नेपालका सट्टेबाजको कनेक्सन मुम्बईसम्म

ब्राजिलमा विश्वकप फुटवल, नेपालमा अवैध सट्टेबाजी /
रोशन पाण्डे / काठमाडौं । बिश्वको ध्यान यतिखेर सर्बाधिक लोकप्रिय विश्वकप फुटवल खेलमा केन्द्रित रहेका बेला नेपालमा भने त्यसको सट्टेबाजी ब्यापक हुन थालेको छ । नेपालमा सट्टेबाजी गर्ने गिरोहको कनेक्सन प्रत्यक्ष मुम्बईसम्म रहेको स्रोतले बताएको छ । नेपालमा सट्टेबाजी  खेलाउने गिरोहले मुम्बईसम्म सम्पर्क गर्ने मात्र नभई सट्टेबाजीको बोलकबोल फोन र ईन्टरनेटमार्फत हुने गरेको छ । बिश्वको हरेक नागरिक वल्र्डकपको शिल कसले उचाल्छ ? भन्ने खुलदुलीमा रुमलिएका बेला नेपालका जुवाडे भने कुन खेलमा कति पैसा लगाउने र कति कमाउने भन्ने दाउमा छन् । स्रोतका अनुसार वल्र्डकपको बहानामा नेपालमा रहेका दलाल तथा जुवाडेले करोडौं कमाउन सपनामा उनीहरुको रात वित्न थालेको छ । वल्र्डकपको बहानामा जित र हारको जुवा खेलाइनु सरासर गैरकानूनी हो । यसलाई अन्तर्राष्ट्रियस्तरमा ‘बुकी’ खेल भनिन्छ । सवैभन्दा बढी बुकीको अवैध धन्दा छिमेकी मुलुक भारतमा हुने गरेको छ ।

स्रोत भन्छ,‘नेपालमा भने सट्टेबाजीको नामबाट बुकी प्रख्यात छ । नेपालमा सट्टेबाजी खेलाउने नायकका रुपमा नागराज उपनामले चिनिने भारतीय नागरिक चिनिन्छन् ।’उनको बास्तबिक नाम र परिचय नेपाल प्रहरीलाई समेत जानकारी छैन् । विश्वस्तरमा हुने क्रिकेट होस् वा फुटबल सट्टेबाजीको जुवा नेपालमा पनि दिनप्रतिदिन फस्टाउँदो छ । जसका कारण नेपालबाट बर्षेनी अर्बौ रुपैयाँ अबैध तरिकाले विदेशिने गरेको छ । तर राज्यको सम्बन्धित निकाय भने कानमा तेल हालेर बसिरहेका छन् । स्रोतका अनुसार नेपालमा अन्तर्रा्रष्टिय एजेण्ड नभएपनि भारतीय गिरोहले सट्टेबाजी सञ्चालन गर्दै आएका छन् । नेपालमा भारतीय मुद्राको दर अनुसार सट्टेबाजी जुवा खेलाइने गरिएको छ । यतिखेर नेपाली क्यासिनोमा लगानी गर्ने दलालहरुको आँखा सट्टेबाजीमा परेको छ ।
पछिल्लो समयमा काठमाडौंमा सट्टेबाजी खेलाउने गिरोहमा साँग्रिला क्यासिनोका बिकास भुजेल अग्रस्थानमा छन् । भूजेल क्यासिनो साँग्रिलाको मार्केटिङ म्यानेजर हुन् । भुजेलले ठमेलका अधिकांश ब्यापारी तथा क्यासिनोमा मिटरब्याजमा लगानी गर्ने गिरोहमार्फत सट्टेबाजीको रकम उठाउने गरेको स्रोतले बतायो । जसमा मिटरब्याजमा क्यासिनोमा लगानी गर्ने तथा क्यासिनो किङ नामले चिनिएका काभ्रेतिरका बलराम सापकोटा पनि रहेका छन् । त्यस्तै, भूजेलले क्यासिनोका अर्का कर्मचारी अम्बिका बस्नेतमार्फत पनि सट्टेबाजी खेल खेलाउँदै आएका छन् । राजधानीको सबै भन्दा ठूलो खेल ठमेलमा हुने गरेको छ । ठमेलको फेसेज बारका मालिक राम गिरीले त सट्टेबाजीको अबैध धन्दा आफ्नै डिस्कोबाट सञ्चालन गरिरहेका छन् । त्यस्तै, बौद्धको दिपेश लामा, बलेका भाई मिलन सापकोटा, काभ्रेली छोटा डन बिष्णु लामा, ज्यान मार्ने उद्योगमा फरार रहेका धावा लामा, गुण्डा कुमार श्रेष्ठ ‘घैंटे’, तेजेन्द्र गुरुङलगायत पनि सट्टेबाजी खेलमा रमाईरहेका छन् । ठमेलमा ब्यापारीका नामबाट चिनिएका बियरबारका सञ्चालक भुपेन कुँवर, माईला नामले चर्चित राजु सिंह, आईसबारका मालिक श्याम अधिकारी, नयाँ बजारका दिपेश लामा, ठमेलमा रहेको टिएनटी क्लबका किरण श्रेष्ठ, दरबारमार्गस्थित आई क्लबका सञ्चालक स्टालिन शेरचन पनि यो खेलमा लागेका छन् ।

स्रोतका अनुसार शेरचनले त प्रहरीलाई नै सट्टाबाजीको खेल खेलाउँदै आएका छन् । बिबादास्पद छबि भएका शेरचनले प्रहरीका हाकिमहरुलाई नै यौनकर्मी सप्लाई गर्दै आएको उनीनिकट स्रोत बताउँछ । विश्वकप फुटवल सुरु भएपछि त राजधानीमा सट्टेबाजीले बिकराल रुप लिएको छ । अनुसन्धानमा खटिएका एक प्रहरीका अनुसार प्रमाण अभाबका कारण सट्टेबाजी खेलाउने र खेल्नेलाई पक्राउ गर्न सकिएको छैन् । महानगरीय आयुक्त कार्यालयका डीआईजी विश्वराज शाहीले सट्टाबाजीका बारेमा प्रहरीलाई अहिलेसम्म कुनै जानकारी नभएको तर जानकारी आएको खण्डमा प्रहरीले अनुसन्धान गरि कारवाही थाल्ने बताए ।
यसरी हुन्छ सट्टेबाजीको रेटिङ:
बलियो र कमसल मुलुक हेरेर यसको भाउ फेरबदल हुने गरेको छ । सट्टेबाजीका दलालले प्रत्येक दिनको फुटबल समुहको मूल्याङन गर्दै रकम उठाउने गर्छन् । अवैध धन्दा भएको कारण फोनबाटै सट्टेबाजीको बोलकबोल हुने गर्छ । जसलाई दलालले खेलको रेट यति फ्याँकिएको छ आज बजारमा भन्दै हल्ला चलाउने गर्छन् । सट्टेबाजीका लागि रकम बोलकबोल हुँदा हार्ने र जित्ने बाहेक बराबरी भएको खण्डमा पनि बाजी थाप्ने र बोलकबोल गरे अनुसार नै रकमको लेनदेन हुन्छ । गत शुक्रबार स्पेन र नेदरल्याण्डबीच भएको चर्चित खेलमा सट्टेबाजी गर्नेले स्पेनले जितेको खण्डमा एक रुपैंयाँ बराबर ७५ पैसा पाउँथे भने नेदरल्याण्डको पक्षमा बाजी थाप्नेले चार रुपैंयाँ, तीस पैसा पाउँथे । र, खेल बराबरी भएको खण्डमा दुई रुपैंयाँ, तीस पैसाको रेटिङ भएको थियो । त्सस्तै, शुक्रवार नै भएको मेक्सिको र क्यामरुनको खेलमा मेक्सिकोले जितेमा एक रुपैयाँ सट्टेबाजी थाप्नेले एक रुपैंयाँ २० पैसा पाउने तथा क्यामरुनले जिते दुई रुपैंयाँ पाउन सक्ने रेटिङ भएको थियो । त्यस्तै खेल बराबर हुने पक्षले दुई रुपैंयाँ पाउने ब्यबस्था गरिएको थियो । त्यसैगरी, शुक्रबार नै भएको चिल्ली र अष्ट्रेलियाको खेलमा चिल्लीको पक्षमा पचहत्तर पैसा र अस्टेलियाको पक्षमा आठ रुपैंयाँ रेटिङ थियो ।  खेल बराबर भएमा तीन रुैपैंयाँ, तिस पैसा पाउने बजारमा रेटिङ थियो । वल्र्डकप चम्कीएको बेला राजधानीमा भने आपराधिक पृष्ठभूमिबाट आएका ब्यक्तिहरुले सट्टेबाजीको अबैध धन्दा चलाउन थालेका हुन् । नेपालका दलालहरु भारतीय नागरिक नागराजबाट परिचालन रहेको स्रोत बताउँछ । भारतमा क्रिकेट खेलमा ठूलो मात्रमा सट्टेबाजी हुने गरेको छ । देखाउनको लागि भारतीय दलालले दूध डेरी, होटल, समाजसेवी तथा आयात निर्यातको ब्यापार गरेको देखाउँदै आएका हुन्छन् । तर उनीहरुले सट्टेबाजीमा मात्र अर्बौ रुपैयाँ लगाउने गरेका छन् । भारतमा ५० लाख रुपैयाँ भन्दा सानो कारोबारको सट्टेबाजी गर्नेको खासै मूल्याङकन हुँदैन्  भन्दै राजधानीबाट मंगलबार प्रकाशित हुने जनप्रहार साप्ताहिकले छापेको छ

Share on Twitter Share on Facebook