Home News Interviews माओवादीले कुनै सम्झौता गरेको छैन

माओवादीले कुनै सम्झौता गरेको छैन

नेत्रविक्रम चन्द, नेता, एनेकपा माओवादी /

माओवादी आन्दोलन अब सेलाएको हो?

गत जेठको प्रधानसेनापति काण्डपछि एनेकपा माओवादी सरकार छाडेर आन्दोलनमा उत्रियो। माओवादी आन्दोलनका विषयलाई लिएर सडकदेखि सदनसम्म विभिन्न टिकाटिप्पणीहरु भए। कतिपयले पछिल्लो समय आएर माओवादी आन्दोलन सेलायो, माओवादीले जनताको साथ पाएन भन्ने अभिव्यक्तिहरु दिए।

तर हाम्रो आन्दोलन न मत्थर भएको छ, न हामी सेलाएका हौ। हामी त्यत्तिकै शसक्त र जागरुक आन्दोलनमा छौं, जुन हामीले विगतमा गर्दै आएका छौं। शान्ति सम्झौतापछि हामी जनताप्रति अझ बढी प्रतिवद्ध भएका छौं।

जनताले माओवादीको आन्दोलन के का लागि भनेर बुझ्ने?

माओवादीको आन्दोलनलाई खासगरी जनताको आँखाबाट, जनताको प्रतिनिधि पार्टीको आँखाबाट, अन्तर्राष्ट्रिय प्रजातान्त्रिक र लोकतान्त्रिक प्रणालीको आँखाबाट हेर्नुपर्छ। माओवादी अहिले जनताको अधिकार स्थापनाको लडाईंमा छ। देशमा सैनिक सर्वोच्चता रहनुहुँदैन भन्ने हाम्रो माग लोकतान्त्रिक प्रणलीमा सदैव सापेक्ष रहनेछ।

तपाईंहरुको आन्दोलन त खाली सत्ता प्राप्तिका लागि प्रेरित भएको भन्ने आरोप छ नि?

नेपालमा जनयुद्ध र जनआन्दोलनको बलबाट स्थापना भएको गणतन्त्रमा खतरा उत्पन्न भएको छ। जुन गणतन्त्र नेपाली जनताको अधिकार हो। जनताले निर्माण गरेको अन्तरिम संविधान मिचिएको छ, त्यसको संरक्षण गर्ने कुरा हो। नेपालको स्वाधीनतामाथि हस्तक्षेप भएको छ, त्यसको अन्त्य गर्ने हो तर तानाशाहहरु, निरंकुश शासकहरु, दलालहरु, सामन्तहरु र साम्राज्यवादी विस्तारवादीहरुका सोचबाट हेर्दा हाम्रो आन्दोलन भीडन्त पनि हो। उनीहरुले जनताका अधिकारलाई आफ्नो दयामायाको विषय ठान्छन्। उनीहरु जनताले अधिकारको कुरा उठाउँदा आफ्नो अधिकार गुम्ने गलत सोचाइ बनाउने गर्छन्। तिनीहरुले हाम्रो आन्दोलनको बारेमा दुईओटा भ्रमहरु प्रचार गरिरहेका छन्– माओवादीलाई सरकार चाहियो भनेर र अर्को माओवादी विद्रोहतिर जान थाल्यो भनिरहेका छन्। यो सरकारलाई मात्र केन्द्रबिन्दूमा राखेर सोच्ने बुर्जुवाहरुको तरिका हो।

भनेपछी तपाईंहरुलाई सत्ता चाहिएको होइन?

सरकारभन्दा पर केही पनि छैन र सरकारबाट बाहिरिनेबित्तिकै सर्वस्व गुम्छ भन्ने चेतना बुर्जुवा, सामान्त र दलालहरुको चेतना हो। राज्यसत्तामासम्म ल्याउन तयार भएको पार्टीका निमित्त सरकारमा जाने वा नजाने भन्ने कुराको कुनै पनि महत्व हुँदैन। सरकारलाई मुख्य बनाएको पनि होइन, विद्रोहमा जान लागेको पनि होइन। यो माओवादीको समग्र संघर्ष हो। यो त जनताका अधिकारका लागि चलाइएको संघर्ष, नागरिक सर्वोच्चताका निमित्त चलाइएको संघर्ष हो। यस्तो संघर्षलाई न्यूनीकरण गरेर सरकारकै लागि हो भनेर गलत प्रचार गरी माओवादीलाई सरकारको सामान्य दावेदार मात्र बनाउनेहरुको सोचाइ हो। तर यो आन्दोलन जनताको अधिकार पुनर्स्थापित गर्ने संघर्ष हो। हामी जनताका अधिकार स्थापित गरेरै छाड्छौं।

तपाईंहरु संसदीय व्यवस्था मान्नुहुन्न रे नि त?

हो हामी परम्परागत संसदीय व्यवस्था मान्दैनौं।  बुर्जुवाहरुले माआवादीले संसद् मान्दैन भनेर पनि चर्चा गरेको सुनिन्छ। हामीले परम्परागत संसदीय व्यवस्था मान्दैनौं भनेका हौं। परम्परागत संसदीय व्यवस्था लेनिनले भनेजस्तो 'संसद् कुकुरको मासु बेच्ने थलो हो'। तसर्थ हामी वैज्ञानिक जनवाद र संसद् मान्छौं। तर, आजको समयमा आउँदा आजको संसदीय सापेक्षित उच्चतालाई स्वीकार्दै बहसमा आउँ भनेर हामी नै भनिरहेका छौं। संसद् नै सर्वोच्च निकाय भन्ने एमाले–कांग्रेसका साथीहरु संसद्मा छलफल गर्नबाट भाग्ने गरेको उदाहरण हामीले देखेकै छौं।

जथाभावी गणराज्य घोषणा गर्दा यसले जातियता र क्षेत्रीयतालाई टेवा पुर्‍याएको आरोप छ नि?

हामीले आन्दोलनको क्रममा स्वायत्त गणराज्य घोषणा गर्‍यौं, यो हाम्राे दोस्रो चरणको आन्दोलनको उत्कर्ष थियो। संवैधानिक मान्यताअनुसार नै कठपुतली सरकारले नेपालमा उत्पीडित राष्ट्रको भावना सम्बोधन गर्न नचाहेको हुनाले हामीले संवैधानिक प्रक्रिया पुरा गर्न खोजेका हौं। मान्छेहरु उत्तेजित बनाउनका निमित्त हामीले संघीय गणराज्यको घोषणा गरेको होइन। कठपुतलीहरुले माओवादीले समामान्तर सरकार घोषणा गर्‍यो भनेर व्याख्या गरिरहेका छन्, तर यथार्थमा त्यसो होइन।

तपाईंहरु राष्ट्रियताका बारेमा चर्को कुरा गर्नुहुन्छ, फेरी जातियता र क्षेत्रीयताका कुरा गरेर मुलुकलाई विखण्डनतिर लान खोज्दै हुनुहुन्छ?

वास्तवमा नेपालका राजनीतिक पार्टीहरु आन्तरिक राष्ट्रियताका बारेमा सचेत छैनन्। उनीहरु माओवादीले एकात्मक शासन नै लाद्न चाहेको भ्रम पैदा गरेर आफ्नो स्वार्थ पुरा गर्न खोजिरहेका छन्। माओवादीमा आस्था राख्नेहरुलाई विचलित बनाउने चालबाजीका रुपमा दक्षिणपन्थी शक्तिका मतियारहरुले विभिन्न जाल फालिरहेका छन् भन्ने कुरा जनताले राम्ररी बुझेका छन्। 


 

Comments

Please login to post comments or replies.
Working....
Finished
Failed

abc_gadget

ABC Videos

cats vs dogs trailer
Rating:
Views:1515
Gurasako
Rating:
Views:2071

idocall_banner