ल्यारक्यालमाथि विदेशी महिलालाई र्दुव्यवहार मुद्दा पनि

काठमाडौं । ईन्भेष्टमेन्ट बैंकको लकरमा गोली भेटिएपछि पक्राउ परेका पूर्व सभासद् तथा पूर्व अर्थराज्यमन्त्री ल्यारक्याल लामाको एकपछि अर्को नयाँ पोल खुल्नेक्रम जारी रहेको छ । पैसाकै बलमा सभासद् र अर्थराज्यमन्त्री समेत बन्न सफल भएका लामाले वैदेशिक रोजगारीमा ठगी गरेको आरोप सार्वजनिक भएलगत्तै अर्को काण्ड फेला परेको हो । लामाले लौनचौर मनमोहन अस्पताल जाने बाटोमा रहेको आफ्नो होटलमा विदेशी एक जना महिलालाई हातपात र र्दुव्यवहार गरेको भन्दै महानगरीय प्रहरी बृत्त लौनचौरमा केहि बर्ष पहिला उजुरी परेको थियो । उजुरी गर्ने ति महिला फ्रेन्स नागरिक हुन् ।

लामाको होटल अगाडि रहेको पिपलबोटमा बसेर आफूलाई हातपात र र्दुव्यवहार गरेको भन्दै महिनौंसम्म ति महिलाले चिच्याउँदै सबैलाई बताएको प्रत्यक्षदर्शीले बताएका छन् । तर लामाले तत्कालिन लौनचौर बृत्तका प्रहरी प्रमुखलाई प्रभावमा पारी कारवाही हुनबाट जोगिएको स्रोतले बतायो । स्रोत भन्छ–‘करिब चार बर्षअघि भएको उक्त रहस्यमय काण्डलाई लामाले आफ्नो शक्ति र प्रभावका कारण गर्वमै तुहाएका हुन् । लामाले विदेशी महिलालाई हातपात र र्दुव्यवहार गरेको उजुरीको प्रमाण लौनचौर बृत्तमा दर्ता भएको पुरानो फाईल पल्टाए अझैपनि भेटिन्छ ।’ अवैध गोली लकरमा राखिएको काण्डमा हाल थुनामा रहेका लामालाई सिंहदरबार बृत्तमा राखिएको छ । सोमबार उनीमाथि लागेको मुद्दा प्रहरीले सरकारी वकिल कार्यालयमा पेश गरेको महानगरीय प्रहरी परिसर काठमाडौं परिसरका प्रवक्ता एसपी प्रधुम्न कार्कीले बताए । तर वैदेशिक रोजगारीका नाममा ठगी मुद्दा रहेकाले रिहाई लगत्तै प्रहरीले लामालाई पुन: पक्राउ गरेको छ ।

कामु आईजीपी सुरेन्द्र शाहको सोर्सफोर्समा लामा सिंहदरबार बृत्तमा बस्न सफल भएका हुन् । यसअघि विभिन्न मुलुकको पार्सपोर्ट, नागरिकता भएका कारण लामा विवादमा परेका थिए । सो काण्ड सार्वजनिक भएपछि दुई हप्ता पनि वित्न नपाउँदै उनले अर्थ राज्यमन्त्रीबाट राजीनामा दिनुपरेको थियो ।
उता लामाले प्रहरीलाई दिएको बयानमा लकरमा भेटिएको गोली भारतीयको भएको बताएपछि घटनाले अर्के मोड लिएको छ । लामाले बयानमा उल्लेख गरेको ब्यक्तिलाई प्रहरीले खोजिरहेको जनाएको छ । त्यसो त, संसोधित नयाँ ऐन अनुसार लकरमा गोली राख्ने लामालाई ३ देखि ९ महिनासम्म कैद वा ६० हजारसम्म जरिवाना अथवा दुवै सजाय हुन सक्ने प्रावधान रहेको छ । गत मंगलबार प्रहरीले अख्तियारसँगको समन्वयमा लामाको लाजिम्पाटस्थित स्ट्याण्डर्ड चार्टर्ड बैंकमा रहेको अर्को लकरमा पनि छापा मार्‍यो, तर त्यहाँ भने केही फेला पारेन ।

Share on Twitter Share on Facebook