन्धामा केन्द्रीय तहदेखि गाउँ तहसम्म गुट–उपगुटमा काँग्रेस विभाजित भएको देखियो नि ?

यो सत्य हो । केन्द्रीय तहदेखि गाउँ तहसम्म काँग्रेस विभाजित भइरहेको अबस्थामा छ । पार्टीको जिम्मेवार कार्यकर्ता भएको नाताले सँगसँगै मैले के पनि देखिरहेको छु भने त्यो भड्कीने अबस्थामा छ । काँग्रेसमा जुन खण्डीकरण भइरहेको छ, तोड्ने अभियान पनि सँगसँगै चलिरहेको मलाई लागिरहेको छ । अहिले पार्टी सभापति हुने वा उम्मेदवार बन्ने जुन अभ्यास र चाहाना ब्यक्त भइरहेका छन्, जुन गाउँ तहसम्म पनि देखियो । यसले गुट निर्माण मात्र होइन, प्रजातान्त्रिक स्वच्छ चुनाबी अभ्यास भइरहेको पनि देखिन्छ । जसका कारण गुट–उपगुट भड्कीरहेको अबस्था छ । त्यसकारण मेरो भनाई चाहिं के हो भने नेपाली काँग्रेस एउटा अध्याय पुरा गर्ने अबस्थामा रहेको छ । र, म आशावादी कहाँनेर छु भने १३ औं महाधिवेशनले पूर्णरुपमा गुटबन्दीलाई समाप्त गर्न नसके पनि हिजो जुन खालको परम्परागत गुट थियो, त्यो गुटलाई भत्काउँदै नयाँ खालको बाटो निर्माण हुन सक्ने संभावना बढि छ ।

  • प्रसंग बदलौं, पछिल्लो समयमा दुई रुपैयाँ आम्दानी नभएका नेताहरुले दैनिक लाखौं खर्च गरिरहेको खबर बाहिर आएको छ । नेपाली काँग्रेसमा धन र डन भयो भने नेतृत्वमा पुग्न सकिने मानसिकता बढेको देखिन्छ । यस विषयमा तपाई के भन्नु हुन्छ ?

काँग्रेस यस्तो संस्कृतिको खिलापमा छ । काँग्रेसको राजनीति आदर्शपूर्ण र मुल्य, मान्यतामा आधारित छ । जुन राजनीतिको नेतृत्व गणेशमान सिंह, बीपी कोइराला, कृष्णप्रसाद भट्टराईले गर्नुभयो, त्यस्ता सयौं सपुतको उदाहरण नेपाली काँग्रेसमा छ । उहाँहरुले जहिले पनि धन र डन मुक्त राजनीतिको गर्नुभयो । बीपीले त मानिस ब्रेनले हैन, विचारले सञ्चालन हुन्छ भन्नु भयो । खासगरी १३ औं महाधिवेशनको पेरिफेरिमा धन र डनको अलि बढि प्रभाव परिरहेको मलाई पनि महसुश भइरहेको छ । तर यो कुरा नेपाली काँग्रेसको मुल्य र मान्यता विपरित छ, यो हुनुहुन्न । यस्तो संस्कृतिले आमनेपालीको पार्टीका रुपमा नेपाली काँग्रेसलाई कल्पना गर्नु सक्दैनौं । यस्ता क्रियाकलापबाट विकासको नेतृत्व गर्ने, समता समाज निर्माण गर्ने काँग्रेसको नीति र लक्ष्यलाई हासिल गर्न सक्दैनौं । त्यसकारण, १३ औं महाधिवेशनको बन्दसत्र हाउसभित्र यि विषयमा युवा पुस्ताले सशक्त रुपमा आवाज उठाउने, बहश र छलफलका लागि बाध्य पार्नेछ । यो प्रवृत्ति अन्त्यका लागि हामी लड्ने छौं ।

Share on Twitter Share on Facebook