कञ्चनपुर। स्वास्थ्य मन्त्री उमाकान्त चौधरीलाई कालोझण्डा देखाउने क्रममा कञ्चनपुरमा प्रहरी र माओवादी कार्यकर्ताबीच झडप भएको छ। झडपमा कन्चनपुरका प्रहरी प्रमुख पवन खरेलसहित पांच जना घाइते भएका छन। घाइते भएका प्रहरी उपरीक्षक खरेलको टाउकोमा दुइ वटा टांका लगाइएको छ।
झडपमा प्रहरी हवल्दार मोहन सिंह चैसीर र जवानहरु भिमसिंह धामी, देवानसिंह नगारी र स्वास्थकर्मी दयाप्रसाद नेपाल घाइते भएका छन। महाकाली अञ्चल अस्पतालको निरिक्षण गरिहेको बेला अस्पतालको मुलगेटमा माओवादी कार्यकर्ताले चर्को नाराबाजी सहित स्वास्थ्य मन्त्रीलाई कालो झण्डा प्रदर्शन गरेपछि झडप भएको थियो। स्थिति साम्य पार्न प्रहरीले पाच सेल अश्रु ग्यास प्रहार गरेको थियो। प्रहरीले कडा सुरक्षाबीच मन्त्री चौधरीलाई जनस्वास्थ्य कार्यालय पुर्याएको थियो। कडा सुरक्षाकैबीच जनस्वास्थ्य कार्यालयमा नागरिक समाज लगायत एक दर्जन संघसंस्थाले मन्त्री चौधरीलाई महाकाली अस्पातलमा दरबन्दी अनुरुप डाक्टरको भौतिक उपस्थिति गराउन माग माग गर्दै ज्ञापन बुझाएका छन।





Comments