तेक्वान्दो संघमा दिपराजको भूत

काठमाडौं । अन्तर्राष्ट्रिय प्रतियोगितामा सवैभन्दा बढी मेडल ल्याउन सफल तेक्वान्दो खेल सिमित ब्यक्तिको स्वार्थका कारण यतिबेला विलाउने अवस्थामा पुगेको छ । राष्ट्रको गौरव राख्न सफल तेक्वान्दो खेलमा भ्रष्टाचारी र स्वार्थीहरुको गिरोह हावी भएपछि यस्तो अवस्था भएको हो । कुनै बेला ओलम्पिक खेलमा समेत पदक ल्याउन सफल भएको तेक्वान्दो खेलले अहिले दक्षिण एशियाभित्र हुने खेलमा समेत पदक ल्याउन छाडेको छ ।
दुई दशकदेखि तेक्वान्दो खेल र नेपाल तेक्वान्दो संघमा एकछत्र राज गर्दै आएका भ्रष्ट महासचिव दिपराज गुरुङका कारण तेक्वान्दो खेलप्रति मरिमेट्ने खेलाडीहरु पलायन हुन थालेका छन् । स्रोत भन्छ,‘गुरुङले तेक्वान्दो खेललाई आफ्नै घरबाट ब्यक्तिगत र दलगत स्थार्थका लागि हाँक्ने गरेका कारण तेक्वान्दो खेलाडी उनको गलत निर्णय मान्न र समर्थन बाध्य छन् । उनको ब्यक्तिगत निर्णयलाई टुलुटुलु हेर्नु सिवाय खेलाडीले केही गर्न सकेका छैनन् ।’

पछिल्लो समयमा बिश्व जुनियर तेक्वान्दो प्रतियोगितमा एसएलसी  परीक्षा समेत नदिएर खेल्न ताईपेइ पुगेका खेलाडीहरु समयमा टिम दर्ता गराउन नसक्दा प्रतियोगिता खेल्नबाट नै बन्चित हुनु परेको थियो । जसको जस महासचिव गुरुङलाई मात्र जान्छ । उनको कारणले न खेलाडीले खेल खेल्न पाए, नत परीक्षा नै दिन पाए । स्रोतका अनुसार नेपालमा तेक्वान्दो खेललाई कसरी राम्रोसँग अघि बढाउने भन्दा पनि आफू कसरी टिकी राख्ने दाउमा गुरुङ केन्द्रित हुने गरेका छन् । महासचिव गुरुङले यतिबेला मुलुकभरी रहेका सोझासिधा खेलाडी र प्रशिक्षकहरुलाई छक्याएर विदेशबाट डलर दिने गैरखेलाडी र प्रशिक्षकलाई प्राथमिकतामा राख्न थालेका छन् । नेपाल तेक्वान्दो संघको सिफारिसबाट मात्र अन्तर्राष्ट्रिय निर्णायक सेमिनारमा भाग लिन जाने विश्व तेक्वान्दो महासंघको नियम रहेको छ । त्यसका लागि नेपाल तेक्वान्दो संघले समेत रेफ्री समिति अन्तर्गत छुट्टै नियम बनाएको छ । त्यसलाई लत्याएर गुरुङले डलर बुझाउने गैरखेलाडी र चाकडी गर्न जान्ने केहीलाई रातारात अन्तर्राष्ट्रिय रेफ्री तालिमको लागि छनौट गरेका छन् । नेपालमा रहेका प्रशिक्षकलाई सुईंको समेत नदिई समय सकिन एकदिन अगाडि वेबसाईट सूचना राखेर भोलीपल्टै आफूखुसी चार जनाको नाम सिफारिस गरेका छन् ।  आफूखुसी चार जनाको नाम छनौट गरेपछि गुरुङको ब्यापाक आलोचना र विरोध भइरहेको छ । सम्पूर्ण खेलाडीहरुले उक्त निर्णय विरुद्ध आवाज उठाउँदा समेत संघका पदाधिकारीहरु मौन छन् । स्रोतका अुनसार एमाओवादी निकट राष्ट्रिय तेक्वान्दो यूनियन ठूलो टाउको दुखाइको बिषय मान्ने तिनै महासचिव गुरुङले आफ्नो कुर्सी बचाउन नियमको पालना नगरि यूनियनका सचिव मान्धोज लामालाई समेत तालिमका लागि सिफरिस गरेका छन् । त्यति मात्र नभई नेपालीभूमिमा कहिल्यै तेक्वान्दो नखेलेका हङकङका नागरिक गणेश गुरुङलाई समेत सिफारिस गरेपछि संघभित्र मात्र नभई मुलुकभर हलचल मच्चिएको छ ।  यता दिनरात नेपालमा तेक्वान्दो विकासका लागि खटिने खेलाडी र प्रशिक्षकहरु निराश बनेका छन् ।

यतिखेर महासचिव गुरुङको गलत निर्णय र कामको विरोध गर्ने संघभित्र कोही छैनन् भने ब्यक्तिगत स्वार्थका लागि जुन पार्टीको खेलकुद मन्त्री आयो, त्यतातिर नै उनी ढल्कने गरेका छन् । स्रोत भन्छ,‘नेपाल तेक्वान्दो संघमा दुई दशक विताएका गुरुङले अकुत सम्पत्ति कमाएका छन् । उनको गलत निर्णय र कामको कसैले विरोध गर्न सक्दैनन् । त्यसैले उनी संघमा भूतका रुपमा चिनिएका हुन् ।’ उनैका कारण नेपालमा तेक्वान्दो खेलको विकास नभएको स्वदेश तथा विदेशमा बस्ने अधिकांश खेलाडीहरुको तर्क छ । विवादास्पद छवि भएका भ्रष्ट गुरुङ काण्डैकाण्डमा मुछिएका ब्यक्ति हुन् । केही समय पहिलो नक्कली भारतीय नोटको काण्डमा उनको नाम मुछिएको थियो । एक करोड नक्कली भारतीय रुपैयाँसहित पक्राउ परेका पाकिस्तानी नागरिक फारुक शेष मोहम्मद र उनका नेपाली सहयोगी मोहम्मद नरुल्लाहको पक्राउपछि संघका तत्कालिन कोषाध्यक्ष रवि सिंह पनि पक्राउ  परेका थिए । केही सञ्चारमाध्यामले सिंहसँगै महासचिव गुरुङको समेत नाम जोडेका थिए । तिनै गुरुङले संघमा एकल निर्णय गर्ने गरेका कारण हजारौं तेक्वान्दो खेलाडीको भविश्य अन्योलमा परेको छ । पछिल्लो समय गुरुङले पदको दुरुपयोग गरि अकुत सम्पत्ति कमाएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत उनीमाथि अनुसन्धान गरिरहेको स्रोतले बतायो ।

Share on Twitter Share on Facebook