बाबुरामसँग किन भए प्रचण्ड लुत्रुक्क ?

काठमाडौं । आन्तरिक विवाद समाधानको साटो अझ चुलिने भएपछि एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेता डा. बाबुराम भट्टराई फकाउन झुक्ने निर्णय गरेका छन् । अन्ततः उनले बाबुरामका माग पुरा गर्ने सन्दर्भमा दुवै समुहका नेता राखी वैचारिक बहसको विषयमा छलफल गर्नका लागि समिति गठन गरे । आफैं संयोजक रहेको समितिमा बाबुराम भट्टराई, उपाध्यक्षहरु नरायणकाजी श्रेष्ठ र पोष्टबहादुर वोगटी, महासचिव कृष्णबहादुर महरा समेत छन् । बाबुरामले नयाँ शक्ति बनाउनका लागि बाह्य रुपमा बहस चलाउन थालेपछि आन्तरिक रुपमा नै प्रचण्डले यस्तो समिति बनाएर एमाओवादीभित्रै बाबुरामलाई व्यस्त बनाउने रणनीति लिएका हुन् ।

तर, बाबुराम पक्षका समानान्तर कमिटिहरुका बारेमा पनि प्रश्न उठेपछि सचिव वर्षमान पुनको नेतृत्वमा छानविनका लागि अर्को समिति पनि गठन भयो । नेकपा–माओवादीभित्रको पनि आन्तरिक विवादले एकतामा समस्या आउन सक्ने र यता बाबुराम पनि छुट्टिन सक्ने दुवै खतरा टाल्नका लागि प्रचण्ड एक कदम पछि हटेर बाबुरामका विचारलाई सम्बोधन गर्ने निर्णयमा पुगेका हुन् । ‘समस्या समाधानका लागि यो उपाय ठिक हो, समितिहरु ग्ठन भएका छन् अव निक्कै बहसहरु हुनेछन् ।’, एमाओवादी स्रोतले भन्यो,‘अन्य जिल्ला कमिटिहरुमा विभाजन नआओस् र नराम्रो सन्देश नजाओस् भनेर पनि एमाओवादीले यो निर्णय गरेको हो ।’
          उता बाबुराम भने बाहिर रहेका कम्युनिष्ट विचारधाराका व्यक्तिहरुलाई संगठित गरेर एक सुत्रमा बाँध्नका लागि पनि नयाँ शक्तिको खोजीमै छन् । उनले फार्टीभित्र नयाँ शक्ति निर्माण वा पार्टीलाई नयाँ शक्तिको रुपमा नलगिए निक्कै पछाडी परिने तर्कमा अडिग छन् । उनले नेतृत्व हस्तान्तरण र पुस्तान्तरणको बहस पनि तुरुन्त हुनुपर्ने अडान कायम राखेका छन् । निर्वाचित पद स्वीकार नगरेका बाबुरामले भने विभिन्न समितिमा आफु र आफु पक्षका नेताहरुलाई सदस्य बनाएका छन् ।

Share on Twitter Share on Facebook