किरण शहर बस्ने, विप्लव जंगल पस्ने

काठमाडौं । अर्ध भुमिगत भएको भनिएका नेकपा–माओवादीका सचिव नेत्रविक्रम चन्द विप्लवले पहाडी र हिमाली जिल्लामा संगठको अवस्था हेरेपछि उनी फेरि पनि जनयुद्धको पक्षमा उभिएका छन् । जनयुद्ध अर्थात् हतियारको राजनीति । उनले क्रान्ति पुरा नभई माओवादीको विसर्जन भएको मत राख्दै फेरि संगठन बलियो बनाउनका लागि हतियारको राजनीति आवश्यक रहेको मत राखेका हुन् । यता, काठमाडौंमा पाँच माओवादीहरु एक हुने या सहकार्य गर्ने भन्ने विषयमा बहस भइरहेका बेला चलेको नेकपा–माओवादीको केन्द्रिय समितिको वैठकमा पनि उनले फरक मत राखेका हुन् । पार्टीका युवा र मजदुरलाई संगठित गरेर बलियो अवस्थामा रहेका विप्लवको मत अध्यक्ष मोहन वैद्य किरण, उपाध्यक्ष सीपी गजुरेल, महासचिव रामबहादुृर थापा बादलको भन्दा फरक रहेको छ । उनको मतमा बादल सकारात्मक भएपनि अन्य नेताहरु सकारात्मक हुन सकेका छैनन् । यतिवेला नेकपा–माओवादीभित्र राजनीतिक प्रतिवेदनमाथि चर्को बहस भइरहेको छ।

केन्द्रिय समितिको विस्तारित वैठक चलिरहँदा सचिव विप्लवले अध्यक्ष किरणको भन्दा फरक राजनीतिक प्रस्ताव ल्याएपछि टुंगोमा पुग्नका लागि पनि विस्तारित वैठक बस्नु परेको हो । ‘विप्लवको फरक मत आएको छ, उहाँ फेरि पनि जनयुद्धका लागि तयार हुनुपर्ने अडानमा हुनुहुन्छ, त्यसमाथि पनि बहस भइरहेको छ ।’, स्रोतले भन्यो,‘किरणको राजनीति प्रतिवेदन ठिक हो या विप्लवको योजना भन्नेबारे छलफल भइरहेको छ ।’एकीकृत नेकपा माओवादीबाट विभाजन हुनुअघि हार्डलाइनर समुहका रुपमा रहेका कारण कुरा नमिल्दा पार्टी विभाजन भएको थियो । विभाजन भएपनि एकता गरी प्रचण्डलाई नेता मानेर जान सकिने धारणा किरणको आएपछि विप्लव त्यसमा क्रुद्ध बनेका थिए । ‘प्रचण्डलाई कसरी नेता मान्न सकिन्छ ? उनी जनयुद्धमा जान नचाहेसम्म नेता मान्न सकिँदैन ।’, विप्लवको भनाई उद्रित गर्दै स्रोतले भन्यो,‘जबसम्म हामी आक्रामक र मिसनको नजिक पुग्दैनौं त्यतिवेलासम्म जनयुद्धको खाँचो थियो, हामी बीच बाटोबाटै अलपत्र भयौं, यथास्थितिवादी र प्रतिगामी शक्तिको चंगुलमा परेका छौं, प्रचण्ड पनि त्यसका पात्र हुन् ।’
विप्लव बहिस्कार गरेको संविधानसभा मान्न तयार छैनन् । संविधानसभा मानेर नयाँ संविधान अनुमोदन गर्नु भनेको आफ्नै आन्दोलन र विचारको क्षयीकरण गर्नु भन्ने मान्यतामा पुगेका छन्, विप्लव । उनले केन्द्रिय समितिको वैठकमा भने,‘यदि यो संविधानसभा मान्ने हो र यसले ल्याएको संविधान पनि मान्ने हो भने चुनाव बहिस्कार गर्नु, त्यत्रो कोकोहोला मच्चाउनुको के अर्थ भयो ? जसरी पनि पार्टी कार्यकर्ताहरुलाई ढाँट्ने छल्ने काम नगरौं, हतियार उठाएर क्रान्ति पुरा गर्ने कामतिर लागौं ।’
उता, किरणले भने शहरमा बसेरै जनविद्रोह गर्न सकिने प्रस्ताव ल्याएका थिए । अहिले नै जंगलमा जान सक्ने अवस्था नभएका कारण जनयुद्धको उपलव्धिका रुपमा अव जनविद्रोह गर्नुपर्ने र सडक संघर्ष गर्नुपर्ने अडानमा किरण छन् । तर, विप्लवले त्यसलाई मानेका छैनन् । ‘सडकमा थोरै कार्यकर्ता उतारेर के हुन्छ ? हामीले संविधानसभा निर्वाचनमा पनि अवरोध गर्ने, वाधा गर्ने भनेका थियौं, हामी कमजोर सावित भयौं । अव जनविद्रोह गर्न पनि सम्भव छैन । चाहे अर्को १० बर्ष लागोस् हामी हतियारको राजनीतिमा नै जानुपर्छ ।’, विप्लवको भनाई थियो,‘यदि त्यसो भएन भने हामीलाई कमजोर बनाउनका लागि अनेक राजनीतिक तिकडमबाजी हुनेछन् ।’

Share on Twitter Share on Facebook