डन गोर्खाली पनि सुन तस्करीमा !

काठमाडौ। राजधानीमा गुमनाम तरिकाले जीवन बिताईरहेका एक ताकाका कुख्यात गुण्डा राजु गोर्खाली भित्रभित्रै सुन तस्करीमा लागेको रहस्य खुलेको छ ।  गत बिहीवार अन्तर्राष्ट्रिय बिमानस्थलमा ९ सय ९९ ग्राम सुनसहित पक्राउ परेका भारतीय नागरिक गोविन्द मिश्रलाई धरौटीमा छुटाउन गोर्खाली सक्रिय भएपछि सुन तस्करीमा गोर्खालीको संलग्नता खुलेको हो । स्रोतका अनसार महानगरीय प्रहरी आयुक्त कार्यालयमा डीआईजी बिज्ञानराज शर्माको सरुवा भएपछि गुण्डा गोर्खालीले भारतीय सुन तस्करबाट सेटिङ मिलाउने जिम्मेवारी पाएका थिए । गोर्खाली र डीआईजी शर्मा पहिलेदेखि नै ब्यवसायीक साझेदारीमा काम गर्ने भएका कारण अन्तर्राष्ट्रिय बिमानस्थलमा समेत उनैको पहलमा सेटिङ मिलाइएको हो । भारतीय सुन तस्कर र गोर्खालीको समूहले ल्याएको उक्त सुन गत साता बिमानस्थल भन्सारले पक्राउ गरेको थियो । अहिले सुन तस्करी गर्दै गर्दा पक्राउ परेका तिनै सुन तस्करका भरियालाई छुटाउन गोर्खाली ज्यान फालेर लागेका छन् ।

           बरामद अबैध सुन जफत हुने र सो बराबर जरिवाना वा एकदेखि तीन बर्षसम्म कैद सजाय हुने कानूनी ब्यबस्था छ । एकदेखि तीन बर्षसम्म कैद हुने मुद्दामा बिदेशी नागरिकको हकमा थुनामै राखेर मुद्दा पुर्पक्ष गर्नुपर्ने कानूनी प्राबधान छ । तर गोर्खालीले भन्सारमा सेटिङ मिलाएका कारण गत बिहीवार पक्राउ परेका भारतीय नागरिक मिश्र छुट्ने संभावना बढेको छ । स्रोतका अनुसार गोर्खाली मिश्रलाई छुटाउन दश लाख रुपैयाँसम्म भन्सारका कर्मचारीलाई बुझाउन तयार रहेका छन् । उडान दुवई एयरको एफजे ५७३ नम्वरबाट काठमाडौं आएका भारतीय नागरिक मिश्रलाई त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा खटिएका प्रहरी र भन्सार कर्मचारीको सयुक्त टोलीले पक्राउ गरेको थियो । मिश्रलाई प्रिपेड ट्याक्सी काउन्टर अगाडि प्रहरी र भन्सारका कर्मचारीले चेकजाच गर्दा मलद्धारभित्र लुकाई राखेको अवस्थामा ४ वटा टुक्रा बरामद गरिएको थियो । जसको तौल ९ सय ९९ ग्राम रहेको छ ।

         राकेश लिब्बुको हत्या गरेको अभियोगमा पाँच बर्ष जेल सजाया काटेर गत बर्ष मात्र उनी छुटेका हुन् । गोर्खाली भित्रभित्रै भ्रष्टाचारी र प्रहरीका भ्रष्ट हाकिमसँग मिलेर सुन तस्करी गर्न थालेका हुन् । यसअधि पनि गोर्खालीको समूहले ल्याएको डेढ किलो सुन भन्सार कार्यालयले बरामत गरेको थियो । भारतीय एक ब्यक्तिबाट बरामद गरिएको उक्त सुनका मालिक र गोर्खालीले उनलाई पनि छुटाउन लागेका छन् । केही महिना अघि बिमानस्थमा खटिएका एसएसपी रमेश फुँयलको गोर्खालीसँग राम्रो उठबस भएको भन्दै कारबाहीमा परेका थिए । लिब्बुको हत्या गरि फरार रहेका गोर्खाली पक्राउ पर्दा अहिलेका कायम मुकायम आयुक्त प्रमुख डीआईजी बिज्ञानराज शर्मा गोर्खालीको ड्र्राइभरको रुपमा गाडि चलाईरहेका थिए । तीनै डीआईजी शर्मा अहिले महानगरीय प्रहरी आयुक्त कार्यालयको कायम मुकायम प्रमुख बनेर आएपछि गोर्खालीको चुरीफुरी बढेको हो । गोर्खालीले आफू जेलबाट छुटेर आउनसाथ चावहिलको केएल टावरको अन्डरग्राउन्ड पार्किङ गुण्डागर्दी गरेर कब्जा जमाएका थिए । पहिला नि:शुल्क पार्किङ सेवा दिँदै आएको केएल टावरमा प्रति घण्टा मोटरसाईकलले दश रुपैयाँ र कारले बीस रुपैयाँ तिर्नु पर्छ । चावहिल क्षेत्रमा हुने टेण्डर, पार्किङ र गुण्डागर्दीमा फेरि गोर्खालीको दादागिरी बढ्न थालेको छ ।  

Share on Twitter Share on Facebook