डन चरी मारिए, अर्का प्रेमिकासहित पक्राउ

काठमाडौं । प्रहरीको भिडन्तमा गुण्डाका नाईके दिनेश अधिकारी उर्फ चरी मारिएका छन् भने ब्यापारिलाई अपहरण गरी फिरौंती असुलेको भन्दै अर्का डन अभिषेक गिरी आफ्नो प्रमेकासहित  पक्राउ परेका छन् । काठमाडौं उपत्यका खानेपानी लिमिटेडका लेखा सहायक अच्यूत प्रसाद रेग्मीलाई युवतीको प्रयोग गरी अपहरण गरेर फिरौती असुलेको आरोपमा  गिरी पक्राउ परेका हुन् ।

यसरी मारिए चरी:

प्रहरीसँगको भिडन्तमा गुन्डा नाइके दिनेश अधिकारी 'चरी' मारिएका छन्। प्रहरीको खोजीे सूचीमा रहेका चरी राजधानीको सीतापाइलाबाट पश्‍चिम साढे ६ किलोमिटर टाढा भीमढुंगा भन्ज्याङमा मारिएका हुन्। एमाले धादिङ क्षेत्र-१ का पूर्वउपाध्यक्ष चरी पार्टी अध्यक्ष केपी शर्मा ओली निकट मान्छिन्। भारतमा लुकेर बसेका चरी केही दिनअघि काठमाडौं आएका थिए। स्रोतका अनुसार काठमाडौं प्रवेश गरेपछि पनि चरीले केही व्यापारीलाई फोनमा धम्क्याउँदै आएका थिए। धादिङकै राधे भनिने राधाकृष्ण भण्डारीलाई खुकरी प्रहार गरेपछि फरार चरीलाई प्रहरीले खोजी गरिरहेको थियो। राजधानी छिर्ने नाका थानकोट र फर्पिङमा प्रहरीले क्लोज सर्किट सीसीटीभी राखेपछि चरी लुकेर बसेका थिए। चरी काठमाडौं छिरेको सूचना पाएपछि महानगरीय प्रहरी अपराध महाशाखाले बुधबार सीतापाइला, कलंकी, धापासी र महाराजगन्ज क्षेत्रमा प्रहरी टोली परिचालित गरेको थियो।

चरी हतियारसहित हिँडिरहेको सूचना पाएपछि महाशाखाकी डीएसपी मीरा चौधरीको कमान्डमा प्रहरी टोली सीतापाइला क्षेत्रमा खटिएको थियो। सीतापाइलामा बा४९प ३११२ नम्बरको रातो पल्सर मोटरसाइकलमा संशकित व्यक्ति हुइँकिदै गएको देखेपछि प्रहरीले पिछा गरेको थियो। भीमढुंगा पुग्दा मोटरसाइकल चालकले एक्कासि प्रहरीमाथि गोली चलाउन सुरु गरेपछि चौधरीको कमान्डमा खटिएका प्रहरीले जबाफी फायरिङ (क्रस फायर) गरेका थिए। गोली लागेर ढलेपछि प्रहरीले व्यक्ति पहिचान गर्दा चरी रहेको खुलेको थियो। चरी मारिएको जानकारी पाएपछि घटनास्थलमा महाशाखा प्रमुख एसएसपी पुष्कर कार्की र हनुमानढोका प्रहरी प्रमुख एसएसपी उत्तम कार्कीसहितको थप टोली पुगेको थियो। पुष्करका अनुसार चरी कपाल मुडुलो पारेर हुलिया परिवर्तन गरेर हिँडेका थिए। प्रहरीले घटनास्थलबाट मेड इन यूएसए लेखिएको पेस्तोल, एक राउन्ड गोली र पाँच राउन्ड गोलीका खोका बरामद गरेको छ। 'प्रहरीमाथि गोली प्रहार भएपछि मात्रै प्रहरीले गोली प्रहार गरेको हो', पुष्करले भने। प्रहरीले प्रहार गरेको गोली चरीको पेट र छातीमा लागेको छ। चरीले प्रहरीमाथि सात राउन्ड गोली फायर गरेका थिए भने प्रहरीले जबाफी फायरिङमा आठ राउन्ड गोली प्रहार गरेको थियो।  उच्च स्रोतका अनुसार चरी केही दिनमै अदालतमा आत्मसमर्पण गर्ने योजनामा थिए। प्रहरीले चरीको शव पोस्टमार्टका लागि त्रिवि शिक्षण अस्पतालमा राखेको छ।

Share on Twitter Share on Facebook