रक्षा तेक्वान्दो डोजाङलाई ऐतिहासिक सफलता

काठमाडौं । नेपालबाट आठौं विश्व तेक्वान्दो कल्चरल एक्स्पो प्रतियोगितामा भाग लिन गएका रक्षा तेक्वान्दो डोजाङका खेलाडीहरुले अहिलेसम्मकै सवैभन्दा ठूलो उपलब्धि हासिल गरेका छन् । रक्षा तेक्वान्दो डोजाङबाट उक्त प्रतियोगितामा सहभागी भएका सातै जना खेलाडीहरुले मेडल ल्याएको प्रशिक्षक अशोक खड्काले कोरियाबाट बताएका छन् । प्रतियोगितामा मुख्य प्रशिक्षक तथा खेलाडी खड्कासहितले ३ गोल्ड मेडल, ३ सिल्भर र २ ब्रोन्च मेडल हासिल गरेका हुन् । प्रतियोगितामा तेक्वान्दो खेलाडी बसन्ती बोहरा, कुमार छन्त्याल र प्रशिक्षक तथा खेलाडी अशोक खड्काले गोल्ड मेडल प्राप्त गरे भने खेलाडीहरु क्रमश: सहदीप सापकोटा क्षेत्री, ईश्वरी थापा र तेजबहादुर बुढाथोकी दोस्रो भई सिल्भर मेडल प्राप्त गरेका छन् ।

          त्यसैगरी, प्रतियोगितामा तेक्वान्दो खेलाडी शिसिर लिम्बु र विशाल गुरुङ तेस्रो भई ब्रोन्च मेडल ल्याए । उक्त प्रतियोगितामा नेपालबाट सात जना खेलाडी, एक जना प्रशिक्षक र एक जना टिम ब्यवस्थापकसहित ९ जनाको सहभागिता थियो । प्रशिक्षक तथा खेलाडी अशोक खड्काले उक्त प्रतियोगीतामा खेलाडीहरुको उत्कृष्ट प्रर्दशन र रक्षा डोजाङले कोरियामा हासिल गरेको उपलब्धिबाट आफूनिकै खुसि भएको बताए । तेक्वान्दो खेलको अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागि कुनै पनि खेलाडीहरु रित्तो हात फर्किनु नपरेको सायद यो पहिलो घटना होला । यहाँसम्म पुग्नुमा डोजाङका मुख्य प्रशिक्षक अशोक खड्काको अतुलनिय महत्वपूर्ण भूमिका रहेको डोजाङका महासचिव दिनेश दाहालले बताए । डोजाङका तीन दर्जन खेलाडीहरु विगत १० वर्षदेखि यौनजन्य हिंसा, बलात्कार एवं वाध्यात्मक देहव्यापारका विरुद्ध कार्य गर्दै आएको रक्षा नेपालको आश्रयमा बसिरहेका छन् । यौनजन्य हिंसा पीडित बालबालिकाहरुलाई खेलमार्फत आत्मविश्वासी बनाउने उदेश्य अनुसार विगत १ वर्षदेखि रक्षा तेक्वान्दो डोजाङ्ग सञ्चालनमा आएको हो । जसको अध्यक्ष तथा प्रशिक्षक अन्तर्राष्ट्रिय प्रशिक्षक एवं खेलाडी अशोक खड्का रहेका छन् । स्थापनाको छोटो अवधिमा नै डोजाङका खेलाडीहरुले खेलप्रति देखाएको लगाव र मेहनतका कारण उक्त सफलता हासिल भएको डोजाङकी संरक्षक मेनुका थापाले बताइन् । डोजाङ अन्तर्गत रहेका ३२ जना खेलाडी मध्ये ७ जना जुलाई २ मा एक हप्ताको लागि आठौं विश्व तेक्वान्दो कल्चरल एक्स्पो–२०१४ मा भाग लिन कोरिया प्रस्थान गरेका थिए ।

Share on Twitter Share on Facebook