प्रचण्डलाई हाईहाई, गाली जति बाबुरामलाई !

काठमाडौं । आन्तरिक विवाद मिलाउनका लागि समिति गठन गरी जिल्ला दौडाहामा हिड्नुपर्ने बेलामा नेता बाबुराम भट्टराई वैकल्पिक नयाँ शक्तिको बहसमा मात्र सरिक भएको भन्दै एमाओवादीमा उनलाई गाली गर्ने बढेका छन् । अझ समस्या सुल्झाउने बेलामा बाबुराम पक्षले विभिन्न जिल्लाहरुमा पार्टी फुटाउने काम गरेको भन्दै एमाओवादी प्रचण्ड खेमाका नेताहरुले बाबुरामलाई सराप्न छाडेका छैनन् । पार्टीभित्र समस्या कायम राखी, बहस पनि नगरीकन छोरा प्रकाशको सुँगुर फर्मलगायतका अन्य काममा व्यस्त रहेका प्रचण्डलाई कान फुक्ने कम छैनन् । आइतबार मात्र नेता दिनानाथ शर्माले पार्टी विभाजनको क्रम सुरु मात्र होइन निक्कै अघि बढिसकेको भन्दै प्रचण्डको कान मात्र फुकेनन्, बाबुरामलाई सम्झाउनुपर्ने बेला पनि आएको बताए ।

उपाध्यक्ष पोष्टबहादुर वोगटी न्युट्रलमा बसेपनि उनले पार्टी विभाजन रोक्नका लागि राष्ट्रिय बहस र नेताहरुलाई जिल्लामा खटाएर फेरि विभाजन हुनबाट जोगाउनका लागि सक्रिय हुनुपर्ने जोड प्रचण्डसँग गरेका छन् । स्रोतका अनुसार बाबुराम पक्षका नेताहरुलाई जिल्लामा पनि विभेद भएपछि उनीसँगको सल्लाहका आधारमा पनि समानान्तर जिल्ला समितिहरु गठन भइरहेका छन् । गोरखा र पर्सामा शनिबार समानान्तर जिल्ला समितिहरु गठन भयो भने आइतबार धनुषामा पनि एमाओवादी विभाजन भएको थियो । ‘पार्टी फेरि फुट्ने अवस्थमा पुगेको छ । जिल्ला कमिटिहरु धमाधम विभाजन भइरहेका छन्, रोक्नका लागि सल्लाह गर्ने तयारी पनि भइरहेको छ ।’ स्रोतले भन्यो ।
        बाबुराम जिल्ला दौडाहामा रहेकै बेला जिल्ला समितिहरु विभाजन हुनुको अर्थ सोध्न र स्पष्टीकरण लिनका लागि पनि प्रचण्ड पक्षका नेताहरुले दबाद दिइरहेका छन् । ‘त्यो बाबुरामका कारणले पार्टी विभाजनको खतरा झन बढ्यो, तपाई मिलिरहेको छ भन्नुहुन्छ, बर्बाद नै हुन लागेको छ । फेरि पनि फुट्यो भने त हामी सिद्धिन्छौं ।’, प्रचण्डसँग नेताहरुले यस्तो भन्न थालेको स्रोतले बतायो । बाबुरामले नयाँ शक्तिको निर्माणको कुरा गर्दा त्यसलाई बहसमा मात्र राखिने बताइएको र जिल्लाहरुमा पनि उनी पक्षका नेताहरुलाई पेल्न थालेपछि पार्टीमा समानान्तर कमिटिहरु गठन हुन थालेका हुन् । ‘पेलेरै जाने, घोक्राएर पार्टीबाट निकाल्ने अनि शक्ति नै होइन निकाले हुन्छ भन्नेहरु अहिले आत्तिन थालेका छन् । जिल्लामा पनि साथीहरुलाई पेलेपछि त्यसको आक्रोशका रुपमा समानान्तर कमिटिहरु गठन भएका हुन् ।’ बाबुराम निकट स्रोतले भन्यो,‘यो क्रम केही जिल्लामा देखिएको छ । पेलेको पेलै गरे अन्य जिल्लाहरुमा पनि समस्या आउनेछ ।’
वैद्यसँग जोड्ने योजना तुहियो:
पार्टीमा यता बाबुराम निस्केर गए या विभाजन भएपनि नेकपा–माओवादीसँग एकीकरण गर्ने प्रचण्डको योजना तुहिएको छ । तुहाउनका लागि नेता नेत्रविक्रम चन्दको फरक प्रस्ताव एउटा कारण बनेको थियो । साथै सीपी गजुरेल र रामबहादुर थापा वादलले एकता गर्न नहुने दबाब वैद्यलाई दिएका हुन् । कार्यगत एकताको मञ्च बनाएर सहकार्य हुँदै पाँच माओवादी एकता गरी ठूलो शक्ति बनाउने प्रचण्डको योजना सफल हुने सम्भावना कम रहेको स्रोतहरुको दाबी छ । ‘प्रचण्डलाई नेता मान्नका लागि संविधानसभा छाड्न भनेका छौं, उनी संविधानसभा छाड्न मान्दैनन्, तलव छाड्न मान्दैनन्, क्रान्ति अपुरोमै छाडेर हिँडे कसरी एकता हुन्छ ।’, चन्द निकट स्रोतले भन्यो,‘उनीसँग एकता गरी संविधानसभामा जाने कुरा गरे हामी पनि फरक अभ्यासमा जाने काम गर्नेछौं ।’  

Share on Twitter Share on Facebook