काठमाडौँ, १४ साउन। नेपाली काँग्रेसले मधेसवादी दलहरुको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले अघि सारेका अवधारणाबारे छिट्टै नै आफ्नो धारणा सार्वजनिक गर्ने भएको छ।
नेपाली काँग्रेसका प्रवक्ता अर्जुननरसिंह केसीले मधेसी मोर्चाका दलहरुको अवधारणामा काँग्रेसको धारणाबारे शीर्ष नेताबीच छलफल भइरहेको र छिट्टै नै आफनो धारणा सार्वजनिक गर्ने बताएका छन्। “मोर्चाको अवधारणाबारे काँग्रेसले १४ सूत्रीय बुँदा तयार गरेको छ,” प्रवक्ता केसीले नेपाली काँग्रेस संसदीय दल कार्यालयमा संवाददातालाई बताए। काँग्रेस संसदीय दलको कार्यालयमा भएको छलफलमा नेपाली काँग्रेसका कार्यवाहक सभापति सुशील कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रवक्ता अर्जुननरसिंह केसी, केन्द्रीय सदस्य डा. रामशरण महत लगायतका नेता सहभागी थिए। मधेसी मोर्चाले सरकार निर्माणमा कसलाई सहयोग गर्ने भन्ने बारेमा आफ्नो अवधारणा सार्वजनिक गरिसकेको छ। मोर्चाले शान्ति, लोकतान्त्रिक संविधान र एक मधेस, एक प्रदेशलगायतका मधेसका मुद्दा कार्यान्वयन गर्ने विषयमा विश्वसनीय आधार तयार गर्ने दललाई प्रधानमन्त्रीमा सहयोग गर्ने भन्दै अवधारणा सार्वजनिक गरेको थियो।
Comments