भाडा माग्दा घरवेटीमाथि बर्सियो खुकुरी

काठमाडौं । ठमेलका कुख्यात गुण्डा राम गिरीलाई घरवेटीमाथि खुकुरी प्रहार गरेको भन्दै महानगरीय प्रहरी बृत्त दरबारमार्गले पक्राउ गरेको छ । घरवेटीले घर भाडा माग गरेपछि बिबाद हुँदा घरवेटीलाई ज्यानमार्ने उद्देश्य राखेर  भोलीपल्ट बाटो ढुकेर खुकुरी प्रहार गरेपछि गुण्डा गिरीलाई प्रहरीले पक्राउ गरेको हो । ठमेलको ज्याठामा जीम क्लब सञ्चालन गर्दै आएका मिलन श्रेष्ठलाई गिरीले गत शुक्रवार बिहान बाटो ढुकेर खुकुरी प्रहार गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । पाँच बर्षका लागि घर भाडामा लिएर गिरीले भाडा नतिरेपछि बिबाद उत्पन्न भएको थियो । गिरीले प्रहरीका हाकिमहरु आफ्नो रेष्टुरेन्टमा जाँड खान आउने र ठमेलको आफू डन भएको धम्की दिँदै घरमालिकलाई तर्साउदै आएका थिए । गुण्डा गिरीले भाडा नतिर्ने नियत राखेपछि घरवेटीले भाडामा दिएको घरमा ताल्चा लगाएका थिए । गिरीले भाडा नतिरी कब्जा गरेको घर श्रेष्ठले ताल्चा लगाएपछि आक्रोशित बनेका गिरीले ज्यानमार्ने उद्देश्यले घरमालिकको भतिजा श्रेष्ठलाई खुकुरी प्रहार गरेको प्रहरीले बताएको छ ।

गिरी ठमेलमा बिबादास्पद ब्यक्तिको रुपमा चिनिन्छन् । प्रहरीले गिरीलाई ज्यानमार्ने उद्योग अन्तर्गत मुद्दा चलाउन अनुसन्धान थालेको छ । आईतबार अदालतबाट १० दिनको म्याद लिई गिरीमाथि अनुसन्धान थालेको प्रहरीले बताएको छ । ठमेलमा दिपक मनाङ्गेपछि आफू नै डन भएको दाबी गर्ने गुण्डा गिरीले पछिल्लो समयमा गिरोह परिचान गरि ठमेलका ब्यापारी तथा घर धनीहरुबाटसमेत हप्ता असुली गर्न थालेको स्रोत बताउँछ । प्रहरीलाई आफ्नो जालो फैलाएर गिरीले ठमेलमा बिगत एक दशकदेखि आपराधीक गतिबिधी सञ्चालन गर्दै आएका छन् । गेष्ट हाउसमा यौनकर्मी राखेर यौनअखडा चलाउनेदेखि गिरीले प्रहरीलाई समेत युबती सप्लाई गर्ने गरेको उनी निकट स्रोत बताउँछ । गिरी पक्राउ परेपछि दरबारमार्ग बृत्तमा गिरीलाई छुटाउन तथा भेट गर्न  एक दर्जन भन्दा बढी प्रहरीका अधिकृतदेखि केही पक्रकारसमेत पुगेका थिए ।

पदमा रहँदा गुण्डाका नाईकेहरुलाई जुदाउनेदेखि मिलाउनेसम्मको काम गरेका भूपू एसपी ढकबहादुर कार्कीसमेत गिरीलाई छुटाउन पुगेको दरबारमार्ग पुगेको बृतभित्र चर्चा छ ।  पीडित पक्षसँग मिलापत्र हुन नसकेको कारण मुद्दा नै चलाउनु पर्ने बृत्तका डीएसपी राजकुमार सिलवालको भनाईपछि कार्कीले एक सातामै मुद्दा पेश गर्न डीएसपी सिलवाललाई आदेश दिएको स्रोतले बतायो । भष्ट प्रहरीको सेटिङमा मिलापत्र गराउने योजना अनुसार गिरीलाई दरबारमार्ग प्रहरीमा ल्याईएको थियो । शुक्रवार पक्राउको बहनामा बृत्त ल्याइएका गिरीलाई शनिबार छुटाउन पीडितसँग मिलापत्रको प्रयास भएको थियो । तर पीडित पक्षले मिलापत्रलाई अस्विकार गर्दै कारबाहीको माग गरेपछि गिरीलाई प्रहरीले आईतबार बाध्य भएर अदालतबाट म्याद थप गरेको हो । स्रोतका अनुसार प्रहरीको सेटिङमा दरबारमार्ग बृत्त पुगेका गिरीलाई प्रहरीले एक सातामै फितलो अनुसन्धान गरि अदालत पुर्‍याएर उन्मुक्ति दिने  सहमति भएको थियो । ठमेलमा नशा डान्सबार, फेसेज डिस्कोलगायत आधा दर्जन अबैध अखडाका सञ्चालक गिरी प्रहरीकै संरक्षणमा आपराधिक क्रियाकलाप गर्दै आएका छन् । सोहखुट्टे र दरबारमार्ग प्रहरी प्रमुखमा आउने प्रत्येक डीएसपी आफूले ल्याएको हल्ला पिटाउँदै गिरीले ठमेलका अन्य ब्यबसायीलाई धम्काउने गरेका छन् । भ्रष्ट र मदिरामा लट्ठीने प्रहरीलाई गिरीले आफ्नो बसमा पारि फाईदा लिने गरेको प्रहरीहरु नै बताउँछन् ।

Share on Twitter Share on Facebook