मोदी मुडमा मुलुक, विपत्तिमा रमिते सरकार

काठमाडौं । साउथ एसियाकै प्रभावशाली भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणलाई विशेष प्राथमिकता दिने नाममा सरकारले मुलुकमाथि परेको संकटलाई भने नजरअन्दाज गरेको छ । सुनकोसीको पहाडै खसेर आएको पहिरोमा परी तीन दर्जन भन्दा बढीको मृत्यु भइसकेको छ भने एक सय ५५ जनाभन्दा बढी बेपत्ता भइरहेका छन् । भारतीय प्रधानमन्त्री मोदीले संसदमा दिएको मन्त्रमुग्ध भाषणका कारण मुलुकमाथि परेको विपत्ती नै सरकारले भुलेको छ । अधिकांश सभासद्हरु मोदीको शब्दशब्दमा तालि बजार्न संविधानसभामा ब्यस्त देखिए । उता प्राकृतिक प्रकोपमा परि बेपत्ता भएका सयौं नागरिकहरुको खोजी गर्नु त परैजाओस् विपतमा परेका नागरिकहरुलाई राहत समेत उपलब्ध गराउन सकेको छैन् ।

सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी गोपाल पराजुलीले दिएको जानकारी अनुसार बेपत्ता हुनेमा माँखा गाविसका एक सय २२ जना, टेकानपुरका नौजना र राम्चेका २२ जना रहेका छन् । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले शनिबार गरेको खोजीमा आठ जनाको शव र एकजनाको हात फेला परेको थियो । शनिबार बिहान राती ३ बजेतिर माँखा गाविसको जुरे पहाड पुरै बगेर सुनकोसीमा खसेपछि सुनकोशी नदी किनारमा बस्नेको समेत भागदौड मच्चिएको थियो । घटनास्थलमा बेपत्ता परिवार खोज्ने आफन्तको भीड लागेको छ । बेपत्ताका आफन्तले अब उनीहरु जीवित फेला पर्ने आस मारिसकेका छन् ।

शव फेला पर्ने आसमा आइतबार र सोमबार दिनभर आफन्त घटनास्थल वरपर शोकाकुल अवस्थामा देखिए । स्थानियका अनुसार पहिरोमा परी एकै परिवारका १० जनासम्म बेपत्ता छन् । राम्चे र माँखाको सीमामा पर्ने बस्तीसहितको पहाड खस्दा सुनकोसी थुनिएको थियो । पहिरोले अरनिको राजमार्गको ड्यामसाइटका घरहरु पुरिएका छन् भने टेकानपुरको दाबी गाउँसमेत पहिरोले बगाएको छ । पहिरोले मांखा, राम्चे र टेकानपुरका ५२ घर बगाएको छ भने जुरेका १९ घर डुबानमा परेका छन् । १५ वटा घर पहिरोले बगाएको इटनी गाउँका एकजना बेपत्ता भएका छन् । सोमबार बिहानैबाट स्काभेटर र डोजर प्रयोग गरेर खोजी कार्य सुरु भएको छ । पहिरोले नदी थुनिएपछि झन्डै दुई किलोमिटर क्षेत्रमा ताल बनेको थियो । सेनाले दुईपटक विस्फोट गराएपछि शनिबार साँझदेखि नदी आफ्नै बाटोमा बग्न थालेको स्थानिय प्रशासनले जनाएको छ । मृतकका आफन्तको पहिचान हुन नसक्दा दाहसंस्कार हुन सकेको छैन । पहिरोका कारण विस्थापितहरु सशस्त्र प्रहरी बेस क्याम्प, टुकी संघ सुनकोसी थुम्पाखरलगायतका स्थानमा आश्रय लिएर बसिरहेको हाम्रा सिन्धुपाल्चोक संवाददाताले जनाएका छन् ।
राहत दिन सरकारको कन्जुस्याई:
प्राकृतिक प्रकोपमा परी मृत्यु भएका परिवारलाई स्थानीय प्रशासनले तत्काल राहत उपलब्ध गराउन नसकेपछि उनीहरुको कन्तविजोग बनेको छ । तर, राजधानीमा आफन्त हुने र त्यहाँ जान चाहने केहीलाई भने स्थानीय प्रशासनले यातायातको व्यवस्था गरेर काठमाडौं पठाएको छ ।
उपप्रधान एवं गृहमन्त्री वामदेव गौतम, सिँचाइमन्त्री एनपी साउद, एमाले अनुशासन आयोगका अध्यक्ष अमृत बोहोरा, संविधानसभा राज्य व्यवस्था समिति सदस्य गंगालाल तुलाधर र सभासद् शेरबहादुर तामाङले आइतबार घटनास्थल पुगेर निरीक्षण गरेर फर्केका थिए । उक्त टोलीले घटनाबारे जानकारी लिएपछि उद्धार कार्यमा कुनै कमी आउन नदिन प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको थियो । गृहमन्त्री गौतमले घरबारविहिन भएकालाई पुनर्वास गराउन स्थानीय प्रशासनलाई निर्देशन दिएका छन् । उनले क्षतविक्षत अरनिको राजमार्गको विकल्प खोज्न सम्बन्धित मन्त्रालयसँग छलफल गर्ने बताएका थिए । गौतमले घटनास्थलबाट एक किलोमिटर पूर्व र दक्षिणका सबै बस्ती खाली गराउन आग्रह गरे । गौतमसँगै आएका पहिरो तथा भूगर्भविद् रञ्जनकुमार दाहालले चट्टानबाट पानी बिस्तारै बाहिर आएकाले खतरा कम भएको बताए । सम्भावित विपत्ति न्यूनीकरणका गर्न शनिबार विहानैदेखि सुरक्षाकर्मीसहितको उद्धार टोली परिचालन भएको छ । शनिबार करिब १२ घण्टासम्म सुनकोसी नदी थुनिएपछि सिन्धुपाल्चोक र  काभ्रेपलाञ्चोकका विभिन्न गाविसका बस्तीको सम्भावित जोखिम न्यूनीकरणका लागि नेपाली सेना, नेपाल प्रहरी लगायतका सुरक्षा निकायलाई परिचालन गरिएको हो ।

Share on Twitter Share on Facebook