पदको मर्यादा घटाउँदै राष्ट्रपति भण्डारी

काठमाडौं । पूर्व राष्ट्रपति डा.रामबरण यादवको लागि उपलब्ध निवासको भाडा नतिर्ने सरकारले बर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको मनपरि खर्चलाई भने आँखा चिम्लेर सदर गर्दै आएको छ । राष्ट्रपति जस्तो गरिमामय पदमा बसेर पदको मर्यादा र गरिमा ख्याल नगर्दा मुलुकलाई आर्थिक भार मात्र नबढि सुरक्षा निकायमा समेत ठूलो असन्तुष्टि बढेको छ । राष्ट्रपति भण्डारीले पदको गरिमा र मर्यादा ख्यालै नगरी अति सामान्य भन्दा सामान्य कार्यक्रममा सरिक हुने गरेको तथ्य प्राप्त भएको छ । छिमेकी मुलुक वा अन्य देशका राष्ट्रपति जानै पर्ने विशिष्ट कार्यक्रम बाहेक सामान्य कार्यक्रममा कसैको सहभागिता हुने गरेको छैन् । तर प्राप्त तथ्य अनुसार राष्ट्रपति भण्डारी ३० दिनमा करिब २० दिन भन्दा बढि विभिन्न कार्यक्रममा बाहिर सरिक हुने गरेकी छिन् । जसका कारण नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, गुप्तचर विभागबाट खटिने कर्मचारी र ट्राफिक प्रहरी समेत अनावश्यक रुपमा परिचालन हुने गरेको छ । जसको प्रत्यक्ष प्रभाव मुलुक र सर्वसाधारण जनताको जीउधनको सुरक्षामा देखिन थालेको छ ।

 राष्ट्रपति भण्डारीको अपरिपक्वता, अपरिपक्व सल्लाहकार र राष्ट्रपति भण्डारी मनलाग्दी जस्तो पायो त्यही कार्यक्रममा सरिक हुने कारण नेपाली सेना समेत असन्तुष्ट बनेको छ । संविधानमा नेपाली सेनाको संरक्षक समेत राष्ट्रपति हुने ब्यवस्था छ । राष्ट्रपति जस्तो गरिमामय पदमा बसेर ब्यापार, ब्यवसाय, उद्घाटन, विमोचन, जस्ता अति सामान्य कार्यक्रममा प्रमुख अतिथि बनेर जाँदा पदको गरिमा घटेको राष्ट्रपतिको सुरक्षामा खटिने सुरक्षाकमीले बताए । राष्ट्रपतिले जहाँ मन लाग्यो त्यहि जाँदा सुरक्षा थ्रेट ह्याण्डिल गर्न सुरक्षा निकायलाई धौंधौं परेको स्रोतले असन्तुष्टि जनायो । स्रोतका अनुसार राष्ट्रपतिको जनकपुर भ्रमण र त्यहाँ घटेको काण्डपछि त्यहाँ कार्यरत सुरक्षाकर्मीहरुलाई सुरक्षा ब्यवस्था मिलाउन नसकेको भन्दै विभागीय कारबाही गरिएको थियो । राष्ट्रपति वा उनका सल्लाहकारले नै कहाँ जान हुने र नहुने विश्लेषण गर्नु पर्ने वा सल्लाह दिनेले मुलुक र जनताको हितमा रहेर सल्लाह नदिँदा राष्ट्रपतिको सुरक्षामा खटिएका सुरक्षा निकाय चिन्तित मात्र भएका छैनन्, उनीहरुलाई हैरानी नै भएको छ । कारण महिनाको करिब २० दिन भन्दा बढि राष्ट्रपति भण्डारी सामान्य कार्यक्रममा समेत सरिक हुनु हो । र, त्यसको ब्यवस्थापन गर्न सुरक्षा निकायलाई दैनिक चुनौती थपिएका कारण असन्तुष्टि बढेको हो ।
त्यसो त, गत फागुन २८ गते काठमाडौं विश्वविद्यालयको स्थापना दिवशको उपलक्ष्यमा प्रमुख अतिथि बन्दै धुलिखेल पुगेकी राष्ट्रपति भण्डारीको एक घण्टे कार्यक्रम एकाएक दुई घण्टा लम्बिदा सुरक्षा चुनौती थपिएको थियो । कारण थियो–प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति भण्डारीबीच भेट । भेटपछि राष्ट्रपति र ओलीबीच सामित्य गोत्य भेटबार्ता । उता सिंहदरबारमा रहेको ‘ज्वाईन्ट अपरेशन कमिटी’ र नेपाली सेनाको गुप्तचरी गर्ने निकाय डीएमआईबाट खटिनेहरुबीचमा पनि राष्ट्रपतिको दैनिक भ्रमणका विषयलाई लिएर आलोचना हुने गरेको छ । सुरक्षा निकायको चारवटै विभागबाट खटिने ‘ज्वाईन्ट अपरेशन कमिटी’ ले राष्ट्रपतिको भ्रमण सुरु भएपछि अन्त्य नभएसम्म त्यहाँ बसेर संयुक्त रुपमा विशेष मनिटरिङ गरिरहेको हुन्छ । उपराष्ट्रपतिको भ्रमण तालिका बारे त कुरै नगरौं, विद्यालयको सामान्य कार्यक्रमदेखि पोर्क सम्मेलन जस्तो कार्यक्रममा समेत उनको उपस्थिति रहने गरेको छ । संघीय नेपालको संविधानमा उल्लेख भएको आफ्नो जिम्मेवारी विर्सिएर राष्ट्रपति र उपराष्ट्रपति जस्तो पदको गरिमा र मर्यादा विपरित हिड्न थालेपछि राष्ट्रपति र उपराष्ट्रपतिको आलोचना हुन थालेको हो ।
यस्तो थियो फागुनको भ्रमण तालिका
फागुन ५: अख्तियार दुरुपयोग अनुसन्धान आयोगको रजत महोत्सवमा सरिक । स्थान थियो, सशस्त्र प्रहरी बल हलचोक ।
फागुन ९: अन्तर्राष्ट्रिय मातृ भाषा दिवश, कविता महोत्सव समुदघा्टन, नेपाल प्रज्ञाप्रतिस्ठान, कमलादी ।
फागुन १५: राष्ट्रिय सहकारी बैंक लिमिटेड १२ औं बार्षिक साधारणसभामा प्रमुख अतिथि, भृकुटीमण्डप ।
फागृुन १६: सहिद अध्ययन तथा अनुसन्धान केन्द्रको अनावरण गर्ने शिलशिलामा सेनाको हेलिकप्टरबाट मकवानपुरको भ्रमण ।
फागुन १७: नेपालका लागि रसियन फेडरेशन ईस्लामिक गणतन्त्र पाकिस्तान र फ्रान्सका आवसिय राजदूतबाट ओदहाको प्रमाणपत्र प्रस्तुत, राष्ट्रपति कार्यालय ।
फागुन १९: विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवनमा कार्यरत भई फर्कन लागेका चिनियाँ मेडिकल समूह र अस्पतालमा कार्यरत रहन आउने चिकित्सक टोलीबीच सयुक्त भेट कार्यक्रम, राष्ट्रपति कार्यालय ।
फागुन २२: सर्वोच्च अदालत र सार्क ल नेपालको संयुक्त आयोजनामा विभिन्न राष्ट्रका प्रधानन्यायाधीशहरुको सम्मेलन समुदघाट्न, ह्यात रिजेन्सीमा ।
फागुन २३: भारत, श्रीलंका र बंलादेशका सैनिक अधिकृतहरुबाट राष्ट्रपतिलाई भेटघाट कार्यक्रम ।
फागुन २४: महाशिवरात्रीका दिन पशुपतिनाथको दर्शन ।
फागुन २५: अन्तर्राष्ट्रिय महिला दिवशको अवसरमा समाज कल्याणद्धारा आयोजित कार्यक्रममा सरिक, राष्ट्रियसभा गृह ।
फागुन २८: काठमाडौं विश्वविद्यालय स्थापना दिवशको उपलक्ष्यमा प्रमुख अतिथि, धुलिखेल ।
यसका अतिरिक्त आदा दर्जन अन्य सामान्य कार्यक्रममा राष्ट्रपति भण्डारीको सहभागिता थियो । सुरक्षा ब्यबस्थापनका लागि भन्दै चैत महिनामा समेत विभिन्न उद्घाटन समारोह सरिक हुने सूचि र अनावश्यक कार्यक्रममा सहभागिता जनाउने पूर्व भ्रमण तालिका राष्ट्रपतिको कार्यालयले सुरक्षा निकायमा पठाइसकेको छ । सुरक्षा थ्रेट हुन सक्ने कारण चैत महिनाको भ्रमण तालिका यहाँ सार्वजनिक गरिएको छैन् ।

Share on Twitter Share on Facebook