नेविसंघको अध्यक्ष बन्न होडबाजी

काठमाडौं । नेपाली काँग्रेसको १३ औं महाधिवेशनबाट शेरबहादुर देउवा पार्टीको सभापतिमा निर्वाचित भएसँगै भातृ संगठन हत्याउने खेल सुरुवात भएको छ । नवनिर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठकले ६ महिनाभित्र सम्पूर्ण भातृ संगठनहरुको अधिवेशन गर्ने निर्णय गरेसँगै यो खेल सुरु भएको हो । नेपाली काँग्रेसका सभापति देउवा निकट मानिएका विद्यार्थी नेताबीचमै यो हानथाप देखिएपछि विवाद कुटपिटमा परिणत भएको छ । यस्को पहिलो प्रभाव पुतलीसडकस्थित शंकरदेव क्याम्पसबाट देखा परेको हो । नेविसंघको अध्यक्ष दावी गर्दै आएका जीतजंग बस्नेत र नैनसिंह महरको समूहबीच कुटाकुट भएको हो । महरको क्याम्पमा रहेका शंकरदेव क्याम्पसका सुभराम बस्नेतले पहिला हात हालेका थिए । अहिले देउवाकै क्याम्पका विद्यार्थीभित्रै भिडन्तको स्थिति सृजना भएको हो ।

विगत ९ बर्षदेखि भातृ संगठन नेविसंघको निर्वाचन समयमा नै हुन नसक्दा ४० काटेका विद्यार्थी नेताहरु ५० काट्न लागिसकेका छन् । अहिले नेविसंघको अध्यक्ष दावेदार एक दर्जन विद्यार्थी नेताहरु ४० बर्ष मुनिका कोहि पनि छैनन् । पार्टीले विधान विपरित आफ्नो हुक्के, चच्चेबाट टिकेप्रथा सुरु गरेका कारण युवा नेता उत्पादन गर्ने मेसिन मानिएको नेविसंघमा खिया लागेको नेविसंघमा आवद्ध क्रियाशिल, अध्ययनरत विद्यार्थी नेताहरुको बुझाई छ । उमेरले ४० काटिसकेका आफूलाई अझैपनि नेपाल विद्यार्थी संघको अध्यक्ष भएको देख्न रुचाउनेमा नैनसिंह महर, जीतजंग बस्नेत, मनोजमणी आर्चाय, ऋषिकेशजंग शाहलगायत रहेका छन् । नेविसंघको अध्यक्ष पदका दावेदार महर, बस्नेत, आचार्य र शाह पार्टीको १३ औं महाधिवेशनमा महाधिवेशन प्रतिनिधि रहेका थिए । त्यसैगरी, आफूलाई ४० बर्ष मुनि भएको बताउने कुन्दन काफ्ले, रामप्रसाद अधिकारी, सरोज थापा, पुष्पकुमार शाही, दिपक भट्टराई, निलकण्ठ रिजालले पनि अध्यक्षको दावी गरिरहेका छन् । उनीहरुले नेविसंघको युवा नेताका रुपमा आगामी चुनावमा आफूलाई उभ्याउने मनस्थिति बनाएका हुन् । नेविसंघको यो पुस्ता ३५ बर्ष कटेका ४५ बर्ष मुनिका हुन् । महामन्त्रीमा भने अहिलेसम्म एक्ली उम्मेदवार विद्यार्थी नेतृ उर्मिला थपलियाले उम्मेदवारी दिने घोषणा गरेकी छिन् ।

०६४ जेठ ११ मा सम्पन्न नेविसंघको निर्वाचनले नेपाली काँग्रेसका युवा नेता प्रदिप पौडेललाई विजयी बनाएको थियो । त्यसपछि अहिलेसम्म नेविसंघको निर्वाचन हुन सकेको छैन् । नेविसंघको अध्यक्ष पौडेल चुनिदा एमाले पार्टी निकट भातृ संगठन अनेरास्ववियुको अध्यक्षमा ठाकुर गैरे थिए । त्यसपछि रामकुमारी झाक्री, माधव ढुंगेल, किशोरविक्रम मल्ल र कान्छी पुस्ताकी नविना लामा अध्यक्ष भइसकेकी छिन् । नेविसंघको निर्वाचन प्रदिप पौडेलको कार्यकालपछि हुन नसक्दा पार्टीले रन्जीत कर्णलाई ६ महिनाभित्र निर्वाचन सम्पन्न गर्ने जिम्मेवारीसहित अध्यक्ष बनाएको थियो । कर्ण अध्यक्ष बनेपछि निर्वाचन सम्पन्न गर्न भन्दा पद जोगाउन र कमाउधन्दामा लागेका कारण अहिलेसम्म निर्वाचन हुन सकेको छैन् । सांसद समेत रहेका कर्ण केन्द्रीय सदस्यमा उठेर थोरै मतले पराजित भएका थिए । अहिले नेविसंघको अध्यक्ष बन्न अस्वच्छ प्रतिस्पर्धा भइरहेको छ । जसका कारण अध्यक्ष बन्न न्यूनतम उमेरहद तोकिनु पर्ने माग पनि जोडतोडका साथ उठेको छ । साथै अध्यक्षको उम्मेदवार बन्न क्याम्पसमा अध्ययनरत विद्यार्थी नै हुनुपर्ने, विद्यार्थीमाझ लोकप्रिय र नेतृत्व लिने क्षमता भएको दावेदारले मात्र उम्मेदवारी दिनुपर्ने विद्यार्थीमाझ माग उठेको छ । अहिलेकै अबस्थामा नेविसंघमा उम्मेदवारी दर्ता भए क्रियाशिल विद्यार्थी नेताहरुले नेता बन्ने अबसर कहिल्यै आउने छैन् । आफूलाई आगामी निर्वाचनमा अध्यक्ष पदका लागि घोषणा गरिसकेका विद्यार्थी नेता रामप्रसाद अधिकारी भन्छन्–‘राम्रो थालनी गर्न नेविसंघको अध्यक्ष पदका लागि क्रियाशिल र अध्ययनरत विद्यार्थी नेता फाँटबाट नै अध्यक्षको चयन हुनुपर्छ । बरु आफू पनि अध्यक्ष नबने कुनै आपत्ति छैन् ।’
त्यसो त, नेविसंघको राजनीतिबाट आफूलाई स्थापित गराउन नसकिने निचोडसहित दर्जनौं विद्यार्थी नेता १३ औं महाधिवेशनमा पार्टीको केन्द्रीय राजनीतिमा प्रवेश गरका छन् । उता पार्टी सभापतिमा देउवाले बाजी मारेपछि एकाएक विद्यार्थी नेताबीच धुव्रिकरण बढेको छ । नयाँ अध्यक्ष बन्न देउवा पक्षका विद्यार्थी नेताहरु बस्नेत, नेविसंघकै पूर्व उपाध्यक्ष महर अगाडि देखिएका छन् भने देउवा पक्षबाटै त्रिचन्द्र क्याम्पसका पूर्व स्ववियु सभापति बनेका सरोज थापा, शंकरदेव क्याम्पसका पूर्व स्ववियु सभापति शुभराम बस्नेत पनि मैदानमा उत्रिने संकेत देखाएका छन् । यस्तो अन्यौलबीचमा सबैले उम्मेदवार दिए देउवा पक्षको आधिकारिक उम्मेदवार को भन्ने अन्यौल हुनेछ । त्यसैगरी, काँग्रेस नेता रामचन्द्र पौडेल निकट रहेका नेविसंघका पूर्वमहामन्त्री मनोजमणी आचार्य, नेविसंघकै लोकप्रिय अर्का नेता कुन्दनराज काफ्ले, नेविसंघका पूर्वप्रवक्ता रामप्रसाद अधिकारी, युवराज पाण्डे, त्रिचन्द्र क्याम्पसकै पूर्वअध्यक्ष दिपक भट्टराई, सक्रिय विद्यार्थी नेता निलकण्ठ रिजालले पनि अध्यक्षका लागि दावी उम्मेदवारी दिने संकेत दिएका छन् । पार्टी सभापति देउवाको रोजाईमा परेका तथा ईमान्दार विद्यार्थी नेता बस्नेतलाई महाधिवेशन गर्ने जिम्मेवारी आउने संभावना प्रवल बढेसँगै नैनसिंह महरको समूह भने भाड्न सक्रिय रहेको आरोप थोपरिएको छ । यद्यपी नेविसंघको महाधिवेशन कहिले हुन्छ भनेर मिति तय हुन सकेको छैन् । २०६८ असोजमा प्रदीप पौडेल नेतृत्वमा रहेको नेविसंघको केन्द्रीय समिति विघटन गरी कर्णलाई अध्यक्ष बनाइएको थियो । २०७१ साल कात्तिक ३० देखि मङ्सिर २ गते तोकिएको निर्वाचन कात्तिक २७ गते स्थगित भएको थियो । अहिलेसम्म नेविसंघको ११ औं महाधिवेशन सातांै पटक स्थगित भइसकेको छ ।

Share on Twitter Share on Facebook