अध्यक्ष बन्नलाई बल्खु दरबारमा भयानक रडाको

काठमाडौं । नवौं महाधिवेशन आउन केही दिन बाँकी नहुँदै एमालेभित्र नयाँ नेतृत्वमा उभिएका नेताद्धय माधवकुमार नेपाल र केपी ओली सशंकित हुन थालेका छन् । एक समुहले अर्को समुहको सकेसम्मको आलोचना गर्न लागेका दुवै समुहको महाधिवेशनका वितण्डा छताछुल्ल भइरहेका छन् । सामाजिक सञ्जाल होस् वा गुटगत चोकहरु हुन्, सवैतिर एकले अर्काको राजनीतिक जीवन र चरित्र समाप्तै हुने खालका प्रचारबाजी गरिरहेका छन् । प्रतिनिधि छनौट भइसकेपछि उनीहरुले आफू पक्षधरका प्रतिनिधिहरुको लगत बुझिरहेका छन् । तर दुवै पक्ष जीत हुनेमा सशंकित छन् । अध्यक्ष झलनाथ खनाल पक्षका नेताहरुलाई साथ लिएर मैदानमा उत्रिएका नेपाल र वामदेव गौमतको भरमा उही मैदानमा अध्यक्ष बन्ने उत्सुकता बोकेका ओलीका लागि कम समस्या छैन । प्रतिनिधिहरु राजधानी छिर्ने क्रम सुरु भएपछि दुई प्यानलमा विभाजित भएका नेताहरुका कार्यक्रम, सम्बोधन र वैठकमै भ्याईनभ्याई भएको छ ।

नेपाल र ओली गुटको भेलामा मात्र पुगेका छैनन्, सार्वजनिक कार्यक्रमहरु र पत्रकार सम्मेलन गरी आफ्नो पक्षको धारणा सार्वजनिक गर्न व्यस्त छन् । त्यतिमात्र नभएर राजधानी आइसकेका प्रतिनिधिहरुलाई सम्बोधन गरी आफुलाई अध्यक्ष बनाउन पनि भनिरहेका छन् । ओलीले महाधिवेशनबाट पार्टीमा नयाँ नेतृत्व आउने दाबी गरिरहेका छन् भने नेपाल गुण्डारहित पार्टी बनाउने प्रयत्नमा छन् । ओलीले १५ वर्षसम्म नेतृत्वमा रहेका नेता पार्टीको अध्यक्ष भएमा पार्टी असफल हुने बताउन थालेका छन् । उता, नेपाल समुहका नेताहरुले रोगीलाई पार्टीको जिम्मा दिन नहुने बताउन थालेका छन् । ओलीले सार्वजनिक रुपमा नै भने,‘१५ वर्षसम्म नेतृत्व गरेर असफल भएर पार्टी धसाएर राजीनामा दिएका नेपालले फेरि पनि अध्यक्ष भन्न सुहाँउदैन, उनले पार्टीको अभिभारा पूरा गर्न सक्दैनन् ।’बाहिर जतिसुकै कडा बोलेपनि भित्री रुपमा ओली समुहलाई हारिन्छ कि भन्ने चिन्ताले सताइरहेको छ । प्रतिनिधिको लगत संकलनका क्रममा आफ्नो पक्षमा केही कम प्रतिनिधि देखेपछि ओली समुहले नयाँ रणनीति पनि अपनाउन थालेको छ । आफ्नो समुहले अध्यक्ष जित्नु भन्दा पनि नेपाललाई कमजोर देखाउनका लागि उस्तै परे सहमतिको नाममा अध्यक्ष खनाललाई फेरिपनि अगाडी सार्ने रणनीति लिइएको छ ।
ओली समुहका नेता विष्णु पौडेल उक्त सन्देश लिएर खनाललाई भेट्न पुगेका थिए । स्रोतका अनुसार पौडेलले उस्तै अवस्था आए अध्यक्ष बन्नका लागि तयार रहनुहोस् भनेर ओलीको सन्देश खनाललाई सुनाएका थिए । ‘नेपाललाई कुनैपनि हालतमा अध्यक्ष बन्न नदिने रणनीतिमा ओली कामरेड हुनुहुन्छ, बरु खनाललाई फेरि अध्यक्षमा समर्थन गरी सहमतिमा जान सकिन्छ भन्ने उहाँको धारणा छ ।’ स्रोतले भन्यो,‘त्यहि सन्देश लिएर पौडेल खनालसँग भेट्न पुग्नुभएको थियो । तर, ओलीलाई सहयोग गर्नका लागि अपिल पनि गर्नुभएको छ ।’ उता, नेपाल समुहका खनालको भुमिका स्पष्ट नभइसकेका कारण चिन्ता छाएको छ । अधिकांश नेताहरु खनाल पक्षधरका रहेका कारण खनालको भुमिका खुल्न सकेमात्र नेपाल अध्यक्षमा स्पष्टसँग आउनसक्ने अनुमान उनीहरुले लगाएका छन् । तर, गुटको भेला होस् वा सार्वजनिक कार्यक्रम, खनाल आफैंले आफ्नो समर्थन वा विरोधको कुरा गरिरहेका छैनन् । ‘उहाँ नखुलेका कारण दुवै समुहका लागि समस्या भएको हो, उहाँ खुलेदेखि दुवै समूह स्पष्ट हुन्छन् ।’, स्रोतले भन्यो ।
पत्रकारलाई जाँड सम्मेलन:
महाधिवेशनमा आफ्नो समुहको विचार कमजोर हुन थालेपछि ओली समुहले पत्रकारहरुका लागि कमलपोखरीमा जाँड सम्मेलन गरेको छ । आइतबार राती युवा संघ नेपालको नाममा गरिएको भेलामा एमालेमा आवद्ध पत्रकारहरुलाई मज्जाले भनेजति जाँड खुवाएर आफ्नो विचारको समुहलाई सहयोग गर्न भनियो । पार्टीका नेताहरु कोही नपुगे पनि युवा संघ अध्यक्ष महेश बस्नेत, उपाध्यक्ष निरु पाल, महासचिव राजीव पहारी, सचिव किरण पौडेललगायतले पत्रकारलाई आमन्त्रण गरी जाँड पार्टी दिएका थिए । युवा संघका केन्द्रिय सदस्य भनिने काभ्रेली गुण्डा समुहका अमित लामाको साततला माथिको रेष्टुरेन्टमा ५ बजेदेखि जाँडपार्टी सुरु गरिएको थियो । करिव ५ घन्टासम्म गजलसहित चलेको उक्त पार्टीमा ओली समुहको विचार राख्ने पत्रकारहरुको भीँडभाड थियो । उक्त सम्मेलनमा प्रेस चौतारीका अध्यक्ष राजेन्द्र अर्याल, पत्रकारहरु शम्भु श्रेष्ठ, गणेश बस्नेत, गोपाल बुढाथोकी, प्रमोद दाहाललगायत पुगेका थिए । धेरै पत्रकार बोलाइए पनि नेपाल पक्षधरका पत्रकारहरुको भने त्यति उपस्थिति नभएको स्रोतले जनाएको छ ।  

Share on Twitter Share on Facebook