– महेश वस्नेत, अध्यक्ष, युवा संघ नेपाल
० प्ररायु संघलाई सातौं महाधिवेशनबाट युवा संघ बनाइदिनुभयो नि?
– प्ररायुसंघ जनवादी, राष्ट्रवादी र प्रगतिशील युवाहरूको सङ्गठन हो। बहुदलीय आन्दोलनको उपलब्धिको रक्षा र थप अधिकार प्राप्तिका लागि ०४७ जेठमा यसको स्थापना भएको हो। दोस्रो जनआन्दोलनपछि नेपालमा ठूलो राजनीतिक परिवर्तन भएको छ। यो परिवर्तनसँगै संगठनलाई अझ फराकिलो पारेर लैजानुपर्छ भन्ने आवाजको सम्बोधन गर्दै हामीले यो सङ्गठनको नाम युवा संघ नेपाल राख्यौं।
० युथफोर्सलाई अब जीवतै राख्ने कि यसलाई विघटन गरेर पार्टीकै संरचनाभित्र लाने भन्ने बहस चलिरहेको छ होइन?
– युवाहरूको सातौ महाधिवेशनको बन्द सत्रमा कतिपय साथीहरूले यसको नाम युथफोर्स नेपाल राख्न सुझाव दिएका थिए। एमालेमा युवा छैनन्, युवा भए पनि संघर्ष गर्न सक्दैनन् भन्ने भ्रमलाई स्ववियु निर्वाचनले तोडेको छ। एमालेमा सचेत युवाहरूको बाहुल्य छ भन्ने यथार्थ देखिइसकेपछि युवा संघको एउटा विभागको रुपमा रहन सक्दैन भनेर युथफोर्सको छुट्टै नियमावली र विधान ड्राफ्ट गरेको अवस्था हो, अहिले। एमाले भित्रै आफूलाई एउटा लेवल लागेको युवा नेता हुँ भनेर ठान्नेहरूले गलत दृष्टिकोण लगाए कि! अन्य युवा नेताहरूलाई यो कुरा नपचेको हो कि भन्ने पनि हामीले महशुष गरेका छौं। तर पार्टीले यसलाई स्वायत्त संगठनका रुपमा लैजाने भनेर घोषणा गरेको छ, यो हाम्रो लागि गौरवको कुरा हो। हिजो हामीले ठीकै काम गरछौं भन्ने हामीलाई लागेको छ।
० अहिले युथफोर्सलाई पार्टी केन्द्रको मातहतमा वा केन्द्रको नेताको नेतृत्वमा राख्ने तयारीलाई कसरी हेर्नुभएको छ?
– पार्टीको केन्द्रीय तहमा युथफोर्स छैन। केही नेताहरूले युथफोर्स नभए पनि होस् भन्ने सोचिरहेका छन्। नियमावली बन्न ६–८ महिना लाग्छ। तर स्थानीय क्षेत्रले युथफोर्स खोजिरहेको छ। आम कार्यकर्ता र जनताले खोजेको युथफार्स कसैको दबाबमा थन्कन सक्दैन। यो जबर्दस्त रुपमा निस्कन्छ। यदि कसैले युथफोर्सलाई म दराजमा थन्क्याउँछु भन्ने ठानेको छ भने ऊ गलत छ।
० पार्टीका नेताहरूको समूह नै युथफोर्स रहनु हुँदैन भन्ने आशयले सञ्चालन भएको जस्तो लाग्छ कि लाग्दैन यहाँलाई?
– पार्टीभित्र दुईओटा धारणा जबर्दस्ती विकास भइरहेको छ, एउटा माओवादीको उग्रवादी र सामाजिक फाँसिवादी सोचका विरुद्ध संघर्ष गर्नुपर्छ , उसँग सामाजिक रुपान्तरणको सन्दर्भमा मात्र एकता हुनसक्छ। यसबाट मात्र ऊ सही मार्गमा आउँछ भन्ने एकथरीको बुझाई छ । अर्कोथरी माओवादीबिना संसार रहँदैन, हाम्रो केही रहँदैन– त्यसैले माओवादीमै गएर मिल्नुपर्छ भन्ने पनि मान्यता छ। हामी दोस्रो मान्यता मान्दैनौं। संविधान निर्माण, शान्ति प्रक्रिया र सामाजिक रुपान्तरणका प्रक्रियामा माओवादीको भूमिकालाई कसैले पनि अस्वीकार गर्दैन। तर नेकपा एमाले बनाउने कुरामा हामी धेरै कुरा स्वीकार गर्न सक्दैनौं किनभने माओवादीले एमालेलाई सहयात्री संगठन र अर्को कम्युनिष्ट पार्टीको रुपमा कहिल्यै पनि हेरेको छैन। उसले सदैव हामीलाई वर्ग शत्रुको रुपमा मात्र हेरेको छ। आर्थिक सामाजिक रुपान्तरण र नयाँ नेपाल निर्माणको सन्दर्भमा एमालेले माओवादीसँग सहयात्रा गर्न सक्छ तर नेकपा एमाले निर्माण गर्ने सन्दर्भमा सम्झौता हुन सक्दैन।
० तपाईंको विजयले के कुराको संकेत गर्छ?
– मेरो विजयले देशभरीकै उग्रवामपन्थी, सामाजिक फाँसिवादको सिद्धान्त बोक्ने अपराधीहरूको मनोबल गिरेको छ। सदैव विकास र सामाजिक रुपान्तरणको पक्षमा लाग्ने जनवादी, राष्ट्रवादी र प्रगतिशील युवाहरूमा उत्साह थपिएको छ। युवामात्र होइन विभिन्न क्षेत्र र पेशामा लागेकाहरूको मनोबल बढेको छ।
० पार्टीमा एउटा बहस चलिरहेको बेला तपाईंको विजयले आन्तरिक रुपमा केही अर्थ राख्छ?
– पार्टीभित्र पनि लहानमा मलाई भोट नहाल्ने तर म प्रति सद्भाव राख्ने धेरै साथीहरू हुनुहुन्थ्यो। धेरै साथीहरूले मलाई पार्टीका विभिन्न लाइनका हिसाबले भोट हाल्न सकिएन तर तपाईंले जित्नुपर्छ भन्ने धेरै साथीहरू भेटें। व्यक्तिगत रुपमा उहाँहरू मलाई मन पराउनुहुन्छ तर पार्टीभित्रको गज्याङगुजुङले उहाँहरूले भोट हाल्न पाउनु भएन। त्यसैले मैंले कति मत पाएँ भन्ने आधारमा म आफूलाई विश्लेषण गर्दिनँ। समग्र नेकपा एमालेलाई माया गर्ने र सामाजिक न्यायको सिद्धान्त बोक्ने युवाहरूको मप्रति सद्भाव छ। मैंले त्यो जिम्मेवारीपूर्वक काम गर्नुपर्छ।
० कुशलतापूर्वक युवा संघ हाँक्न सक्छु भन्ने विश्वास छ?
– मैले आफू एक्लै हाँक्ने भन्ने होइन। शक्ति लिएर होइन शक्ति बाँडेर शक्तिशाली भइन्छ भन्ने मेरो मँन्यता हो। नेता भनेको व्यवस्थापक पनि हो। मैले सिङ्गो युवा संघभित्र क्ष्ँमता भएका साथीहरूलाई अवसर दिने र आफूसँग भएको अधिकार सबै साथीहरूसँग बाँडेर आफू शक्तिशाली हुन्छु भन्ने मान्यता बोक्छु।





Comments