छोरीमैयालाई कसले बेपत्ता बनायो ?

छोरीमैयाको मोबाइलबाट उनकै कान्छी छोरीको मोबाइलमा म्यासेज आयो–‘म मनकामनामा छु, साथी पनि छ, पर्सी आउँछु ।’ त्यसपछि न छोरीमैया आइन् न त उनीबारे थप जानकारी नै आयो । मुद्दा पनि न्यायलयले किनारा लगाइदियो । जबकी छोरीमैयालाई म्यासेज लेख्न नै आउने थिएन् ।
रोशन पाण्डे / काठमाडौं । अपराध अनुसन्धानको जिम्मा लिएका प्रहरी र अभियोजन गर्ने सरकारी वकिल कार्यालयको गैरजिम्मेवारीपनका कारण चर्चित छोरीमैया महजर्न बेपत्ता मुद्दा न्यायालयबाट किनारा लागेको छ । प्रमाण अभाब देखाउदै जिल्ला अदालत काठमाडौंका न्यायाधीश राजेशकुमार काफ्लेले गत सोमवार मध्यराती मुख्य अभियुक्त मानिएकी सुरक्षा सिंह उर्फ निक्की सिंहलाई सफाई दिने निर्यण गरेसंगै छोरीमैयाको मुद्दा किनारा लागेको हो ।

छोरीमैया बेपत्ता पारेको अभियोग लागेकी निक्कीले कसुरबाट सफाई पाएपनि दुई बर्षदेखि बेपत्ता छोरीमैंया र उनका परिवारलाई न्याय दिलाउन भने सरकार असफल भएको छ । छोरीमैया १६ फागुन २०६८ देखि बेपत्ता भएकी थिइन् । छोरीमैंया बेपत्ता भएपछि उनका परिवारले प्रहरीमा निक्की सिंहले नै अपहरण गरी बेपत्ता बनाएको किटानी जाहेरी दिएका थिए । धेरै पटकको प्रयास पश्चात मात्र प्रहरीले सिंहबिरुद्ध जाहेरी लिएको थियो । छोरीमैंयाका परिवार, आफन्त र नागरिक समाजको दबाबका कारण सिंह बिरुद्ध जाहेरी दर्ता गर्ने प्रहरी कै साँठगाँठमा मुद्दा फितलो बनाइ सफाइ दिनुको पछाडि ठूलो रहस्य भेटिएको छ । अपहरणको आरोपित निक्की सिंह सुन र डलर तस्करीका बादशाह मानिने दिपक मल्होत्राको बहिनी हुन् । तत्कालिन समयमा पक्राउ परेकी निक्कीलाई मल्होत्राले प्रहरीमाथि दबाब दिएका कारण अनुसन्धान नै फितलो पारि मुद्दा अदालत पेश गरेको थियो । थुनछेक बहसका क्रममा अदालतबाट निक्कीसँग एक लाख मात्र धरौटी माग भयो । र, उनी तारिखमा छुटन सफल भइन् । निक्कीलाई बचाउन मुद्दा अनुसन्धानकै क्रममा आर्थिक चलखेल भएको थियो । उता प्रहरीले मुद्दाको अनुसन्धान फितलो बनाउँदा अदालतबाट उम्कन सजिलो भएको कानून ब्यबसायीको भनाइ छ । दुई बर्षदेखि बेपत्ता छोरीमैया महर्जनको लास र सासको अझै अत्तोपत्तो प्रहरीले लगाउन सकेको छैन । अपहरण मुद्दा भने एक किसिमले न्यायालयबाट अन्त भएको छ । अदालतले प्रमाण बुझ्न बाँकी छ भन्दै दर्जनौं पटक पेसी सार्दै आएको थियो । उक्त मुद्दा रातारात फैसला गर्नुले पनि आशंका उब्जिएको पीडित परिवारले बतायो । पेश्की सार्ने ठाँउ नपाएपछि गत सोमबार राति पौने दस बजे सिंहलाई सफाईको फैसला सुनाइयो । फैसला सुनेर छोरीमैयाँका छोरीहरु, परिवारजन र आफन्तमा रुवाबासी नै चल्यो । मेरी आमालाई बेपत्ता नपारेको भए कहाँ छिन् त उसो भए ?  फैसला सुनेपछि छोरी सुधाले रुँदै भनिन्, ‘अदालतले पनि अन्याय गर्‍यो ।’ छोरीमैया र सिंहबीच लेनदेन कारोबार थियो । पछिल्लो समयमा छोरीमैयासँग निक्कीले लिएको ५० लाख रुपैंयाँ सिंहले समयमा फिर्ता गर्न नसकेपछि उनीहरुबीचको सम्बन्धमा दरार आएको थियो । छोरीमैयाँ १६ फागुन २०६८ गतेका दिन सापट दिएको रकम लिन सिंहको निवासमा पुगेकी थिईन् । सोही दिनबाट उनी बेपत्ता भएको भन्दै उनका परिवाले लास या सास खोजीदिन प्रहरीसमक्ष पुगेका थिए । । लत्ताकपडाको व्यवसाय गर्दै आएकी छोरीमैयाले तयार पारेको घरेलु कपडाको बिक्रीसमेत निक्कीले गर्ने गरेकी थिइन् । उनीहरुसँगै ढुकुटी पनि खेल्ने गर्थे । छोरीमैंयाले पतिले कमाएको रकम र आफ्नो ब्यवसायीबाट जम्मा गरेको ५० लाख रुपैयाँ निक्कीलाई दिएकी थिइन् । छोरी सुधाको पढाइका लागि पैसा उनलाई आबश्वक भएपछि सिंहलाई ताकेता गर्दा पनि सिंहले रकम फिर्ता दिएकी थिइनन् । बेपत्ता भएको दिन बिहान ८ बजे छोरीमैया रकम लिन भनेर सिंहको घरमा पुगेको र केही बेरमै छोरीमैयाको मोबाइल स्वीच अफ भएको भन्दै छोरीमैयालाई बेपत्ता सिंहले बनाएको जाहेरी प्रहरीमा परेको थियो । दबाबको कारणले मात्र पक्राउ परेकी निक्कीको प्रहरीले अनुसन्धानकै क्रममा फितलो बनाएको कारण उनले उन्मुक्ति पाएको पीडित परिवारको आरोप छ । पछिल्लो समयमा तस्कर मल्होत्राको दबाबमा उक्त मुद्दा मिलाउन प्रहरी संगठनका आईजीपी उपेन्द्रकान्त अर्याल नै सक्रिय थिए ।

छोरीमैया खोज्ने नाटकिय समिति:

महिला हिंसाविरुद्ध अनुगमन गर्ने समितिले देशव्यापीरुपमा हुने महिला हिंसाका घटनाबारे अनुगमन गरेको थियो । तत्कालिन प्रधानमन्त्री बाबुराम भट्टराईको निर्देशनमा प्रधानमन्त्री कार्यालयका सचिव राजुमानसिंह मल्लको संयोजकत्वमा गठित अनुगमन समितिले छोरीमैयाको खोजी थालेको नाटक मच्चन गरेको थियो । छोरीमैया महर्जन बेपत्ता प्रकरणका सम्बन्धमा अनुगमन गरि कारवाहीका लागि सिफारिस गर्ने घोषणा समितीले गरे पनि ब्यवहामा लागू भएन् । छोरीमैया प्रकरणमा राज्यबाट कुनै सहयोग नै भएन् । उक्त समितिमा लैङगिक सशक्तिकरण समन्वय इकाइका सल्लाहकारत्रय सपना प्रधान मल्ल, रेणु राजभण्डारी र देवी खड्का, राष्ट्रिय महिला आयोगकी सदस्य मोहना अन्सारी, प्रधानमन्त्री तथा परिषद् कार्यालयका सहसचिव रमेश ढकाल, गृह मन्त्रालयका सहसचिव गणेशराज कार्की र महान्यायाधिवक्ता कार्यालयका सहन्यायाधिवक्ता ठोकप्रसाद शिवाकोटी सदस्य थिए ।

आमा खोजिदिन छोरीद्धयको हारगुहार:

नागरिकको सुरक्षा जिम्मा राज्यले लिनुपर्छ, यो राष्ट्रको दायत्व पनि हो ।  विदेशमा आफ्नो नागरिक हराउँदा त खोज्न कुटनीतिक पहल हुन्छ । तर आफ्नै देशमा हराएकी आमा खोज्न दुई छारीले सवै निकायमा गुहारे पनि कतैबाट सहयोग पाएनन् । दुई बर्षदेखि भौतारिएका छोरीमैयाको छोरीहरुले कुनै राहत त पाएनन् उल्टै गत सोमबार उनीहरुमाथि ब्रजपात भयो । अदालतको फैसला उनीहरुको बिपक्षमा भएपछि । सरकारको बिश्वास नभएपछि छोरीहरु सुशीला र सुधाले पटकपटक मानवअधिकार आयोगका पदाधिकारीलाई पनि आमा खोजिदिन आग्रह गरेका थिए । प्रशासनले घटनालाई सामान्य रुपमा लिएर बेवास्ता गरेको गुनासो उनीहरुले गर्दै आएका छन् । छोरीमैयाको खोजी गर्न माग गर्दै आफन्तहरु रिले अनशनसमेत बसे । सरकारले अनशन तोडाउन समिति गठन गरेको नाटक रच्यो । महिला अधिकारकर्मीहरुले एक बर्षसम्म बालुवाटार अकुपाई अभियान नै चलाए । तर सरकार कान सुने नसने गरि बस्यो । उल्टै अभियानकर्तालाई हिरासतमा लिन थाल्यो । महिला हिंसा रोकिनुपर्ने, काठमाडौंको जैसीदेवलकी छोरीमैया महर्जनको अवस्था सार्वजनिक गरिनुपर्नेलगायतका विभिन्न नारा लेखिएका प्ले कार्ड र ब्यानरसहित अधिकारकर्मीहरुले प्रधानमन्त्री निवास घेराउ गरे । तर सरकारले एक कानले सुनेर अर्को कानले उडायो । अकुपाई बालुवाटार अभियान सुरु गरेपछि छोरीमैयाको खोजी र महिला हिंसाका बारेमा सरकार गम्भीर नबनेको भन्दै अधिकारकर्मीहरुले नतिजा देखिने गरि काम गर्न सरकारसँग आग्रह पनि गरे । छोरीमैयाको अवस्था पत्ता लगाउन कसैले सकेन् । न्यायालयमा बिचाराधिन मुद्दा किनारा लागेसँगै अब उनका आफन्तले न्याय पाउने आशा पनि मरेको छ ।

कानूनी अभ्यास यस्तो छ:

अपहरण फौजदारी मुद्दा मध्येको गम्भिर प्रकृतिको एक अपराध हो । यस्तो अपराध गर्नेलाई कानुलले ७ देखि १५ बर्षसम्म कैदको ब्यवस्था गरेको छ । किटानी जाहेरीकै भरमा कयौं अपहरण मुद्दा ठहर भएका छन् ।  तर दुई बर्षदेखि बेपत्ता छोरीमैयाको किटानी जाहेरी तथा जाहेरीलाई सर्मथन गर्ने देख्ने सुन्नेको बकपत्रले जाहेरीलाई सर्पोट गर्दा पनि मुद्दा ठहर नहुनले कानून ब्यवसायी नै तिन छक परेका छन् । प्रहरीले मुद्दाको अनुसन्धानमै अभियुक्तलाई सजाँय भन्दा बचाउनको लागि अनुसन्धान फितलो बनाएको कानून ब्यवसायी बताउँछन् । किटानी जाहेरीकै भरमा सयौं अभियुक्तहरु जेलको कालकोठरीमा थन्किएका छन् । तर निक्की सिंहलाई किटानी जाहेरीको भरमा न्यायालयले थुनामा राख्ने र कैद गर्ने आँट गर्न नस्कनुलाई आश्चर्य मानिएको छ ।

Share on Twitter Share on Facebook