डीआईजी भण्डारीका चर्चित ‘दश काण्ड’

काठमाडौ । बढुवा सिफारिस समिति र पुनरावलोकन समितिले एक नम्बरमा सिफारिस गरेका डीआईजी राजेन्द्रसिंह भण्डारीले गरेका कर्तुतको नालीबेली प्राप्त भएको छ । लोक सेवा आयोगको उजुरी छानविन समितिले समेत छानविन गरे पश्यात् बढुवा सिफारिस भएको पुनरावलोकन सूचीमा समेत डीआईजी भण्डारी नै एक नम्बरमा परेका छन् । विवादास्पद छवि बनाएका भण्डारीले विभिन्न पदमा रहँदा गरेका प्रहरीको आचरणविरुद्ध गरेका काम  र कर्तुतका बारेमा लामो सूची प्राप्त भएको छ ।  भण्डारीले पदको दुरुपयोग गरि अकुत सम्पत्ति आर्जन गरेको सम्वन्धमा समेत अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा विचारधिन अवस्थामा रहेको छ ।

तिनै ब्यक्ति बढुवा सूचीको एक नम्बरमा परेपछि प्रहरी संगठनभित्र हलचल मच्चिएको छ । नेपाल प्रहरीमा प्रवेश गरेपछि भण्डारीले पदको दुरुपोग गरि गरेका अवैध कामको हामीलाई झण्डै एक दर्जनको सूची प्राप्त भएको छ ।

भण्डारीले गरेका अवैध कामका सूची यसप्रकार छन् :

  •  भण्डारी नेपाल प्रहरीमा प्रवेश गर्नु पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दको पीएका रुपमा काम गर्थे । चन्दको पीए भएर काम गर्दा भारतीय सेनाबाट अवकाश प्राप्त जेबी राई नाम गरेका ब्यक्तिलाई नेपाली नागरिकता दिलाएका थिए । राईले महाराजगञ्ज अतिथि पार्टी प्यालेससँगै विद्यालय पनि सञ्चालन गरेका थिए । ०४४/०४५ सालमा नविल बैंकमा प्रशासकीय अधिकृतका रुपमा समेत काम गरेका राईलाई नागरिकता दिलाएको कुरा भण्डारी नेपाल प्रहरीमा प्रवेश गरेसँगै फैलियो । पछि भण्डारीले उक्त फाईल नै गायब बनाएका थिए । राई समेत त्यस पछाडीका दिनमा नेपालमा देखिएका छैनन् ।
  • सुडान घोटला प्रकरणमा समेत दर्जनौं निर्दोष प्रहरीलाई फसाउनमा डीआईजी भण्डारीको ठूलो हात रहेको छ  । भ्रष्टाचार गर्ने विरुद्ध सूचना दिएर सघाउनु राम्रो कदम भए पनि दर्जनौं निर्दोषको समेत नाम मात्र भण्डारीले मुछेनन्, आफ्नो विरोधीलाई सक्ने असल अस्त्रका रुपमा समेत अख्तियारलाई प्रयोग गरे । नेपाल प्रहरीभित्र भण्डारीलाई ‘अरुलाई दु:ख दिएर आफू आनन्द लिने’ प्रहरीका रुपमा चित्रण गरिन्छ । भण्डारी कै कारण पूर्व आईजीपी रमेश चन्द ठकुरीले जागिरबाट हात धुनु परेको थियो ।
  •  माओवादीको १२ बर्षे द्धण्द्ध कालमा भण्डारी रोल्पाका डीएसपी थिए । तत्कालिन समयमा भण्डारीले सिपाहीहरुलाई जाने दैनिक भत्ता र यात्रा भत्ता समेत आफै खर्च गरेर हिनामिना गरेका थिए । त्यतिबेला भण्डारीलाई कारबाही गर्न खोज्दा अवकाश प्राप्त एआईजी तथा अख्तियारका आयुक्त केशव बरालका कारण उम्कीएका थिए । किनकी तस्करीबाट राजनीतिमा छिरेका राजलाल यादवलाई उनीहरु दुवैले सघाउने गर्थे । यादव विनाविभागीय मन्त्री समेत बनिसकेका छन् । बरालकै कारण भण्डारीको अख्तियारमा परेको भ्रष्टाचार मुद्दा ‘सफ्ट कर्नर’बाट हेरिएको उनकै ब्याजीहरु बताउँछन् । तिनै मान्छे चाही एक नम्बरमा पर्ने र कुनै पनि मुद्दा नै नभएका दक्ष ,योग्य र बरिष्ठलाई पाखा लगाउने काम आईजीपी अर्यालबाट भएपछि चर्को विरोध भएको हो ।
  • त्यसो त, बेलाबेलामा मोजमस्तीमा रमाउन चाहने भण्डारीले एक पटक गुल्मी जिल्लाको प्रमुख भएर काम गर्दा प्रहरी निरीक्षक जगन्नाथसँग मिलेर एक युवतीको हत्या काण्ड गुमनाम बनाएका थिए । उक्त काण्डलाई दबाउन सफल भएबापत लाखौं असुलेको चर्चा छ ।पैसा खाएर अपराधीलाई उन्मुक्ति दिने ब्यक्तिलाई एक नम्बरमा सिफारिस गर्नुको औचित्वमाथि छानविन हुनु पर्ने उनकै ब्याजीहरु बताउँछन् ।
  • पूर्व आईजीपी श्यामभक्त थापाको पालामा भण्डारी प्रहरीको विशेष ब्यूरोमा कार्यरत थिए । थापा आईजीपी हुँदा निवासमा रहेका उनका प्रिय सई सुरेश ढुङ्गानासँग मिलेर भण्डारीले लाखौं कमाएका थिए । उनीहरुलाई नेपालभर जहाँ जान पनि छुट थियो । त्यतिबेला भण्डारीको सई ढुङ्गानासँग लेनदेनको विषयमा टसल भएपछि तिब्बती लुट प्रकरणमा उनलाई फसाएर भण्डारीले जागिर नै खाइदिएका थिए ।
  • भण्डारी एसएसपी भएर नेपालगञ्जमा कार्यरत हुँदा एक जना सुन ब्यापारी हत्या प्रकरणमा अपराधीलाई भगाएको उनीमाथि आरोप छ । उक्त मुद्दा जिल्ला एसपीले हेर्नु पर्नेमा भण्डारी आफैले विशेष चासो दिएर हेरेका थिए । भण्डारीले सुन र पैसा खाएर अपराधीलाई भगाएका थिए । हालसम्म पनि उक्त हत्या प्रकरणका अपराधि भेटिएका छैनन् । नेपालगञ्जमा नै हुँदा एसपी हेमराज मल्लसँग कुरा नमिल्दा उनको सरुवा गराए । तत्कालिन प्रहरी संगठनका प्रमुख आईजीपीले पहाडिया–मधेशी जुधाएर जातिय दंगा फैलाएको प्रमाण भेटेपछि भण्डारीलाई कारवाही स्वरुप जुम्ला लखेटेका थियो ।
  • सरुवा भएपछि भण्डारी जुम्लामा हुँदा प्रायजसो सुर्खेतमा बस्ने गर्थे । गर्मी भयो कि दुईचार जना सिपाही बोकेर भण्डारी खोलामा पौडी खेल्न जाने गर्थे । एक दिन सुर्खेत जिल्ला प्रहरी कार्यालयका प्रमुख जानोदराज बैद्यसँग दुईचार जना सिपाही उनीसँग पठाउन आग्रह गरे । सोही अनुसार बैद्यले पठाए पनि । तर पौडी खेल्न जाँदा भेरी नदीले एक जना सिपाहीलाई बेपत्ता बनायो । भण्डारीलाई कुनै कारवाही भएन् । बैद्यले पैसा उठाएर पीडित परिवारलाई दिलाई उक्त केश नै सामसुम पारेका थिए ।
  •  नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरोमा रहँदा आपराधिक गतिविधि बढाउन विदेशीलाई साथ दिएको भण्डारीमाथि आरोप छ । भारतीय जाली नोटका कारोबारी युनुस अन्सारीलाई जेलभित्रै गोली हानी हत्या गर्न गरिएको प्रयासमा उनले सघाएको आरोप छ । युनुसका बाबुले त भण्डारीले ‘रअ’को आदेशमा युनुसलाई जेलभित्रै गोली हान्ने बातावरण मिलाएको र उनी ‘रअ’ को नेपाल एजेन्ट भएको विभिन्न टेलिभिजनमा खुलम्खुला बोलेका थिए ।  तैपनि उनीमाथि नत कारवाही नै भयो न त छानविन ।
  • क्षेत्रीय प्रहरी कार्यालय पोखरामा कार्यारत रहँदा समेत उनले विमानस्थलमा कार्यारत एक जना सईलाई विभिन्न बहानामा कारवाही गर्ने, मानसिक तनाव दिनेलगायतका काम नरोकेपछि ति सईले विवश भएर आत्महत्या नै गरेका थिए । मृतक सईले सुसाईट नोटमा भण्डारीको कारण आत्यहत्या गर्न बाध्य भएको कुरा लेखेका थिए । तर त्यो सुसाईट नोट नै उनले आफ्नो मान्छे लगाएर गायब बनाएका थिए ।
  • गृहमन्त्रालयसँग स्वीकृती लिई नार्कोन नेपाल नेपाल प्रहरीसँग समन्वय गरि लागूऔषध नियन्त्रण गर्ने कार्य विभिन्न जिल्लाहरुमा गएको थियो । उक्त कार्य सफल बनाउन तत्कालिन एआईजी भिष्म प्रसाई खटिएका थिए ।  सोही काम सफल बनाउन पोखरामा जाँदा भण्डारीले कार्यक्रमनै बरिष्कार गरेका थिए । जुन कुरा नार्कोनका सञ्चालक बसन्त कुँवरबाट पनि प्रष्ट हुनेछ ।

उता बढुवा सिफारिस समितिले सिफारिस गरेको पहिलेकै सूची सदर गरि मन्त्रीपरिषद्मा पठाउने हो भने उजुरी छानविन समितिले पुनरावलोकन गरेको सूचीको औचित्वमाथि नै प्रश्न चिन्ह उठ्छ । यदि संसोधित भएको डीआईजी बढुवाको सूचीलाई मान्यता दिने हो भने बढुवा सिफारिस समितिको नैतिकतामाथि नै प्रश्न चिन्ह उठ्ने भएकाले बढुवा प्रक्रिया झन जटिल बनेको हो । अर्कोतिर, पुनरावलोकन समितिको छानविनमा समेत डीआईजी भण्डारी एक नम्बरमा परेपछि बरिष्ठ रोलक्रममा रहेका अन्य डीआईजीहरु भने चकित भएका छन् ।

Share on Twitter Share on Facebook