काठमाडौं। कहिले पूर्व राजा ज्ञानेन्द्र शाहको नाराहीटी दरबारमा खुर्सानी होम हालेर त कहिले यज्ञ महायज्ञ
गरेर चर्चामा आइरहने कालीदास बाबा यतिखेर भने नेपाललाई हिन्दु राष्ट्र घोषणा गर्नु पर्ने मागसहित पशुपति बनकालीस्थित सहस्र रुद्रचण्डी अखण्ड महायज्ञ गरी रहेका छन्। ८५ प्रतिशत नेपालीहरु हिन्दु भएको देशमा धर्म निरपेक्ष राज्य घोषणा गरेकोमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विरोध र पुनः हिन्दु राष्ट्र घोषणा हुनुपर्ने दबाब आइरहेको स्वयम् उनी आफैं दाबी गर्छन्। बाबाले गरेको रुद्रचण्डी अखण्ड महायज्ञमा लाखौं नेपाली भक्तजनहरुको भिड र समर्थन मिल्दै गइरहेको छ भने नेपाललाई हिन्दु राष्ट्र बनाउने उद्देश्यका साथ पशुपति बनकालीमा महायज्ञ गरीरहेका कालीदास बाबालाई राजनीतिक समर्थन समेत रहेको विभिन्न राजनीतिक नेताहरुले दिएको साथबाट प्रष्ट नै भएको छ। नेपाल धर्म निरपेक्ष राष्ट्र भइसकेको सन्दर्भमा बाबाले नेपाललाई पुनः हिन्दु राष्ट्र बनाउने प्रतिवद्धता कहाँ पुग्ने हो त्यो त समय र परिस्थितीले नै बताउला।
को हुन कालीदास?
नेपाललाई हिन्दु राष्ट्र घोषणा गरेरै छाड्ने अठोट लिएर पशुपति बनकाली क्षेत्रमा महायज्ञा गरिरहेका कालीदास बाबा अरु कोही परचक्रि नभएर नेपाली नै हुन्। कालीदास बाबा खुर्सानी बाबाका नामले समेत परिचित छन्। एकताका पूर्व राजा ज्ञानेन्द्र शाहको नाराहिटी दरबारमा उनले 'खुसानी होम' लगाएका कारण उनी खुर्सानी बाबाको नामले समेत प्रख्यात भए। पूर्व राजा ज्ञानेन्द्र शाहदेखि भारतका प्रधानमन्त्री मनमोहन सिंह, अमेरिकी पूर्व राष्ट्रपति विल क्लीन्टनलगायतका व्यक्तिहरु उनलाई भेट्न आफै भारत आउने गरेका छन्। कालीदास कुन शक्तिबाट सञ्चालित छन् भन्ने बारेमा कसैलाई थाहा नभएपनि कालीदासको सम्बन्ध नेपालका प्रमुख राजनीतिक दलदेखि साना दलसम्मका प्रमुख नेताहरुसँग राम्रो रहेको छ। कालीदास ओखलढुङ्गा निवासी हुन भने पछिल्लो समयमा उनका परिवार झापामा सरेका छन्। कालीदासका साख्य भाई एकराज दाहाल व्यापारी हुन भने कालीदास बाबा विवाहित तथा उज्वल दाहालका पिता हुन्। केही वर्ष पहिले बुबाको खोजीमा उज्वल दाहालले भारतमा पुगेर आफ्नो बुबालाई भेट गरेका थिए। भेटपछि अफ्नो बुबाले आश्वासन नै आश्वासनमा केही नभएपछि उज्वल झापाकै केही सहयोगी साथी भाईको सहयोगमा साउदीमा मजदुरी काम गर्न पुगेका छन्। त्यसो त तत्कालीन सयममा कालीदास बाबा भारतमा रहदा छोराले नेपालबाट मोवाइलमा मिस कल गरे कल समेत फर्काउने गरेका थिए। बाबाकी एक धर्म पत्नी झापामा मजदुरी र गरीबीको चपेटामा जिवन विताउन बाध्य रहेकी छिन्। अब यस्ता बाबाले कसरी नेपाललाई हिन्दु राष्ट्र पुनः स्थापित गर्ने हुन? विषय जटिल, गम्भिर र सोचनीय रहेको छ।
भारतीय संचारमाध्यममा 'बाबा' अपरेशन:–
भारतीय संचारमाध्यमद्धारा 'बाबा'हरुको अनैतिक क्रियाकलापका बारेमा अपरेशन भइरहँदा नेपालमा भने हिन्दु राष्ट्र बनाउन कालीदास बाबा भने महायज्ञयमा जुटेका छन्। भारतीय संचारमाध्यमहरुले बाबाहरुको असली रुप आध्यात्मीक नभई बलात्कार, हत्या, अश्लिल भिडियो खेती भएको प्रमाण सहित भारतीय बाबाहरुको अपरेशन चलाएका छन्। भारतमा मात्र नभई विदेशमा समेत चर्चित इच्छाधारी बाबालाई त भारतीय अदालतले छ महिनासम्म जमानत नमिल्ने गरी अनुसन्धानका लागि प्रहरी हिरासतमा राख्न आदेश दिइसकेको छ। उनीमाथि धेरै युवतीसँग एकै साथ यौन सम्बन्ध गरेको तथा अश्लिल भिडियो बनाएको आरोप छ। इच्छाधारी बाबाको गर्ल फ्रेन्डमात्र एक दर्जनभन्दा बढी भएको उनीबाट प्रहरीले बरामद गरेको डायरी र गर्ल फ्रेन्डहरले पठाएको लब लेटरहरु बरामद गरेपछि यो रहस्य खुलेको हो। अधिकांश भारतीय संचारमाध्यमहरुले बाबालाई बहुरुपि भएको बताउँदै आएका छन् भने दर्जनौलाई हिरासतमा राखि अनुसन्धान गर्न थालेका छन्। अधिकांश समय भारत र अन्यदेशमा विताउने कालीदास बाबा भने नेपालको बनकालीस्थित हिन्दुराष्ट्र बनाउँन महायज्ञमा होमिएका छन्। उनको अगुवाइमा भइरहेको रुद्रचण्दी अखण्ड महायज्ञमा भने स्वयम् उपराष्ट्रपति परमानन्द झा, किशुन जी, महन्थ ठाकुर, ह्दयेश त्रिपाटी, केपी ओली, सर्वेन्द्रनाथ शुक्ला, विजय गच्छदार, सूर्यबहादुर थापा, खुमबहादुर खड्का लगायतका नेताहरु नै पुगि बाबासँग भेट गरेका छन्। उता केही समय पहिला एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्प कमल दाहालले नै धर्म निरपेक्ष घोषणा गल्ती गरेको स्वीकारी सकेको बेला कालीदास बाबाले गरेको रुद्रचण्दी महायज्ञले नेपाललाई पुनः हिन्दु राष्ट्रका रुपमा स्थापित नबनाउँला भन्न पनि सकिन्न।
By:BalaRam Dahal





Comments