बाबुरामलाई यसरी पारियो घेराबन्दीमा

काठमाडौं । एकीकृत नेकपा माओवादीभित्रको विवाद अझै साम्य भएको छैन । अध्यक्ष प्रचण्डले विवाद मिलिसकेको भन्दै डा. बाबुराम भट्टराईलगायतका नेता लिएर जिल्ला र केन्द्रमा प्रशिक्षण गरिरहेका छन् । तर, उता गोप्य वैठक राखी पार्टीको आन्तरिक कलहको बारेमा पनि बुझिरहेका छन् । पूर्व सम्धि एवम् उपाध्यक्ष पोष्टबहादुर वोगटी, महासचिव कृष्णबहादुर महरासँग भेटी सल्लाह गरिरहेका छन् ।
उता, विवाद साम्य भएको बताइएपनि विभिन्न जिल्लाहरुमा पार्टीको समानान्तर कमिटि गठन भएपछि प्रचण्डनिकटका नेताहरुले बाबुरामलाई चेतावनीमात्र दिएर नपुग्ने बताउन थालेका छन् ।

उनीहरुले कारवाही नै गर्नुपर्ने पनि बताएका छन् । स्रोतका अनुसार एमाओवादीभित्र विवाद खडा गरी पार्टीभित्रै नयाँ शक्तिको कुराका आडमा फेरि पार्टी विभाजनको खेल भइरहेकाले बाबुरामलाई कारवाही गर्न लागिएको छ । फेसबुक र ट्वीटरबाट नयाँ शक्तिको आवश्यकताको कुरा गर्दै विभिन्न समुह र खुला व्यक्तिहरुसँग छलफल र बहस सुरु गरिरहेका बाबुरामको रवैयालाई तह नलगाए, एमाओवादीको एक तप्का नै विग्रन सक्ने सुझाव प्रचण्डले पाएका छन् । बाबुरामका कट्टर विरोधीका रुपमा रहेका केन्द्रिय सदस्य शालिकराम जम्मकट्टेलले प्रचण्डसम्म उक्त कुरा पुराइसकेका छन् । तर, प्रचण्डले बाबुरामलाई तत्काल कारवाही गर्न नहुने बताउँदै आएका छन् । उनले विस्तारै नेकपा–माओवादीसँग एकताको पहल भएपछि बाबुरामलाई कमजोर बनाउने रणनीति अपनाएका छन् ।

तर, त्यति समयसम्म पर्खन गाह्रो हुने जम्मकट्टेललगायतका नेताहरुले बताउन थालेका छन् । ‘बाबुरामका कारणले पार्टी बारम्बार समस्यामा परेको छ, धोवीघाट वैठकदेखि अहिलेसम्म पनि बाबुरामले पार्टीलाई समस्यामा पारिरहेका छन्, उनलाई कारवाही गर्नुपर्छ भन्ने कुरा उठेको छ ।’, स्रोतले भन्यो,‘अहिले जिल्ला जिल्लामा समानान्तर कमिटि गठन हुन थाल्नुले हामी विस्तारै समस्याभित्र फँसिरहेका छौं, भन्ने नेताहरुको तर्क छ ।’समानान्तर कमिटि गठन गरेरै एमाओवादीबाट नेकपा–माओवादी विभाजित भएको थियो । पार्टी सुदृढिकरण र सुद्धिकरण तल र माथिबाटै गर्ने योजना बनाएको एमाओवादीले अहिले राष्ट्रिय सम्मेलनको योजना प्रशिक्षणमार्फत जानकारी गराएपनि तल्लो तहको समस्या समाधान हुन सकेको छैन ।


Share on Twitter Share on Facebook