काठमाडौं। संचार उद्यमी जमिम शाह राजधानीको सबभन्दा सुरक्षित भनिएको स्थानमा दिउँसै मारिए। उनका हत्याराको अहिलेसम्म हत्तोपत्तो छैन।
जमिम हत्यामा थुप्रै प्रहरी अधिकृतको संलग्नतामा पुष्टि भइसकेको छ तर मुख्य दोषी कार्वाहीको प्रक्रियामा आएको छैनन्। जनकपुर टुडेका प्रकाशक अरुण सिंहानियाको पनि संसाँझै गोली हानी हत्या भयो। सिंहानियाको हत्याको जिम्मेबारी आधा दर्जनभन्दा बढी अपराधीक समूहले लिएका छन्। तर वास्तविक हत्यारा पक्राउ पर्ने कुनै छाँटकाँट छैन। प्रहरीले हत्याराको नजिक पुगिसकेको र छिट्टै पक्राउ पर्ने गफ मात्रै दिइरहेको छ। राजधानीमै भरतपुर मेडिकल कलेजका संचालक नागेन्द्र पम्पाटीको हत्या प्रयास भयो। उद्योगी व्यवसायीले शान्ति सुरक्षा नभएको भन्दै सरकारलाई एक महिने अल्टिमेटम दिएका छन्। एक महिनासम्म शान्ति सुरक्षाको प्रत्याभूति नभए उद्योगधन्दा बन्द गरेर साँचो सरकारलाई बझाउने चेतावनी समेत उनीहरुले दिइरहेका छन्। पछिल्लो समय माओवादी कार्यकर्ताले समेत चौकी आक्रमण गर्न थालेका छन्। पेशागत संघ संगठनले सुरक्षा दिन नसके राजीनामा देउ भनेर सडक आन्दोलन पनि थालेका छन् तर सरकार भने 'हत्या अपराध अमेरिकामा पनि हुन्छ' भनेर गैरजिम्मेवारी प्रदर्शन गरिरहेको छ। मन्त्रीहरु सिडियो कुट्छन् कार्वाही हुँदैन, एआइजीपी डलरकाण्डमा मुछिन्छन् तैपनि कार्वाही हुँदैन अनि डिएसपीहरु अपराधीक समूहको मतियार बन्छन् र उनीहरुको बचाउँ गर्दै गृहमन्त्री 'अवकाश प्राप्त डिएसपी' भनेर पन्छिन खोज्छन्। मानौं प्रहरी संगठनबाट अवकाश पाएपछि अपराध गर्न छुट छ? प्रहरी संगठनले मासिक रुपमा आयोजना गर्दै आएको पत्रकार सम्मेलनमा दिइएको विवरणमा पक्राउ पर्ने प्रायः सबै अपराधिक समूहबाट अत्याधुनिक हतियार बरामद भएको जानकारी दिइएको छ। यी घटना क्रमबाट शान्ति सुरक्षा कति दयनीय भइसकेको रहेछ भन्ने कुराको पुष्टि हुन्छ।
Comments