राजधानीमा विदेशी यौनपिपासुको विगविगी

काठमाडौं । सडक बालबालिकालाई सहयोग गर्ने नाममा विदेशी यौनपिपासुहरुले यौनशोषण र अप्राकृतिक मैथुन गराउने गरेको खुलासा भएको छ । नेपाल प्रहरीले विदेशी नागरिकलाई कम चासो दिने कारण दिनानुदिन यस्ता अवैध र अनैतिक काम फस्टाउन थालेको हो । बर्षौदेखि यस्ता कामहरु हुँदै आएपनि पछिल्ला बर्षहरुमा प्रहरीले कम चासो दिनु र अध्यागमन विभागले नेपालमा ‘ओभर स्टे’ गर्ने विदेशी नागरिकलाई वेवास्ता गर्न थालेपछि उनीहरु बढी सक्रिय हुन थालेका हुन् । नेपालमा अवैध काम गरेर बसेका त्यस्ता विदेशी नागरिकहरुलाई अध्यागमन विभागले खोजी नगर्ने र पक्राउ गरि फिर्ता नपठाउने गरेका कारण यस्ता घटनाहरु दिनप्रतिदिन बढ्दै गइरहेका छन् । तर, अध्यागनम विभाग त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख हिमनाथ दवाडी भने यो कुरा मान्न तयार छैनन् ।

     केही महिना पहिला पक्राउ गरेका एक जना अमेरिकन नागरिकलाई विभागले फिर्ता पठाएको उदाहरण दिँदै उनी भन्छन,‘त्यस्ता नागरिकलाई भेटेसम्म विभागले पक्राउ गर्दै फिर्ता पठाउने गरेको छ ।’ पछिल्ला दिनहरुमा विदेशी नागरिकले नेपाली बालबालिकामाथि गर्ने गरेको अप्राकृतिक मैथुनका समाचार सार्वजनिक भएपछि त विभागले लुकीछिपी बसेर काम गर्ने विदेशी नागरिकलाई मात्र नभई भ्रमणमा आउने विदेशीलाई विशेष निगरानी राख्नु पर्ने दबाव परेको छ । राजधानीलगायत मुलुकको विभिन्न ठाँउमा विदेशी नागरिकहरुले विभिन्न बहानामा बसिरहेका छन् । जसको मुख्य काम समाजसेवा भन्दा पनि अवैध काम गर्नु र आफ्नो स्वार्थपूर्ति गर्नु रहेको हुन्छ ।
कहाँ–कहाँ बस्छन् ?
विदेशी मुलका यौनपिपासुहरु राजधानीको ठमेल, ज्याठा, लाजिम्पाट, बालुवाटार बौद्ध, फूलबारी, स्वयम्भु, ललितपुरको झम्सिखेललगायतका ठाँउमा अड्डा जमाएर बसेका छन् । एक दशक पहिला दर्जनौ यौनपिसासुलाई नेपालबाट डिपोर्ट गरिएको थियो । राजनीतिक संक्रमणकालिन फाईदा उठाएर धमाधम यौनपिपासु विदेशी नागरिकहरुले अनैतिक तथा अवैध काम गरिरहे पनि प्रहरीको आँखा उनीहरुमाथि पुग्न सकेको छैन् । जसका कारण अवैध काम गर्ने विदेशी नागरिकहरुले समेत राजधानीमा अखडा बनाएका छन् । राजधानीका अलवा नेपालको पर्यटकीय क्षेत्र चितवनको सौराह, पोखरा र लुम्बिनीलगायतका ठाँउहरुमा समेत विदेशी यौनपिपासु बस्ने गरेका छन् । यस्तो अनैतिक र अवैध काम गर्ने सूचीमा नेपालमा फ्रान्सेली नागरिकका अलावा स्विज, अमेरिकन, बेलायती नागरिकहरु समेत रहेका छन् ।
के–के गर्छन् यौनपिपासुले ?
नेपाल रहेका विदेशी यौनपिपासुले सर्वप्रथम आफ्नो शिकार खोज्न सडक बालबालिकालाई सहयोग गरेको नाटकमञ्चन गर्छन् । उनीहरुले सडकका बालबालिकालाई महंगो होटल तथा रेष्टुरेन्टमा लगेर ब्रेकफास्ट, लञ्च र डिनर खुवाउने गर्छन् । साथै बालबालिकालाई राम्रो लत्ता कपडा किन्ने, होटलमा लगेर फोहरी बन्नु हुन्न, नुहाउनु पर्छ भन्दै सफासुग्गरी बनाउने काम गर्छन् । किनकी विदेशीले बालबालिकालाई नुहाउँदा उनीहरुको संवेदनशिल अंगमा छुने, नलजायोस् भन्नका लागि उनीहरुले नुहाउँदा नै यौनका उत्तेजित कुरा गरेर वा छोएर जिस्काउने काम गर्छन् । ताकी उनीहरुको लाज यौनपिपासुको सामु पर्दा हटोस् । त्यसपछि बालबालिकालाई मन पर्ने खेलौना र लत्ता कपडा किन्ने समेत गर्छन् । मानौं कि उनीहरु बालबालिका लागि भगवान जस्तै बन्छन् । बालबालिकाको नजरमा भगवान सावित भएपछि उनीहरुले बन्धनमा पारेर आफ्नो अनुचित लाभ लिने काम सुरु गर्छन् । यौनपिपासुले ती कलिला बालबालिकालाई आफ्नो शिकार निरन्तर बनाउँछन् । कतियय यौनपिपासुले होटलमा प्रहरीले छापा हान्ने त्रासका कारण आफू बसेको कोठामा लगेर अप्राकृतिक मैथुन गराउने गरेको विगतमा प्रहरीले गरेको अनुसन्धानबाट खुलेको छ ।  

Share on Twitter Share on Facebook