यस्ता छन् एसएसपी खरेलको नजरमा ७ डीआईजी

काठमाडौं । चरम आर्थिक चलखेल र बरिष्ठता मिचेर डीआईजीबाट एआईजीका लागि बढुवा सिफारिस भएका ७ जना डीआईजी मध्ये ६ जनाको माष्टर डिग्री नभएको रहस्य खुलेको छ । स्रोतका अनुसार ३ करोड दिने सर्तमा बढुवा सिफारिस भएका डीआईजी प्रतापसिंह थापाले मात्र माष्टर डिग्री गरेका छन् । विशिष्ट श्रेणीमा बढुवा हुनका लागि निजामती सेवामा अनिवार्य रुपमा डिग्री गरेको हुनु पर्छ । तर नेपाल प्रहरी जस्तो संवेदनशिल संगठनमा भने माष्टर डिग्रीको कुनै महत्व नदिएकोप्रति विभागभित्र नै असन्तोष बढेको छ । प्रहरी निरीक्षकमा भर्ना हुँदा गरेको ब्याच्लर डिग्रीकै भरमा विशिष्ट श्रेणीमा बढुवा हुने गरेको छ । स्रोतका अनुसार जागिर खाँदाको योग्यताकै भरमा आईजीपी हुनेमा बर्तमान आईजीपी उपेन्द्रकान्त अर्याल पनि पर्छन् ।

           महानगरीय प्रहरी परिसरका एसएसपी रमेश खरेलले बढुवा सिफासिस गर्दा चरम आर्थिक चलखेल भएका कारण प्रहरी संगठनभित्र हुने भ्रष्टाचार बारे औंला उठाएका थिए । सार्वजनिक रुपमा आफ्ना हाकिमका विरुद्ध व्रिफकेश बोकेर बढुवाका लागि चलखेल गरिरहेको अभिब्यक्ति दिएका कारण एसएसपी खरेललाई अनुसन्धानका लागि प्रहरीको मुख्यालयमा तानिएको छ । सञ्चारमाध्याम र सर्वसाधारणबाट वाह्वाही पाइरहेका खरेलको आर्थिक पारदर्शिता बारेमा समेत प्रश्न उठ्न थालेको छ । के एसएसपी खरेलले प्रहरीमा भर्ना हुँदा बुझाएको विवरण र अहिलेको सम्पत्ति विवरण सार्वजनिक गर्ने हिम्मत गर्न सक्छन् त ? एसएसपी खरेलले बढुवामा हुने भ्रष्टाचार बारे मुख खोलेका र एआईजी हुन बढुवा सिफारिसमा परेका यस्ता छन् ७ डीआईजी ।
राजेन्द्रसिंह भण्डारी: डीआईजीबाट एआइजीमा बढुवा हुनका लागि सिफारिस भएका भण्डारी चरम विवादित ब्यक्ति मानिन्छन् । डीआईजी भण्डारीविरुद्ध अकुत सम्पत्ति कमाएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको मुद्दा तामेलीमा राखिएको छ । भारतीय नक्कली नोटका कारोबारी युनुस अन्सारीमाथि जेलभित्र नै भएको गोली काण्डमा डीआईजी भण्डारीको नाम भारतीय गुप्तचरी संस्था ‘र’सँग जोडिएको थियो । तर बरिष्ठताको आधारमा डीआईजी भण्डारी एक नम्बरमा स्वाभाविक मानिन्छन् । कार्य क्षमता र नेतृत्वदायी भूमिका निभाउन सक्ने डीआइजी भण्डारीमा खुवि छ ।
सुरेन्द्रबहादुर शाह: डीआईजी शाह दोस्रो नम्बरमा बढुवाका लागि सिफारिस भएका छन् । डीआईजी शाह पूर्व राजपरिवार र शाही सरकारसँग निकट मानिन्थे । विभिन्न ठाउँमा बस्दा उनीमाथि पनि भ्रष्टाचार गरेको आरोप छ । शाह एसएसपी हुँदा उनका छोराले शाहकै हतियार प्रयोग गरि एक जना ब्यक्तिको हत्या गरेका थिए । तत्कालिन समयमा शाहले पदको दुरुपयोग गरि आफ्नो छोरा र आफुलाई कारवाहीबाट बचाएका थिए । तर शाह प्रहरी संगठनमा योग्य र अनुभवी विशिष्ट अधिकृतका रुपमा चिनिन्छन् ।
विज्ञानराज शर्मा: डीआईजी शर्मा पनि विवादित मानिन्छन् ।  मध्ये क्षेत्रमा रहँदा शर्माले तस्करहरुसँग मिलेमतो गरि सुन तस्करी गरेको आरोप छ । त्यति मात्र नभएर भारतीय नक्कली नोटका कारोबारीसँग मिलेर सञ्जाल फिजाउन सहयोग गरेको पनि उनीमाथि आरोप छ । कुख्यात फरार ज्यान मुद्दाका अपराधी राजु गोर्खाली पक्राउ पर्दा शर्माले गोर्खालीको गाडि ड्राइभरका रुपमा चलाइरहेका थिए । पछिल्लो समयमा डीआईजी शर्मा र गोर्खाली मिलेर साझेदारीमा ब्यवसाय गर्ने गरेको चर्चा छ ।
प्रतापसिंह थापा: बिशिष्ट अधिकृत पदमा रहँदा राजधानी बाहिर कहिल्यै नगएको र कुनै पनि क्षेत्रको जिम्मेवारी नपाएका डीआईजी थापा ३ करोड बुझाएकै भरमा बढुवा सिफारिसमा परेका हुन् ।  तीनै थापालाई भौगोलिक जिम्मेवारी सम्हालेकोमा १० नम्बर मिलेको छ । बढुवा सिफारिसमा थापा ४ नम्बरमा परेका छन् । बरिष्ठताको आधारमा ११ औं नम्बरमा रहेका थापाको बढुवा सिफारिस सवै भन्दा विवादित भएको छ । लामो समयसम्म प्रवन्ध शाखामा बसेर अकुत कमाएका डीआईजी थापाको बढुवा सिफारिस नेपाल प्रहरीमा कमिशन मिलाएकै भरमा प्रायजसो टेण्डर आफ्नो पक्षमा पार्दै आएका ठेकेदार दिपक भट्टले सेटिङ गरेका थिए । गृहमन्त्री गौतमलाई ३ करोड रकम बुझाउने सर्तमा डीआईजी प्रतापसिंह थापालाई एआईजीमा बढुवा गर्न सिफारिस ठेकेदार भट्टले गरेका थिए । प्रवन्ध शाखामा लामो समयसम्म बसेर अकुत कमाएका थापाको सम्पत्ति र विभिन्न बैंकमा रहेका खाता, लकर समेत अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रोक्का राखेको छ । प्रमुख आयुक्त कार्की र गृहमन्त्री गौतमसँग निकट सम्वन्ध राख्ने प्रहरीको ठेकेदार भट्टले प्रहरीमा हतियार, लत्ताकपडालगायतका आवश्यक सामाग्री आपूर्ति गर्दै आएका छन् । त्यसैक्रममा भट्ट र लामो समयसम्म प्रवन्ध शाखामा विताएका डीआईजी थापाको एकाएक सम्वन्ध राम्रो बनेको थियो । हाल डीआईजी थापा लागूऔषध नियन्त्रण ब्यूरोमा कार्यरत छन् ।
विरेन्द्रबाबु श्रेष्ठ:
एमाओवादीका नेता नारायणकाजी श्रेष्ठको नाता पर्ने भएकै कारण एसएसपीबाट डीआईजीमा बढुवा पाएका थिए । श्रेष्ठले विभिन्न ठाउँमा रहँदा अकुत सम्पत्ति कमाएका छन् । राजधानी बाहिर सामान्य परिवारमा जन्मिएका डीआईजी श्रेष्ठको अहिले बालाजुमा मात्र २७ वटा सटर भएको विशाल महल रहेको छ । यो त सानो उदाहरण मात्र हो । विशिष्ठ पदमा रहेर पनि अहिलेसम्म युएन मिशनमा नगएका डीआईजी श्रेष्ठको नेतृत्व गर्ने क्षमता एकदमै कम छ । एमाओवादीको आर्शिवादका कारण बढुवा हुँदै आएका श्रेष्ठले समेत ३ करोड दिने सर्तमा बढुवा सिफारिस भएको चर्चा छ । डीआईजी श्रेष्ठको डील अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीमार्फत भएको स्रोतको दावी छ । पछिल्लो समयमा डीआईजी श्रेष्ठलाई काँग्रेसका महामन्त्री प्रकाशमान सिंहले च्यापेका छन् । अख्तियारमा नै कार्यारत श्रेष्ठ बरिष्ठता अनुसार ८ औं नम्बरमा पर्छन् । ८ औं नम्बरमा रहेका डीआईजी श्रेष्ठलाई बढुवा सिफारिस गर्दा ५ नम्बरमा पारेपछि लोक सेवा आयोगमा उजुरी परेको छ ।
रमेशशेखर ब्रर्जाचार्य: डीआईजी ब्रर्जाचार्य त्यति विवादमा परेका छैनन्  । तर ब्रर्जाचार्यलाई एमालेका प्रभावशाली नेता विष्णु पौडेलले च्यापेका कारण मात्र उनको बढुवा सिफारिस भएको हो । स्रोतका अनुसार  डीआईजी ब्रर्जाचार्यलाई भारतीय प्रहरीले पक्राउ गर्न वारेन्ट जारि गरेको छ ।
केदार साउद: नेपाली काँग्रेसको नेता एनपी साउदका दाई हुन् डीआईजी साउद । सिंचाई मन्त्री एनपी साउद देउवा निकट मानिन्छन् । देउवा निकट भएका कारण प्रधानमन्त्री कोइरालालाई उनको बढुवा गर्न दबाब परेको थियो । डीआईजी साउदको बढुवा नभए कोइराला सरकार नै ढालिदिने नेता देउवाको चेतावनी र अडानपछि मात्र डीआईजी साउदको बढुवा सिफारिस भएको स्रोत बताउँछ । बढुवा सिफारिस नहुने चाल बुझेपछि काँग्रेस नेता तथा सिंचाई मन्त्री साउदले त मन्त्रीबाट नै राजिनामा दिने तयारी गरेका थिए । मन्त्रीबाट राजिनामा दिँदा नराम्रो म्यासेज बाहिर जाने भएपछि प्रधानमन्त्री कोइरालाले डीआईजी साउदको बढुवामा अडान लिएका थिए । विभागमा अनुसन्धान र नेतृत्व गर्ने क्षमता नभएको डीआईजीका रुपमा डीआईजी साउद चिनिन्छन् ।

Share on Twitter Share on Facebook