बलात्कारीलाई छाडेपछि न्यायाधीश विवादमा

काठमाडौं । दुई बर्ष अगाडि एसएलसी परिक्षा दिन जाँदा सामुहिक बलात्कारपछि मानसिक सन्तुलन गुमाएकी १४ बर्षिय बालिकालाई बलात्कार गर्ने बलात्कारीलाई अदालतले छाडेको छ । ती बालिकालाई बलात्कार गर्ने अभियुक्तलाई जिल्ला अदालत बैतडीले १३ बर्ष कैद सजाँयको फैसला सुनाएपछि उनीहरु थुनामा थिए । तर, सर्वोच्चको न्यायाधीश बन्ने दौडमा रहेका न्यायाधीश देवेन्द्रगोपाल श्रेष्ठको सेटिङमा केही हप्ता पहिले जिल्ला अदालतको फैसला उल्टाएर महन्द्रनगर पुनरावेदन अदालतले सफाई दिएको हो । पुनरावदेन अदालत महेन्द्रनगरले पीडित र पीडितका आफन्तले कुनै जानकारी नै नदिई एकतर्फी रुपमा सफाई दिएकोप्रति आपत्ति जनाएका छन् ।

पीडितका आफन्त तथा परिवारले पुनरावेदन महेन्द्रनगरका प्रमुख न्यायाधीश श्रेष्ठ र फैसला गर्ने न्यायाधीश नरबहादुर शाहीले सेटिङमा अपराधीका आफन्तबाट १८ लाख रुपैयाँ घुस लिएर सफाई दिएको समेत आरोप लगाए । बलात्कार जस्तो जघन्य अपराधमा पनि पुनरावेदन अदालतका न्यायाधीशले जिल्ला अदालतको फैसला बदर गर्दै अपराधीलाई छुटकरा दिएपछि न्यायाधीश विवादमा परेका हुन् । स्रोतका अनुसार न्यायाधीश श्रेष्ठ काँग्रेस निकट मानिन्छन् भने विद्यार्थी जिवनमा समेत काँग्रेसबाट राजनीति गर्ने गरेका थिए । उता राजधानीस्थित रहेको महिला तथा बालबालिका क्षेत्रमा कार्यारत संस्था रक्षा नेपालले ती बालिकाको उद्दार गरेको थियो । गोपनियताका लागि बालिकाको नाम अदालतमा घ कुमारी राखिएको छ । सवैको प्रयास पछि बलात्कृत घकुमारीले मानसिक सन्तुलन स्थिर बनाउन सफल भएकी थिइन्  भने उनी गृह जिल्ला बैतडी पुग्दा सवैले खुसि ब्यक्त गरेका थिए । ती बालिकाले जिल्ला अदालत बैतडीमा गई बयान दिइन् । बालिकाकै बयानको आधारमा प्रहरीले प्रमाण संकलन गरि साक्षीको बयान लिएपछि अपराधीलाई मुद्दा चलाएको थियो । बयान र प्रमाणको आधारमा जिल्ला अदालत बैतडीले प्रमुख दुई जना अभियुक्तलाई एक बर्ष अगाडि १३ बर्षको कैद सजाँय सुनाएको थियो । जिल्ला अदालत बैतडीले गरेको फैसला बदर गर्दै पुनरावेदन अदालत महेन्द्रनगरको अर्को फसैलापछि बलात्कारी अब खुलेआम हिड्न पाउने भएका छन् । पुनरावेदन अदालत महेन्द्रनगरले दोषीलाई उन्मुक्ति दिएर आफुमाथि अन्याय गरेको पीडितका परिवारले बताए ।

पीडित परिवारका अनुसार बलात्कारीको परिवारबाट प्रमुख न्यायाधीश श्रेष्ठ र फैसला गर्ने न्यायाधीश शाहीले १८ लाख रुपैयाँ बुझेर उक्त फैसला गरेका हुन् । राष्ट्रिय मुद्दा बनेको बलात्कार जस्तो जघन्य अपराधमा पुनरावेदनका न्यायाधीशले गरेको फैसला विरुद्ध न्यायपरिषद्मा उजुरी हाल्ने तयारीमा पीडितका आफन्त जुटेका छन् । अर्कोतिर न्यायाधीश श्रेष्ठ भने सर्बोच्च अदालतको स्थाई न्यायाधीशमा प्रस्तावित भएका छन् । उनीमाथि संसदीय सुनवाई भइरहेको छ । पुनराबेदन अदालत महेन्द्रनगरका मुख्य न्यायाधीश श्रेष्ठमाथि ७ क्वीन्टल चरेश विदेश पठाउने प्रकरणमा घुष खाएर दोषीलाई छुटाएको भन्ने उजुरी सम्बन्धमा सभासद्हरुले प्रश्न उठाएका छन् । संसद सचिवालय सिंहदरबारमा जारी बैठकमा सभासद्हरुले ०६१ सालमा काठमाडौँ जिल्ला अदालतको न्यायाधीश रहँदा गरेको उक्त बिबादस्पद फैसला सम्बन्धमा प्रश्न राखेका हुन् ।

Share on Twitter Share on Facebook