Home News Interviews हाम्रो पहिलो प्राथमिकता पाँचतारे बैंक

हाम्रो पहिलो प्राथमिकता पाँचतारे बैंक

अनिल शाह, प्रमुख कार्यकारी अधिकृत, मेगा बैंक

 

० मेगा बैंकलाई कसरी अगाडि बढाउने सोच बनाउनुभएको छ ?

– सबैभन्दा पहिले त पेशाकर्मीले कुनै पनि संस्थामा काम गर्दा साझेदारी (पार्टनरसीप)का रुपमा हेर्नुपर्छ। जहाँ दुवै 'पार्टनर' ले त्यो पेशाबाट फाइदा लिइरहेको हुनुपर्छ। कुनै पनि पेशाकर्मीले काम मात्र गर्ने संस्थाले उसलाई तलब नदिने र संस्थाले लगानी गर्ने तर पेशाकर्मीले केही नगर्ने यी दुवै काम ठीक होइनन्। नबिल बैंकमै प्रमुख कार्यकारी अधिकृत (सीइओ) हुँदा नै मैंले भनेको थिएँ। सीइओको जुन गतिशीलता हुन्छ, त्यो केही समयपछि विस्तारै घट्दै जान्छ। मालिक (वनर) हरूले नै सीइओ भएर चलाएका ठाउँबाहेक व्यावसायिक (प्रोफेशनल) सीइओ चार–पाँच वर्षको अन्तरालमा परिवर्तन गर्‍यो भने त्यसले नयाँ मानिसको उर्जाले काम गरिरहने मौका पाउँछ। नबिल बैंक छाड्दा मैले भनेको थिएँ, 'स्ट्यान्डर्ड चार्टर्डले मलाई बैंकिङ्ग सिकायो र नबिलले मलाई बैंकर बनायो'। अध्यक्ष सत्येन्द्रप्यारा श्रेष्ठ र उहाँको टीमसँग काम गर्न पाउँदा मैंले धेरै कुरा सिकें। नविल बैंकप्रति कुनै वितृष्णा भएर मैंले त्यहाँ छाडेको होइन। त्यहीं रहँदा अब मैंले नबिललाई दिनेभन्दा पनि लिने अनुपात पो बढ्दै जाने हो कि जस्तो लाग्यो। मैंले नविललाई पहिलो नम्बरमा पुर्‍याउने प्रतिवद्धता व्यक्त गरेको थिएँ। त्यहाँ रहेर त्यो काम पुरा गरें।

० नबिल छाडेपछि धेरै वाणिज्य बैंकहरूमा तपाईंको नाम जोडिएका थिए, किन मेगा नै रोज्नुभयो ?

– अरु स्थापित बैंकहरू थिए। त्यहाँ गएर काम गर्न सकिन्थ्यो। व्यावसायिक रुपमा र व्यक्तिगत रुपमा पनि म जिन्दगीलाई 'यादहरूको माला' ठान्छु। यसर्थ, मालामा नयाँ पत्थर कसरी थप्ने त भन्ने सोचमा मैंले नेपाल बैंकमा गएर देशको अर्थतन्त्रमा केही सुधार गर्ने सल्लाह पाएँ। केही प्राविधिक कारणले त्यहाँ जाने प्रयास सफल भएन। नभइसकेपछि मैंले नयाँ बैंकमा गएर नयाँ अनुभव लिउँकि भन्ने लाग्यो। म  एउटा व्यवासायी नभएर पेशाकर्मी भएको हुनाले व्यावसाय शुरु गर्नेतिर लागिनँ। यही क्रममा एउटा अवसर आयो– धुलोबाटै बैंक स्थापना गर्ने। यो अवसर व्यावसायीबाहेक धेरै कम मानिसले मात्र पाउँछन। मेगा बैंकको बोर्डसँग छलफल भएपछि मैंले साझेदारीको कुरा गरें।  साँच्चिकै नेपालमा आर्थिक क्रान्ति गर्ने हो भने नयाँ किसिमको अर्थतन्त्र शुरु गर्नुपर्छ भन्ने मलाई लाग्यो। समावेशी अर्थतन्त्र अबको आवश्यकता हो। देशको अर्थतन्त्रबाट सीमित व्यक्तिहरूले मात्र फाइदा लिने हो भने नयाँ आर्थिक क्रान्ति सम्भव छैन। मेगा बैंकमा १२ सय २८ जना प्रमोटरहरू हुनुहुन्छ। ६३ जिल्लाबाट प्रमोटरहरू जम्मा हुनुभएको छ। प्रमोटरहरूबाट कम्तीमा एक लाख र बढीमा दश लाख रुपैंया लगानी गर्नुभएको छ। मध्यम वर्गले पनि आफ्नो लगानीबाट आर्थिक लाभ लिन सक्छन् भनेर मेगा बैंकमा आएको हुँ। पूँजी र प्रमोटरहरू यति धेरै भएको मेगा पहिलो बैंक हो।

० बैंकको पूँजीगत अवस्था कस्तो छ  ?

– यसमा ७० प्रतिशतन प्रमोटरहरूको लगानी छ। ३० प्रतिशत आइपीओ गरेपछि सार्वजनिक हुन्छ। अहिले हाम्रो पूँजी २ खर्ब रुपैंया रहेको छ। नेपालमा २ अर्ब रुपैंया उठाउन गाह्रो छैन। १२२८ ओटा प्रमोटर भएको कस्तो बैंक हुन्छ भनेर मानिसहरूले भन्ने गर्दछन्। मैंले त यहाँ १२२८ 'मेगा एम्बेसडर' देखेको छु। ६३ ओटा जिल्लामा व्यावसाय गर्ने मानिसहरू छन्। उनीहरूले आफ्नो बैंकमार्फत् नै व्यावसाय गर्छन्। यहाँ विभिन्न क्षेत्रका प्रमोटरहरू हुनुहुन्छ। धेरै प्रमोटर भए अब उनीहरूले बैंकमै काम गर्छन् भन्ने होइन। उनीहरू आ–आफ्नो पेशा–व्यवसायमा छन्। हाम्रो बैंकको शुरुवातमा हामी प्रमोटरहरू र उनका वरपरका दश जना मानिसहरूलाई यहाँ खाता खोल्न अनुरोध गर्छौं। १२२८ जनाले १०–१० जना ल्याएर कम्तीमा एक लाख रुपैंया राखिदिए भने हाम्रो निक्षेप त्यसै बढ्छ। वित्तिय क्षेत्रमा अहिले ठूलो प्रतिस्पर्धा शुरु भएको छ। अन्य वित्तिय संस्थाहरूले जस्तै काम गर्न मेगा बैंक खोल्न पर्दैनथ्यो। हामी फरक किसिमले काम गर्ने सोचका साथ आएका हौं।

० मेगा बैंक भनेर नाम दिनुभएको छ, यसको नामको संयोग कसरी जुर्‍यो ?

– मेगा भनेका सबैभन्दा ठूलो। १२२८ जना प्रमोटर भएको सबैभन्दा ठूलो बैंक भन्ने हिसाबले यसको नाम मेगा रह्यो। हाम्रो शुरुवात 'मेगा' छ र सोच पनि 'मेगा' नै छ। हामी चार पाँचओटा शाखाहरू खोलेर पैसा कमाउने काममा लाग्दैनौं। वित्तिय क्षेत्रमा समावेशीता कसरी बढाउने भन्नेमा नै हाम्रो प्रयास हुन्छ। आइएनजीओ, शैक्षिक संस्था, विकासका अन्य क्षेत्रका साथीहरूको यसमा सहभागिता छ। हामीले देशलाई कसरी बनाउन सक्छौं र वित्तिय समावेशीता कसरी बढाउन सकिन्छ भन्ने कुरामा ध्यान दिन्छौं। अन्य बैंकले दिएका जस्ता सुविधाहरू हामी दिन्छौं तर यसको प्रकृति फरक हुन्छ। मेगा नेपालको पहिलो पाँच तारे बैंक बन्नेछ। पाँच तारे होटलहरू छन्, कतार एयरलाई पाँच तारे एयरवेज भनिन्छ। त्यस्तै पहिचान मेगा बैंकले स्थापना गर्नेछ। त्यसका लागि हाम्रो मुटु 'आइटी' हो। चलेको 'आइटी' प्रणालीहरूमध्ये सबैभन्दा गुणस्तरीय प्रणाली हामी रोज्छौं।  यससँगै बैंकले ल्याउने नयाँ प्रोडक्टहरू शहरमा मात्र सीमित हुँदैन। हामीसँग ग्रामीण बैंकिङ्गको सोच पनि छ। मेगा बैंकको ५० जिल्लामा शाखा खोल्ने लक्ष्य छ। विस्तारै हाम्रो प्रतिनिधित्व ७५ जिल्लामा मात्र होइन, गाउँ–गाउँमा हुने व्यवस्था हामी गर्छौं।

० बैंक कहिलेबाट शुरु हुन्छ ?

– वैशाख १ गतेभन्दा अगावै मेगा बैंकको कारोबार शुरु हुन्छ। वसन्त पञ्चमीको दिनदेखि हामी मेगा महलमा यसको मुख्य कार्यालय सञ्चालनमा ल्याउँछौं। यही दिन शुरु हुन्छ भनेर भन्न पनि कठिन छ– यसका लागि राष्ट्र बैंकले लाइसेन्स दिनुपर्‍यो, हाम्रो कम्प्युटर सिस्टमहरू ठीक हुनुपर्‍यो। यस्ता धेरै प्राविधिक पक्षहरू बाँकी नै छन्। टार्गेट मिति हामीले वैशाख १ भन्दा पहिलेलाई नै तोकेका छौं।

० ठूला निक्षेपकर्तालाई किन 'टार्गेट ग्रुप' बनाउनुभएन ?

– दीगो वित्तिय संस्था बनाउँछु भन्ने मानिसल यो मात्र गर्छु भनेर सम्भव नै छैन। सबै काम गर्नुपर्छ। त्यही भएर गाउँमा मात्र बस्छु, शहरमा आउँदै आउँनि भनेर पनि म भन्दिनँ। जुन थालबाट सबैले खाइरहेका छन्, त्यही थालबाट म पनि खान्छु। साथै ७० प्रतिशत जनताको थाल जहाँ वित्तिय क्षेत्र पुगेकै छैनन्, त्यो ठाउँमा पनि म प्रवेश गर्छु भन्ने हाम्रो सोच हो। नयाँ बैंकले यो रफ्तारलाई अघि बढाउँछ। नेपाली जनता शहर र अर्ध शहरी क्षेत्रमा मात्र बस्दैन। ग्रामीण क्षेत्रमा बस्छ। कृषिप्रधान देशको आधारमा हामी कसरी प्रवेश गर्ने? कस्ता सुविधाहरू लिएर जाने भन्नेमा हाम्रो ध्यान अहिले गइसकेको छ।

० शुरुवातमै केही शाखाहरू पनि स्थापना गरेर जानुहुन्छ कि मुख्य कार्यालयमात्र शुरु गर्नुहुन्छ ?

– शुरुमा हामी कार्यालय र मुख्य शाखा खोल्छौं। बैंकिङ्ग भनेको दीर्घकालीन उद्योग हो। चाँडै नाफा कमाउने सोचमा हामी छैनौं। आधार (गृहकार्य) राम्रो हुनुपर्छ। त्यो हुने बित्तिकै घर जति तलाको बनाए पनि भइहाल्यो। जग नै कमजोर भएको ठाउँमा दश तलाको घर बनायो भने हेर्दा आकर्षक देखिन्छ तर निर्माण सम्पन्न नहुँदै माथिका चार तला खसे भने त राम्राे भएन। मैंले एकै दिनमा ९ ओटा शाखाहरूसम्म खोलेको छु, शाखा थप्ने काम विस्तारै हुन्छ।

० केही समययता नेपालका बैंकहरूको लगानी रियलस्टेट, हाउजिङ, अटोमोबाइलतिरमात्र केन्द्रीत हुन थालेका कारण केही बैंकहरू अप्ठेरो स्थितिमा छन् भनिन्छ नि ?

– जुन अरु बैंकहरूले गरेका छन्, त्यो पनि राम्रो क्षेत्र हो। अटो, अपार्टमेन्ट यी सबै राम्रा क्षेत्र हुन्। नेपाली सन्दर्भमा एसएमई (साना र मझौला उद्यम) नै लगानीको उत्तम विकल्प हुनसक्छ। घरबाट अफिससम्म जाँदा बाटोका दुवैतिर सटरमा विभिन्न खालका व्यावसायहरू सञ्चालन भइरहेको देखिन्छ। यो सबै नेपाली एसएमई हो। हुन त ठूला कर्पोरेट ल्याण्डिङ पनि गर्नुपर्छ। नेपालमा ठूला निक्षेपकर्ताहरू ५–६ ओटा होलान्, तिनीहरूले एकै पटक पैसा निकाल्दिए भने त संकटको अवस्था सिर्जना हुन्छ। तर थोपा–थोपाबाट भएको निक्षेपमा त्यस्तो जटिलता हुँदैन।  अर्को, ग्रामीण कृषि क्षेत्र नै हो। यसका लागि कृषि विकास बैंकबाट सिक्नुपर्छ। उनीहरूको ऋण किसानमा केन्द्रीत छ, यसको अवस्था अत्यन्तै राम्रो छ। जहिले पनि नीजि क्षेत्रका बैंकले सरकारी बैंकलाई सिकाउने भन्ने कुरा म मान्दिनँ। कृषि विकास बैंकबाट सिकेर त्यो उपाय मेगामा पनि उपयोग गर्ने हाम्रो सोच छ।

० बैंकिङ्ग क्षेत्रको एक दशक लामो अनुभव र देशको पहिलो वाणिज्य बैंकको सीइओ भएर काम गरिसकेपछि अब आफैं लगानीकर्ता भएर यो व्यवसाय शुरु गरौं जस्तो लागेन ?

– सबैको आ–आफ्नो सीप र दक्षता हुन्छ। मेरो दक्षता 'प्रोफेशन ब्याङ्कर' हो। यहाँबाट मैंले राम्रो गरें भनेर बैंक चलाउँछु भन्नेतिर म लाग्नु हुँदैन। राम्रो सर्जनले अब म आफैं अस्पताल खोल्छु भनेर हुँदैन। व्यवस्थापनमा समय खर्च गर्नुपर्दा उसको राम्रो सर्जरी गर्ने दक्षता विस्तारै घट्दै जान्छ र ऊ दुवैतिर असफल हुन्छ। अनिल शाह राम्रो बैंकर हो, तर ऊ राम्रो प्रधानमन्त्री हुन्छ भन्ने होइन। मानिसले आफ्नो दक्षता के हो त्यही काम गर्नुपर्छ। बैंकिङ्ग क्षेत्रमा योगदान गर्छु, तर अन्य काममा लाग्दिनँ। अहिले मेगालाई नं. १ बैंकको रुपमा स्थापित गर्ने नै मेरो सोच हो। तर हामी भ्रममा छैनौं कि यो दौड हामी दुई तीन वर्षमा नै पुरा गरौं।  मेरो यो सोचमा निक्षेपकर्ताहरूले साथ दिनुपर्छ। शेयर होल्डर र रेगुलेटरको पनि यसमा त्यत्तिकै ठूलो हात हुन्छ। नबिल बैंक नेपालीले चलाएको बैंक भनेर राष्ट्र बैंकले उदाहरण दिन्थ्यो। मेगा पनि नमुना बैंकको रुपमा स्थापित होस्। समुदायले पनि मेगा बैंकलाई 'पायोनिर रोल' मा अगाडि बढाउनुपर्छ, यसका लागि हाम्रो टीमले दत्तचित्त भएर काम गर्छ। तीन वर्षको अवधिमा हामी काम गरेर देखाउँछौं।

० तपाईंलाई बैंकिङ्ग क्षेत्रको 'सेलिब्रेटी' का रुपमा लिइन्छ नि ?

– हरेक मानिसहरूको जस्तै मेरो परिवार पनि आफ्नो कमाइबाट चल्छ। बच्चाको स्कुलको फीदेखि घरको चुलो बल्नेसम्म बैंकको तलब नै हो। प्रोफेशनमा नाम र दाम दुवैको महत्व हुन्छ। तर मेरो 'रेपुटेशन' मा आँच आउने गरी पैसाको पछि लाग्दिनँ। नाम र दाम दुवै काम गरेर मात्र कमाइन्छ। कसको छोरा, कसको नाति, कुन पार्टीबाट आएको भनेर नाम कमाइने होइन। मेगाबाट मैंले अब जति नाम र दाम बढाउन सक्छु, त्यो अन्यत्र थिएन। म यहाँ नयाँ काम शुरु गर्दैछु– म जहाँ पुग्छु काम गरेर पसिना बगाएरै पुग्छु।


 

Comments

Please login to post comments or replies.
Working....
Finished
Failed

abc_gadget

ABC Videos

Dashai Aayo Tihar Aayo
Rating:
Views:1769
Bunjee Jumping
Rating:
Views:1530

idocall_banner