कार्यकर्तासँग किन झोक्किए प्रचण्ड ?

काठमाडौं । एकल जातिय संघीय राज्यको समर्थन गरी आन्दोलनमा घिउ थपेपछि अघिल्लो संविधानसभा अवसानको दोष एमाओवादी अध्यक्ष प्रचण्डले पाएका थिए । उनले त्यो दोषबाट सफाई पाउनका लागि अर्को संविधानसभाको निर्वाचनसम्म पुग्नु परेको थियो । सो क्रममा उनको पार्टी विभाजन भयो र उनी कमजोर भए । अहिले संविधानसभामा एमाओवादीले भने जस्तो नहुने करिब करिब निश्चित भएको छ । लोकतान्त्रिक मान्यतामा आधार रहेका नेपाली कांग्रेस र नेकपा एमालेले जातिय संघियताको विरोध गरिरहेका थिए, उनीहरु बहुमतमा आएपछि प्रचण्डलाई आफ्ना मुद्दा स्थापित गराउन सकस भएको थियो ।

आन्तरिक पार्टी कलह पनि उत्तिकै रहेपछि कसरी संविधानसभामा प्रभाव पार्ने भन्ने सोचमा रहेका प्रचण्डले विभिन्न माओवादी पार्टीहरुसँग कार्यगत एकताको घोषणा गरेका छन् र जातिय संघीयताका लागि अब मोर्चाबन्दि सहित आन्दोलनको तयारी पनि गरेका छन् । कार्यगत एकता समितिको अवधारणापत्रमा संयुक्त हस्ताक्षर गरेर सो समितिको घोषणा गरेका पाँच माओवादीहरुले जनयुद्ध, जनआन्दोलन, मधेस, जनजाति आन्दोलनलगायत विभिन्न आन्दोलनबाट प्राप्त भएको राजनीतिक तथा सामाजिक उपलब्धि क्रमशः खण्डित हुँदै गएको भन्दै उनीहरूले संविधानसभाबाट जनपक्षीय संविधान निर्माणका लागि दबाब दिने बताएका छन् । खासमा जातीय संघीयताका लागि उक्त कार्यगत एकताको घोषणा भएको स्रोतको दाबी छ ।
संविधानसभाभित्र रहेका दल र संविधानसभाभन्दा बाहिर रहेका दलबीच राष्ट्रिय सहमति कायम गर्नु अत्यावश्यक रहेको अवधारणापत्र बनाए । त्यसअनुसार एमाओवादीले संविधानसभाबाहिर रहेका जातिवादी मोर्चाहरुसँग पनि सहकार्य र मोर्चाबन्दिको तयारी गरेको छ । मधेसी आदिवासी, जनजातिलगायत सबै पक्षसँग बृहत् रूपमा सहकार्य गर्ने र विभिन्न आन्दोलनका क्रममा सहिद, बेपत्ता, घाइते अपांगता भएकाहरूको समस्या समाधानका लागि सदनमा भएको दलले सदनबाट र नभएको दलले सडकबाट संयुक्त दबाब दिनेछ भन्ने उल्लेख गरिएको छ । यथार्थमा दोस्रो संविधानसभा निर्वाचनले फँ्याकिएका लिम्बुवान, खम्बुवान, थारुवानलगायतका साना झुण्डहरुसँग पनि एकता गरी आन्दोलन चर्काउने प्रचण्ड प्लान छ ।  
सडक संघर्षका लागि पाँचै पार्टीको सहमतिमा संयुक्त समिति गठन गर्ने, देशव्यापी रूपमा जनसभा, संयुक्त प्रदर्शन, विचारगोष्ठी र अन्तरक्रिया गर्ने कार्ययोजना तय गरिएको छ । संयुक्त रुपमा यसो गरेर कांग्रेस एमालेलगायत लोकतान्त्रिक पद्दती र प्रणालीमा असर गरी आफु अनुकुलको पुनः संक्रमण जन्माउने अन्तरबस्तुमा उनीहरु सहमत भएका हुन् । ‘क्रान्तिकारी शक्ति विभाजित हुँदा जनताको अपेक्षाअनुसारको संविधान पनि नबन्ने र शान्तिप्रक्रियासमेत पूरा नहुने अवस्था देखिएकाले सबैले आ–आफ्नो स्थानबाट त्याग गर्ने र एकताको मार्गप्रशस्त गर्नका लागि यसो गरिएको भनिएको छ ।’, स्रोतले भन्यो,‘तर संविधानसभामा प्रत्यक्ष प्रभाव पार्न नसकिने भएपछि सडकबाट प्रभाव पार्नका लागि यो गठबन्धन बनेको हो ।’
उता, देशव्यापी रुपमा संविधानसभामा माओवादीको हारको बारेमा समिक्षा गर्न हिँडेका प्रचण्ड अहिले कार्यकर्ताहरुसँग झोक्किन थालेका छन् । संविधानसभा निर्वाचन अघिसम्म राम्रो र पार्टीको बहुमत आउने भन्ने गलत रिपोर्टिङ गरी डुवाएको उनले प्रशिक्षणहरुमा भन्ने गरेका छन् । ‘यसरी हारिन्छ भन्ने थाहा भएको भए, हामी चुनावमा जाने थिएनौं, गलत रिपोर्टिङ भयो, ढाँटियो । अव यस्तो नहोस् ।’ प्रचण्डले विराटनगर प्रशिक्षणमा भने,‘पूर्वमा त हामीलाई सोत्तर नै बनाइयो । यहाँ धेरै सिट आउने कुरा थियो तर जम्माजम्मी दुई सीटमा सीमित हुनुप¥यो, कसरी यस्तो भयो ? किन गलत रिपोर्टिङ भयो ?’

Share on Twitter Share on Facebook