भ्रष्टाचार विरुद्द लाग्ने पत्रकार यसरी भए पुर्न:बहाली

कास्की  । सामुदायिक रेडियो सराङ्कोट पोखराका समाचार प्रमुख कमल पौडेल अथक रेडियोको ६ महिने अवैध निलम्बनबाट मुक्त भएका छन् ।  पोखरा उपमहानगरपालिका कार्यालयमा भएका भ्रष्टाचारजन्य समाचार लेखन र बाचन गरेबापत रेडियो ब्यवस्थापन समितिले पौडेललाई ६ महिनाको लागि निलम्बन गरेको थियो । श्रमजीवी ऐन २०५१ विपरित रातारात उनलाई निलम्बन गरिएपछि पोखराको सञ्चार जगतमा छुट्टै तरङ्ग पैदा भएको थियो ।  निडर र जुझारु युवा पत्रकार पौडेलको निलम्बनप्रति नेपाल पत्रकार महासंघ कास्की र अन्य पत्रकारिता सँघ सम्वन्धित विभिन्न संघसंस्थाहरुले विशेष पहल गरेपछि उनको निलम्बन फुकुवा भएको हो । त्यसपछि तत्कालै बसेको रेडियो सञ्चालक समितिको बैठकले पौडेललाई सोही पद र स्थानमा पुर्न:बहाली गरेको हो ।

आफ्नो पुर्न:बहाली भएपछि प्रतिक्रिया दिँदै अथकले भने,‘भ्रष्टाचारजन्य समाचार लेखेको र बाचन गरेकै भरमा मलाई रेडियोको ब्यवस्थापनले ६ महिने अवैध निलम्बन गरेको थियो । निलम्बन फुकुवापछि न्याय पाएको अनुभव गरिरहेको छु । तर मेरो कलम र आवाज भ्रष्टाचार विरुद्ध निरन्तर चलिरहने छ ।’
भ्रष्टाचार बारे के–के लेखेका थिए पौडेलले:
पौडेलले पोखरा उपमहानगरपालिकामा भएका सिमसार अतिक्रमण, किर्ते गरि जग्गाको बेचविखन, फुटपाथ अतिक्रमण, छाडा चौपाया ब्यवस्थापनमा कमिशन, मापदण्ड विपरितका भवन निर्माणमा कमिशन, बहुचर्चित पोखरा सभागृह ठेक्का प्रकरणमा भएको आर्थिक अनियमितता, फेवाताल अतिक्रमणमा कमिशन असुली लगायतका विषयमा कलम चलाएका थिए । उपमहागरपालिका कार्यकारी अधिकृत झलकराम अधिकारीको दबाबमा पौडेललाई भ्रष्टाचार विरुद्ध समाचार लेखन र बाचन गरेकै भरमा एफएमबाट हटाइएको थियो । यसका बारेमा एबीसी डटकम डटएनीले नियमित समाचार प्रकाशित गर्दै आएको थियो भने पोखरा तथा राजधानीबाट प्रकाशित हुने विभिन्न सञ्चारमाध्यामहरुले समेत खबरदारी गरेका थिए । त्यसपछि पत्रकार पौडेललाई रेडियो ब्यवस्थापनले पुर्न:बहाली गरेको हो ।  

Share on Twitter Share on Facebook