यूनियनको महाधिवेशमा उम्मेदवारीको ओइरो

काठमाण्डौ । महाधिवेशनको मिति नजिकिँदै जाँदा नेपाली काग्रेसको शुभेच्छुक संस्था नेपाल प्रेस यूनियनमा चुनावी रौनक बढेको छ । पर्यटकीय नगरी पोखरामा आगामी असार ४ र ५ गते हुने यूनियनको महाधिवेशनका लागि दर्जनौले उम्मेदवारी घोषणा गरिसकेका छन् भने दर्जनौं क्रममा रहेका छन् । एक मात्र अध्यक्षका पदका लागि करिव एक दर्जनले उम्मेदवारी घोषणा गरेका छन् । घोषणा गर्नेमा ईटहरी महाधिवेशनमा उम्मेदवारी दिन नपाएका युवा पत्रकार रामप्रसाद दाहाल, यसअधि भएका महाधिवेशनमा पटकपटक उठ्दै मोलमोलाई पछि पछाडि हट्ने बानी परेका पूर्व बरिष्ठ उपाध्यक्ष दामोदरप्रसाद दवाडी, कुनै पनि पत्रपत्रिकामा काम नगरेको तर नेपाली काँग्रेसका नेता शेरवहादुर देउवा निकट भएका कारण यूनियनमा अटाएका कार्यवहाक अध्यक्ष बद्री सिग्देल र यूनियनको नाममा उठैती धन्दा चलाउने महासचिव शिव लम्साल रहेका छन् ।

         आगामी महाधिवेशनमा आफुलाई अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गर्नेमा पूर्व महासचिव विन्दुकान्त घिमिरे, उपाध्यक्ष गंगाधर पराजुली, सचिवद्धय भुवन भट्ट र सन्तोष न्यौपाने तथा नवराज लम्सालसमेत छन् । यूनियनमा अध्यक्षका लागि मात्र यति धेरै उम्मेदवारी परेको सायद यूनियनको इतिहासमा यो पहिलो पटक होला । पटकपटक यूनियन हाँकी सकेका बयोबृद्ध बरिष्ठ पत्रकारहरुको कुर्सी मोहका कारण पनि अध्यक्ष पदका लागि करिव एक दर्जनको उम्मेदवारी दिएको हुनुपर्छ । अध्यक्ष पदका लागि उम्मेदवारी दिएका माथि उल्लेखित उम्मेदवारहरु मध्ये तुलनात्मक रुपमा युवा श्रमजीवी पत्रकार रामप्रसाद दाहाल र बद्री सिग्देलको उम्मेदवारीलाई राम्रो मानिएको छ ।  त्यसैगरी, महिला उपाध्यक्षमा बाला अधिकारीको नाम चर्चामा छ भने महासचिव पदका लागि दुई युवा पत्रकारको घमसान भिडन्त हुने भएको छ । महाधिवेशनमा महासचिव पदका लागि राजधानी दैनिकका श्रमजीवी युवा पत्रकार लिलाराज खनाल र हाम्राकुरा डटकमका अजयबाबु सिवाकोटी प्रमुख दावेदारका रुपमा प्रस्तुत हुने भएका छन् । महासचिव पदकै लागि उम्मेदवारी दिनेमा ईमेज च्यानलका होमप्रसाद लम्साल, यूनियनका कोषाध्यक्ष ईश्वरी ओझा, अन्नपूर्ण पोष्ट दैनिकका चन्द्रशेखर अधिकारीलगायत छन् ।

केन्द्रीय सदस्य हुन नपाई सचिव, कोषाध्यक्ष, महासचिव तथा अन्य बरिष्ठ पदमा उम्मेदवारी दिने गैरप्रजातान्त्रिक अभ्यास युवा पत्रकारहरुले थालेका कारण बरिष्ठ पत्रकारहरु यसपाली ओझेलमा पर्ने भएका छन् । यूनियनमा रातारात नामको सूची थपघट गरि टिका लगाइएका सदस्यहरुको हालीमुहाली बढी हुने गरेको छ । कतिपय केन्द्रीय सदस्यहरुलाई त भोट दिने मतदाताहरुले नै चिनेका छैनन् । बरिष्ठ उपाध्यक्षमा भने दिपक आचार्य, विजय सन्तोषी राईको नाम चर्चामा छ । सचिबमा कान्तिपुर एफएमका पवन आचार्य, यूनियनका सदस्य तथा ईमेज च्यानलमा कार्यरत सरोज अधिकारी, शिव देवकोटा, उज्यालो एफएमका सूर्य क्षेत्री, युवा पत्रकार खिलाराज कार्की, तनहुँका क्रियाशिल पत्रकार डम्बर अधिकारीले उम्मेदवारी घोषणा गरेका छन् । सचिवमा उम्मेदवारी घोषणा गरेका उम्मेदवारमध्ये कान्तिपुर एफएमका पवन आचार्य लोकप्रिय मानिन्छन् । कोषाध्यक्षमा भने अहिलेसम्म अभियान टाइम्सका छायाँचन्द्र भण्डारीले मात्र दावी गरेका छन् । पूर्वाञ्चल संयोजकमा सन्तोस सुवेदी र लिलावल्लब घिमिरेको नाम चर्चामा छ । मध्यमाञ्चलमा राममणी दाहाल र पश्चिमाञ्चलमा जनार्दन घिमिरेले उम्मेदवारी दिने तयारी गरेका छन् । त्यसैगरी सुदुरपश्चिममा विक्रम गिरी र मध्यपश्चिममा शुक्रऋषि चौलागाईको नाम चर्चामा छ ।

                     केन्द्रिय सदस्यमा भुवन शर्मा, रोजी ढकाल पराजुलीले उम्मेदवारी दिने चासो देखाएका छन् । अन्य चासो देखाउनेहरुमा रवीन्द्र सुवेदी, माधव धिताल, निरश खतिवडा, भवानी पाण्डे, रमेश खतिवडालगायत रहेका छन् । यसपटकको महाधिवेशनमा भने पार्टीले पत्याइसकेका महासमिति सदस्य समेत भइसकेका पत्रकारले उम्मेदवारी दिएको खण्डमा ब्यापक विरोध हुने भएको छ । साथै, केन्द्रीय सदस्य र केन्द्रीय प्रतिनीधि हुने वित्तिकै बरिष्ठता र रोलक्रमका ख्याल नगरी माथि जान खोज्ने परिपाटीलाई रोक्नका लागि विशेष पहल थालिनु पर्ने देखिएको छ । स्रोत भन्छ,‘यो टिके प्रथाले ल्याएको विकृति हो । यसलाई नियन्त्रण गर्न सवैलाई नियममा बाध्न जरुरी छ ।’
सुधार गर्नु पर्ने पक्षहरु:
१.पार्टीको राजनीति गरि टिकट पाउनेसम्मको हैसियत बनाएका उम्मेदवारहरुले शुभेच्छुक संस्था यूनियनमा उम्मेदवार बन्न रोक लगाउन थालिनु पर्ने ।
२.नेपाल विद्यार्थी संघ र पार्टीमा प्रत्यक्ष देखिने गरि काम गरिरहेका ब्यक्तिलाई यूनियनमा राख्न नहुने ।
३. पार्टीले हस्तक्षेप गरि उम्मेदवारलाई टिका लगाउन थालेको प्रथाको अन्त्य गरिनु पर्ने ।
४. प्रजातन्त्रमा चुनावले ठूलो महत्व राख्छ । त्यसैले चुनावबाट नै योग्य र सक्षम उम्मेदवारी छनौट गर्ने परिपाटी बसाल्नु पर्ने  ।
५.संगठन विस्तार गर्ने नाममा जो कोहीलाई पनि सदस्यता दिने प्रचलन रोकीनु पर्नेलगायत ।

Share on Twitter Share on Facebook