गुप्तचर संस्था ‘रअ’को सक्रियता विना नै समझदारी

काठमाडौं । भारतले अन्य मुलुकसँग गर्ने व्यवहारमा त्यहाँको गुप्तचर संस्था ‘रअ’को सक्रियता हुने गरेको छ । दक्षिण एसीया र अन्य मुलुकमा पनि ‘रअ’का अधिकारीहरुको प्रवेशविना कुनै वैठक हुने गरेको थिएन । अमेरिकी मोडलमा भारतको सरकार संयन्त्र चलिरहे पनि यसपटकदेखि परिवर्तन गरिएको छ । भारतमा कांग्रेसको सरकार रहेका बेला रअको हालीमुहाली थियो । विदेश मामिलामा पनि रअ हावी भएको थियो । भारतीय जनता पार्टीले गत लोकसभा चुनावमा बहुमत ल्याएर सरकार बनाएपछि प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो नीतिमा परिवर्तन ल्याएका छन् । रअलाई आफैंले हेर्नेगरी उनले संयन्त्र खडा गरे र विदेश मामिलामा जासुसी संस्थाको प्रतिनिधित्व कमजोर बनाएर राजनीतिक सहभागितालाई प्रभावकारी बनाएका छन् ।

             आइतबार मात्र सम्पन्न भएको नेपाल–भारत संयुक्त आयोगको वैठकमा पनि रअका अधिकारीहरु राखिएका थिएनन् । भारतीय विदेशमन्त्री सुष्मा स्वराज र नेपालका परराष्ट्रमन्त्री महेन्द्र पाण्डेबीच २६ बुँदामा सहमति र समझदारी हुँदा त्यहाँ रअका अधिकारीको सहभागिता विना नै हस्ताक्षर भएको थियो । ‘पहिले भारतीय सरकारले हस्ताक्षर गर्ने भएपनि त्यहाँ रअको इच्छा समावेश हुन्थ्यो, अहिले रअका अधिकारीहरुको भुमिका कमजोर बनाएर फरक विदेशनीति अख्तियार गरेको पाएका छौं ।’, वैठकमा सहभागी एक सुरक्षा अधिकारीले भने,‘यो राम्रो सुरुआत हो ।’भारतले विदेशसँग गर्ने हरप्रकारको वैठकमा रअका अधिकारीहरुको सहभागीता हुने गरेको थियो । तर, विदेशमन्त्री स्वराजसहितको वैठकमा भने रअका कोही पनि अधिकारी राखिएन । भारतले विदेशमन्त्री स्तरीय वैठकलाई राजनीतिक रुपमा नै अघि बढायो । ‘रअका अधिकारी कोही पनि देखिएका थिएनन्, अघिल्लो सरकारको पालामा भएका वैठकमा रअ नै हावी हुने गरेको थियो ।’, उच्च सुरक्षा स्रोतले भन्यो,‘पूर्ण राजनीतिक र भारतीय विदेश मन्त्रालयका अधिकारीहरुमात्र सहभागी भएका थिए । त्यहि हामीले पाएका छौं ।’ प्रधानमन्त्री नरेन्द्र मोदीको इच्छाअनुसार नै रअका अधिकारीहरु नराखिएको स्रोतले बतायो । विदेशमन्त्री स्वराजको भ्रमणका क्रममा सवै प्रकारका सम्बन्धहरु राजनीतिक तहबाट नै गरिने पनि व्याख्या भएको छ । स्वराज भ्रमण निक्कै अर्थमा राम्रो भनिए पनि नेपालका मधेसी दलहरुका लागि तितो सावित भएको छ । पहिलेका सरकार प्रमुख र रअका अधिकारीहरुसँग सम्बन्ध राख्ने केही मधेसी दलहरुका नेतालाई स्वराजले हप्काइन् ।

  उनले दुई देशको सम्बन्धमा क्षेत्रीयताको कुरा नआउने र मुलको पनि कुरा नआउने भन्दै त्यसलाई डिप्लोम्याटिक हिसावमा टुंग्याउनुपर्ने बताएर मधेसी नेताहरुको सातो उडाइन् । मधेसी नेताहरुले आफुहरु भारतीय मुलको राजनीतिक पार्टी भएर पनि कमजोर भएको गुनासो गरेपछि स्वराजले राजनीतिमा मुल भन्दा पनि राजनीतिक शक्तिको र पद्दतीको कुरा प्रमुख हुने कुरा बताएकी थिइन् ।  उता, शनिबार स्वराजलाई भेट्न पुगेका एमाले कार्यबाहक अध्यक्ष बामदेव गौतमलाई समय नमिलाएकी स्वराजले आइतबार भने एमालेलाई सवैभन्दा लामो समय दिइन् । त्यसक्रममा उनले एमालेको राजनीतिक पद्दती, लोकतान्त्रिक पद्दतीको भारतीय जनता पार्टीसँग तुलना गरेकी छन् । स्रोतका अनुसार ‘भारतीय जनता पार्टी र एमाले उस्तै उस्तै हुन्, दुवैका विचार र पद्दतीहरु राम्रा छन् । नेपालको एमाले कम्युनिष्टहरुकै उदाहरणका रुपमा हामीले बुझेका छौं’ भनी स्वराजले तारिफ गर्दा गौतम मख्ख परेका थिए । स्वराजले अघिल्लो दिन समय दिन नसकेकोमा माफी पनि मागेकी थिइन् ।
लाइन लाग्न परेन, सवैकोमा पुगिन् स्वराज
उता, मधेसी दलहरु र केही अन्य नेता बाहेक भारतीय विदेशमन्त्री स्वराजलाई भेट्नका लागि द्वारिकाज होटलमा कोही पनि लाइन लाग्न पुगेनन् । अघिल्लो पटक आएका तत्कालिन विदेशमन्त्री सलमान खुर्सिदलाई भेट्न नेपालका पूर्व प्रधानमन्त्रीहरु नै लाइन लागेपछि तिव्र आलोचना भएको थियो । तर, यसपटक स्वराजले नयाँ राजनीतिक चरित्र देखाएर फर्किएकी छन् । स्वराजले समकक्षी, प्रधानमन्त्री, राष्ट्रपति, सभामुखलगायतलाई उनीहरुको कार्यालयमा आफैं पुगेकर भेटेर दुई देशको मर्यादा कायम राखेकी छन् । अघिल्लो पटक आएका तत्कालिन विदेशमन्त्री खुर्सिदले भने यस्तो मर्यादा कायम राखेका थिएनन् । उनले मर्यादाअनुसार प्रतिपक्षी दलका नेता पुष्कमल दाहाल प्रचण्डलाई पनि भेटेकी थिइन् ।

Share on Twitter Share on Facebook