कसरी बने प्रचण्ड–ओली नङमासु ?

काठमाडौं । यतिवेला एमाले संसदीय दलका नेता केपी ओली र एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सम्बन्ध नङमासु जस्तै भएको छ । दुवै नेताले एमाले वरिष्ठ नेता माधवकुमार नेपाललाई मन नपराउने भएकाले उनीहरुको सम्बन्ध निक्कै नजिकीएको हो । एमाओवादीलाई देख्नै नसक्ने ओली यतिवेला प्रचण्डसँग मिलेर जान आतुर छन् । ओली निवास बालकोटमा गत साता प्रचण्ड भेट्न पुगेका थिए र उनले सरकार परिवर्तनका लागि ओलीसँग प्रस्ताव राखे । प्रचण्डले ओलीलाई दुई महत्पूर्ण प्रस्ताव राखेको स्रोतले बताएको छ । एमाले अध्यक्षमा माधव नेपाललाई हराउने र अध्यक्ष बनाउने, अध्यक्षसहित संसदीय दलको नेताका आधारमा मुलुकको नयाँ प्रधानमन्त्री पनि ओलीलाई बन्नका लागि प्रचण्डको अनुरोध थियो । ओलीले प्रधानमन्त्रीमा आफ्नो इच्छा नदेखाउँदा एमाओवादी नेतृत्वमा सरकार गठन गर्नसकिने प्रस्ताव गरेका प्रचण्डले माधव नेपाललाई पराजित गर्नका लागि जस्तोसुकै सहयोग पनि गर्ने वचन दिएका थिए ।

स्रोतका अनुसार सुशिल कोइरालाको सरकार ढाल्नका लागि एमाओवादीले सघाउने मात्र नभएर सवैप्रकारका सहकार्य एमालेसँग गरिने आश्वासन दिइएको थियो । स्रोतका अनुसार कोइरालाको सरकार कमजोरमात्र नभएर सवै निकायहरुमा कांग्रेस कार्यकर्ताहरुलाई सुविधा दिन थालेको र नियुक्तिमा पनि कांग्रेसीहरुलाई नै बढि समावेश गरी अन्य नियुक्तिहरुमा एमाले, एमाओवादीलाई चासो नदिएको गुनासो प्रचण्डले ओलीसँग गरेका थिए । सरकारका बारेमा नानाभाँती कुरा गरेका प्रचण्डले ओलीनिवासबाट बाहिरिएको केही घन्टा पनि नविति ओलीले सरकारसँग आफु रुष्ट भएको प्रतिक्रिया दिएका थिए । थाइल्याण्डबाट उपचार गरेर फर्केको केही दिनमा नै ओलीले कांग्रेसको सरकार धेरै समय स्वीकार गर्न नसकिने भावमा प्रतिक्रिया दिएपछि एमाओवादीले सुरु गर्न लागेको नयाँ सत्तामुखि खेलमा ऊ सफल हुन थालेको स्रोतले बताएको छ ।  


नयाँ सरकार बनाउँदा एमाओवादी र केही मधेसी दलहरुको समेत सहभागीता गराए कांग्रेसलाई प्रतिपक्षी बनाएर राख्न सकिने प्रस्ताव पनि प्रचण्डले गरेका थिए । स्रोतले भन्यो,‘नयाँ सरकार एमाले वा एमाओवादीको नेतृत्वमा गर्न सकिने प्रस्ताव आएको हो, तर त्यो प्रस्ताव कहिले पुरा गर्ने भन्ने सम्बन्धमा भने छलफल हुन बाँकी छ ।’ कांग्रेस एमालेबीच भएको सातबुँदे सहमतिले सरकार त के कुनैपनि ठाउँमा एमाओवादीको सहभागीता नहुने भएपछि एमाले नेताबीच महाधिवेशन नजिक देखिएको दुई धार मध्ये एकलाई उपयोग गरी सरकार ढाल्ने खेलमा एमाओवादी अघि बढेको हो । त्यसका लागि एमाओवादीले उपप्रधान तथा गृहमन्त्री बामदेव गौतमलाई पनि प्रलोभनमा पारेको छ । गौतमलाई प्रधानमन्त्रीमा सहयोग गर्ने लोभ देखाएर प्रचण्डले ओलीसँग सरकार परिवर्तनको सल्लाह गरेको उच्च स्रोतले बतायो । त्यसकारण ओलीसँगको भेट र कुराकानीका लागि गौतमले नै समयको प्रबन्ध मिलाएका थिए ।


ओली झलनाथ खनाललाई प्रधानमन्त्री बनाएर एमाले महाधिवेशनमा अध्यक्ष आफू बन्न रुचाउँथे । तर, प्रधानमन्त्री सुशिल कोइरालाले उनको चाहना पुरा गरेनन् । यद्यपि, कार्यबाहक प्रधानमन्त्री हुनका लागि आतुर गृहमन्त्री एवम् एमाले उपाध्यक्ष वामदेव गौतमले एमाले महाधिवेशनमा शक्तिको प्रयोग ओलीका लागि गर्ने भएका छन् । एमाओवादीलाई चुनौति दिएकै कारण प्रचण्ड एमालेको अध्यक्षमा ओली जिताउनका लागि बाहिर चाहिने सहयोग गर्न तयार छन्, भने ओली आफू अध्यक्ष बन्ने कुरामा जे पनि गर्न तयार छन् । दुवै नेताहरुको सेतुका रुपमा गौतमले काम गरिरहेका छन् ।
उता, ओलीले एमाले आफ्नो विरासतजस्तो ठानेपछि अध्यक्ष झलनाथ खनाल भने रुष्ट छन् । संसदीय दलको नेता हुँदैमा एमालेलाई पुरै दक्षिणपन्थी शैलीको बनाएको भनेर खनालले आफ्ना नजिकका नेताहरुसँग ओलीविरुद्ध कुरा गरेका छन् । उनले ओलीलाई काँध थापेर हिँड्दैमा एमाले कसैको पेवा र विरासत हुन नसक्ने बताएको स्रोतले बतायो

Share on Twitter Share on Facebook