काठमाडौं, १४ साउन। प्रधानमन्त्रीको निर्बाचनमा तटस्थ रहने निर्णय पुनर्विचार गर्ने विषयमा नेकपा एमालेभित्र विवाद देखिएको छ।
केन्द्रीय समितिको निर्णय पुनर्विचारका लागि केन्द्रीय कमिटि बैठक बोलाउन नेतृत्वलाई दवाव बढिरहेको बेला नेताहरुबीच विवाद देखिएको हो। अध्यक्ष खनाल पक्षले केन्द्रीय समितिको बैठक बोलाउन आवश्यक नभएको बताएको छ। ओली पक्षले भने निर्णय पुनर्विचार गर्नुपर्नेमा जोड दिंदै आएको छ। एमाले सचिब युवराज ज्ञवालीले केन्द्रीय समिति बैठकबाटै तटस्थ रहने निर्णय गरिएकोले फेरि बैठक बस्नु आवश्यक नरहेको बताएका छन्। अधिकांश केन्द्रीय सदस्यहरु केन्द्रीय समिति बैठक नबोलाउने पक्षमा रहेको दावीसमेत गरे। 'तटस्थ रहने संस्थागत निर्णय हो,' सचिब ज्ञवालीले भने, 'फेरि केन्द्रीय समिति बैठक बोलाउनुको औचित्य छैन।' एमाले प्रचार विभाग प्रमुख प्रदीप ज्ञवालीले भने तटस्थ बस्ने निर्णयको विषयलाई लिएर नेताहरुबीच तिक्तता उत्पन्न भएकोले त्यसको अन्त्यका लागि पनि बैठक बोलाउनु पर्ने धारणा राखेका छन्। उनले तटस्थ बस्दैमा गतिरोध अन्त्य नहुने बताए। 'तटस्थ बसेर रमिता हेरेजस्तो भएको छ। यसले समस्याको समाधान हुंदैन,' प्रचार विभाग प्रमुख ज्ञवालीले भने, 'गतिरोध अन्त्यका लागि पनि केन्द्रीय समिति बैठकमा छलफल हुनुपर्छ।'
Comments