काठमाडौ। नेपाली कांग्रेसका सहमहामन्त्री एवं प्रवक्ता अर्जुननरसिंह केसीले साउन १७ गते पनि सरकार गठन हुन नसकेमा देशले दुर्भाग्य वेहोर्नुपर्ने बताएका छन्।
राजनीतिक दलहरु तेस्रो निर्वाचनमा पनि सरकार गठन गर्न असमर्थ भएमा संसदको वैद्धता र औतित्य माथि प्रश्न उठ्ने बताए। नुवाकोटको विदुरमा प्रेस युनियनले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता केसीले सरकार विहीनताको अवस्था लम्विदै गए नयां प्रक्रियाको अभ्यास सुरु हुन सक्ने बताए। तर, माओवादी उपाध्यक्ष डा.भट्टराईको भनाइप्रति इंगित गर्दै केसीले सुरु भइसकेको वैधानिक प्रावधान टुङ्ग्याउन नमिल्ने बताए। लोकतन्त्रमा प्रक्रिया र पद्दतिको पूर्णता पालना हुनुपर्ने केसीको भनाइ थियो। कांग्रेसले कहिल्यै निषेधको राजनीति नगर्ने बताउने केसीले माओवादी शान्ति प्रक्रियाको एक पाटो भएकाले उसलाई सहमतिको राजनीतिमा ल्याउन कांग्रेसले प्रयास गरिरहेको बताए। माओवादी लडाकू र हतियार विहीन नभएसम्म उसको नेतृत्व स्वीकार्य नहुने सबै पार्टीको निर्णयको कारण नेपाली कांग्रेसको नेतृत्वलाई सहयोग गर्ने विश्वास व्यक्त गर्दै केसीले छिट्टै कांग्रेस नेतृत्वमा सरकार गठन हुने बताएका छन्।
Comments