यसरी फसे डन बाहुन एसएसपी खरेललको ‘चक्रब्यूह’मा

काठमाडौं । कुख्यात डन मिलन चक्रे उर्फ मिलन गुरुङ ५ बर्षे जेल यात्रा सकेर आगामी साउन महिनामा बाहिर निस्कनै लाग्दा अर्का कुख्यात डन रमेश बाहुन उर्फ सुजन पौडेल प्रहरीको ‘चक्रब्यूह’मा फसेको समाचार सार्वजनिक भएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी रमेश खरेलले गुण्डागर्दी नियन्त्रण गर्ने अभियानका रुपमा सवै गुण्डाहरुलाई पक्राउ गर्दै सार्वजनिक मुद्दा चलाउन थालेपछि प्रहरीको सर्वाधिक खोजी सूचीमा रहेका बाहुन र दिनेश अधिकारी उर्फ ‘चरी’लाई पक्राउ गर्न नसकेको भन्दै पक्राउ गर्न उनीमाथि चर्को दबाब परेको थियो । सोही रणनीति अनुसार एसएसपी खरेलले आफ्नो विशेष घुमुवा टोलीलाई कुख्यात डन बाहुनको खोजी गर्न विगत ६ महिनादेखि पिछा लगाएका थिए । कुख्यात डन बाहुनको पक्राउसँगै एसएसपी खरेलको विवादास्पद छवि केही हदसम्म भएपनि बदलिने आशा गरिएको छ । स्रोत भन्छ,‘एक महिने विदामा रहेका एसएसपी खरेल बाहुनलाई सार्वजनिक गर्न आफैं परिसरमा आउने तयारीमा छन् ।’

कुनै पनि मुद्दा नै नभएका गुण्डागर्दी छाडेर ब्यापार, ब्यवसायमा लागेका र गरेको अपराधको सजाँय काटेर जेल मुक्त भई सामान्य जिवन विताइरहेका ब्यक्तिहरुलाई समेत पक्राउ गर्दै सार्वजनिक मुद्दा लगाएपछि एसएसपी खरेल आलोचित बनेका थिए । तर ज्यान, अपहरण, फिरौती, हातहतियारलगायतका मुद्दामा फरार रहेका डन बाहुनको पक्राउसँगै एसएसपी खरेल र उनको टोलीको गुणगान सुरु भएको छ । यद्यपी बाहुनलाई कसको टोलीले पक्राउ गरेको हो भन्ने सम्वन्धमा आधिकारीक जानकारी बाहिर आएको छैन् । यसअघि खरेलको विशेष टोली बाहुनलाई पक्राउ गर्न पटकपटक भारतको विभिन्न ठाँउमा पुग्दै रित्तो हात फर्किर्दै आएको थियो । नेपाल प्रहरीको मोष्ट वान्टेड सूचीमा रहेका डन बाहुन भारतमा पक्राउ गरी नेपाल ल्याएको ५ दिन भइसकेको हल्ला चलेको छ । तर, उनको पक्राउ बारे प्रहरीले आधिकारिक जानकारी अहिलेसम्म दिएको छैन् । बाहुनलाई लखनउस्थित भारतीय बिधायक बिनायक सिंहको घरबाट पक्राउ गरी नेपाल ल्याइएको बताइएको छ । बाहुनको पक्राउ बारे आधिकारिक रुपमा अहिलेसम्म कसैलाई जानकारी नदिइए पनि आइजीपी उपेन्द्रकान्त अर्याल र केही सिमित बरिष्ठ अधिकारीहरुलाई मात्र उनको पक्राउ बारे जानकारी दिइएको स्रोतले बतायो । डन बाहुनमाथि हत्या, अपहरण, फिरौती, डेण्डर कब्जा जस्ता अभियोग लागे पनि प्रहरीमा कुनै पनि उजुरी वा मुद्दा दर्ता भएको छैन । स्रोतका अनुसार बाहुनमाथि धम्की, अपहरणलगायत लागूऔषधको अभियोग मुद्दा चलाइने तयारी भइरहेको छ । लुकिछिपी फिरौती उठाउने तथा टेण्डर कब्जा गरी कमिसन लिर्दै अपराधिक गतिबिधि गर्दै आएका बाहुन एसएसपी रमेश खरेल काठमाडौं परिसरमा आउने वित्तिकै फरार भएका थिए । नेपाली काँग्रेस निकट रहेका बाहुनले ललितपुरका अर्का डन मीनकृष्ण महर्जनमाथि गोली हानेर फरार भएका थिए । उक्त गोली काण्डपछि बाहुन कहिले रामेछापको जंगल, कहिले भारत त कहिले हङकङमा रहँदै आएको हल्ला चल्ने गरेको थियो ।
को हुन् डन बाहुन ?
बाहुनको असली नाम सुजन पौडेल हो । बाहुन भक्तपुरका तत्कालिन डन रवी राणाको समूहमा थिए । राणालाई गुरु मान्ने भएका कारण उनले राणाको समूह छाड्दै आफूलाई स्वघोषित नयाँ डन रमेश राणाको उदय भन्दै दर्जनौं पत्रपत्रिकामा समाचार छपाएर एकाएक आपराधिक बाटो रोजेका थिए । विभिन्न पत्रपत्रिकामा नयाँ डनको उदय र उनले कोटेश्वर, बानेश्वर, मिनभवन, अनामनगरका क्षेत्रमा धम्क्याउने, चन्दा उठाउने र असुली गर्ने गरेको समाचार आफै विभिन्न पत्रपत्रिकामा छपाउन लगाए । जबकी बाहुनको त्यतिबेला ती क्षेत्रमा कुनै अस्तित्व नै थिएन् । यसरी पत्रपत्रिकामा रातारात समाचार छपाएर डन बनेका तत्कालिन रमेश राणा नै रमेश बाहुन उर्फ सुजन पौडेल हुन् । कुनै बेला बाहुन नेपाली सेनाको रेन्जरगणका सिपाही थिए । सेनामा रहँदा नै अपराधिक गतिबिधिमा लागेपछि बाहुनलाई जागिरबाट हटाइएको थियो । तर सञ्चारमाध्यामले डन बाहुनलाई सेनाका भगौडा सिपाहीका रुपमा पनि चित्रण गर्ने गरेका छन् । रामेछापको दुरागाउँ गाविस वडा नम्बर ७ का स्थायी बासिन्दा बाहुन भने पौडेल क्षेत्री हुन् ।
बाहुनको समाचार थप थपडेट:
धुलो हाल्ने (लागूऔषध) र सुट एट साईट अर्थात गोली हान्ने हल्ला चलेपछि प्रहरीले बाध्य भएर बुधबार साँझ पत्रकार सम्मेलनमार्फत बाहुनलाई सार्वजनिक गरेको हो । बाहुनलाई हतियार तथा लागूऔषध मुद्दा लगाइएको छ । उनको साथबाट लागूऔषध र हतियार बरामद भएको प्रहरी जनाएको छ ।  भारतबाट पक्राउ परेका भनिएका बाहुनलाई नेपाल प्रहरीले भने राजधानीबाट नै पक्राउ गरेको बताएको छ ।


Share on Twitter Share on Facebook