राजधानीमा फस्टाउँदो मृगौलाको अबैध ब्यापार

रोशन पाण्डे । काठमाडौं । मृगौलाका बिरामी बढेसँगै यसको अवैध कारोबार पनि मौलाउन थालेको छ । प्रहरीले मृगौला कारोबारमा संलग्न १० जना गिरोहलाई राजधानीबाट गत साता पक्राउ गरेपछि मृगौला कारोबारी सल्वलाएको पुष्टि भएको हो । मृगौला तस्करीले बिभिन्न आर्थिक प्रलोभनमा पारि अशिक्षितलाई भारतसम्म पुर्‍याएर मृगौलाको पत्यारोपण गर्ने गरेको समाचार विगतमा बाहिर आएपनि राजधानीकै अस्पतालमा किर्ते कागजात तयार पारि पत्यारोपण गर्न लागेको भेटिएको हो । एकाघरको परिवामा मृर्गौला पत्यारोपण गर्न कानुनीले छुट दिएको छ । तर, कारोबारीले  गरिव र अशिक्षितलाई किर्ते कागजात तयार पारि कागजी रुपमा मात्र एकाघरको मृगौला पत्यारोपण गराउदै आएको स्रोत बताउँछन् ।

        गिरोहको प्रलोभनमा पारि मृगौला बेच्न राजधानी आएका चितवन र काभ्रेको दुई जनालाई प्रहरीले शिक्षण अस्पतालको अप्रेसन थियटरबाट उद्धार गरेको थियो । उनीहरुकै बयानको आधारमा महानगरीय प्रहरी वृत्त, महाराजगञ्जले गत बुधबार र बिहीबार छापा मारेर राजधानीको सुन्धारास्थित विभिन्न गेस्ट हाउसबाट मृगौलाको कारोबारी १० जनालाई पक्राउ गरेको थियो । प्रहरीका अनुसार कारोबारी मध्येका छ जना आफैं मृगौला बेचेका कारोबारी हुन् । उनीहरुले भारत पुगेर मृगौला बेचेका थिए । अहिले आफैं मृगौला तस्करीको कारोबार गर्न लागेको प्रहरीले बताएको छ । मृगौला बिक्रीमा संलग्न रहेको आरोपमा पक्राउ परेका प्रकाश तामाङ, अमिर तामाङ, विनोद मिजार, विक्रम परियार, हरि परियार, सागर मिजार, सरस्वती श्रेष्ठ, राजु खड्का, रञ्जित महर्जन र गौर सिंह जागरीमाथि प्रहरीले कारवाही प्रक्रिया अगाडि बढाएको छ । पक्राउ परेका आरोपी काभ्रे फूलबारी, सानोचौर, पाँचखाल, बालुवा गाविसका हुन् ।

सिन्धुपाल्चोक र काभ्रेमा अत्याधिक मृगौला बिक्री हुने जिल्लामा पर्छ । गत बर्ष काभ्रे प्रहरीले कार्भेको होक्सोबाट ठूलो गिरोहलाई नियन्त्रमा लिएपछि यसको खुलासा भएको थियो । होक्से गाबिसबाट मात्र एक सय भन्दा बढीले मृगौला बेचिएको काभ्रे प्रहरीले जनाएको थियो । मृगौलाको अवैध बेचबिखन कार्यमा संलग्न रहेको आरोपमा पाटन क्याम्पस नेविसंघका पूर्व उपसभापति सचिन महर्जन पनि पक्राउ परेका थिए । २९ चैत  २०७० मा पक्राउ परेका काभ्रे होक्से–१ का प्रेमबहादुर बजगाईको वयानको आधारमा काभ्रे प्रहरी ठूला मृगौला तस्करीको जालो समात्न सफल भएको थियो । बजगाईको बयानका आधारमा प्रहरीले संलग्न अन्य व्यक्तिहरुलाई समेत पक्राउ गरेको थियो । तस्करीको आरोपमा पक्राउ पर्नेहरुमा काभ्रे पनौतीका मनोज रावत, नुवाकोट मदानपुर–१ का पुना ठकुरी तथा मिना दाहाल भन्ने मिना दर्जी, सोही स्थानकै कृष्णबहादुर दर्जी, ललितपुर उपमहानगरपालिका–२१ का सचिन मर्हजन, ललितपुरकै सानुलाल महर्जन, तनहुँ मिलुंग–३ का कुमार अधिकारी, काभ्रेको काभ्रे गाविस–४ का सुमन श्रेष्ठ र काभ्रे पााचखाल–६ का राजन दर्जी र विनोद ढकाल थिए । काभ्रेको होक्सेमा एकै परिवारका तीनदेखि पाँचजनाले मृगौला बेचबिखन गरेका छन् भने होक्सेबाट मात्र अहिलेसम्म झन्डै एक सय जनाले मृगौला बेचेको प्रहरीले जनाएको छ । गरिवीका कारण मृगौला विक्री गर्ने होक्सेका श्याम श्रेष्ठ र कृष्णबहादुर शाहीको अकालमा मृत्यु भइसकेको छ । दुई दर्जन भन्दा बढी ब्यक्तिहरू मृत्युको मुखमा छन् । मृगौला बेचबिखनका अभियुक्तहरुलाई मानव बेचबिखन ऐन, ०६४ अनुसार मुद्दा चलाउने गरिएको छ । अभियोग प्रमाणित भएमा १० वर्ष कैद र दुई लाखदेखि पाँच लाखसम्म जरिवाना हुने कानूनी प्रावधान छ ।
यसरी हुन्छ मिगौलाको तस्करी:
मृगौला दिने व्यक्तिलाई ५० हजारदेखि एक लाखसम्म दिएर दलालहरुले ७ देखि १० लाखसम्ममा बेच्ने गरेका छन् । मृगौला तस्करीको जालोमा नेपालका चर्चित डाक्टरहरूको समेत संलग्नता भेटिएको छ । उक्त गिरोहलाई सघाउने कार्यमा बनस्थलिमा रहेको राष्ट्रिय मृर्गौला रोग उपचार केन्द्रका प्रमुख डा.ऋषिकुमार काफ्लेको समेत संलग्नता रहेको स्रोत बताउँछ । केही बर्ष पहिले नेपालमा पक्राउ परेका भारतीय मृगौला तस्कर अमितकुमारसँग पनि उनको सम्वन्ध रहेको प्रहरीको आशंका छ । दलालहरुले नै गाउँका सर्वसाधरणलाई आर्थिक प्रलोभन देखाएर भारतसम्म मृगौला तस्करी गर्न लैजाने गरेको छन् । होक्से गाविसका गंगा तामाङले पाँचखाल प्रहरीमा उजुरी दिएपछि अनुसन्धानका क्रममा मृगौला तस्करहरूको धन्दा र सञ्जाल पहिलोपटक पर्दाफास भएको थियो । मृगौला पत्यारोपण गर्न आवश्यक परेपछि सम्वन्धित निकायमा खोजी गदैं विरामीका आफन्त वा विरामी आफैं अस्पताल र सम्वन्धित निकायमा पुग्छन् ।

                   त्यसपछि चिकित्सकहरूले हामीसँग मृगौला छैन्, तपाई यो नम्वरमा फोन गर्नुस् भन्दै मृगौला तस्करी गर्ने दलालहरूको नम्बर दिन्छन् र, विरामीले दलाललाई भेटेर विरामीको आवश्यक जानकारी लिएपछि सोही अनुसार मृगौला र रगतको समूह मिल्ने ब्यक्तिको खोजिमा दलालहरू लाग्छन् । मान्छे भेटिएपछि दलालले विभिन्न प्रलोभनमा पारि मृगौला त लिन सफल हुन्छन् तर मृगौला विक्री गर्नेलाई पचासदेखि एक लाख रुपैयाँसम्म दिएर मृगौला पत्यारोपण गराउनेबाट दुई देखि १० लाख रुपैयाँसम्म लिने गर्छन् । मृगौला तस्करी गर्ने दलालहरूले एउटै घरको मान्छे भएको प्रमाण जुटाउन नक्कली नागरिकता बनाउनेदेखि सम्पूर्ण आवश्यक कागजात जुटाउँछन् । त्यसपछि मात्र भारतको मद्रास, चन्द्रीगड, गंगाराम, एपोलो जस्ता अस्पतालमा लगेर मृगौला प्रत्यारोपण गराइन्छ । अहिले नेपालकै अस्पतालमा यो सुविधा पाउन थालेपछि मृगौला तस्करहरु सल्बलाएका हुन् । राज्यले ठोस नीति अबलम्बन नगरेसम्म मृगौलाको अबैध कारोबार नियन्त्रण हुने संभावना न्यून छ । अकालमा मृत्युवरण गरेका ब्यक्तिबाट मृगौला लिने र फ्रिज  गर्न सकेको खण्डमा मात्र मृगौला तस्करी रोकिन सक्छ ।

Share on Twitter Share on Facebook